डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाइको सरकारको डर होस् वा महाअभियोगको । डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गर्दछु : मल्ल
What you should know
काठमाडौँ — सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले ‘न्यायपालिकालाई आज्ञाकारी बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने’ बताएकी छन् । उनले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति रहेको भन्दै विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध उभिने आँट र प्रतिबद्धता चाहिएको बताइन् ।
कानुन दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गरिन् । 'न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ,' उनले भनिन्, ‘डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाइको सरकारको डर होस् वा महाअभियोगको । डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गर्दछु ।'
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको संवैधानिक परिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिस गर्ने सात दशक पुरानो परम्परा विपरीत मनोजकुमार शर्मालाई सिफारिस गरेको थियो । वरिष्ठतम न्यायाधीशका हैसियतमा कामु प्रधानन्यायाधीश रहेकी मल्ल र उनीपछिका न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिस गरेको थियो । त्यसको दुई दिनपछि आयोजित कार्यक्रममा कामु प्रधानन्यायाधीश मल्लले भनिन्, 'एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न, त्यसैले विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउँछ ।’
उनले संविधानको उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म विधिको शासन स्थापित हुन नसक्ने पनि बताइन् । उनले भनिन्, ‘संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन । संविधानलाई विरूप पारेर सञ्चालकहरूको रूप सिँगार्न खोज्नु विडम्बनापूर्ण हुन्छ ।’
