वेश्यावृत्तिका लागि प्रसिद्ध कोलकाताको ‘रेड लाइट एरिया’ सोनागाछीको कोठीबाट भागेका दुई जना बालिकालाई दिल्लीस्थित नेपाली दूतावासले भारत प्रशासन र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उद्धार गरी काठमाडौं ल्याएको हो ।
What you should know
काठमाडौँ — वेश्यावृत्तिका लागि प्रसिद्ध कोलकाताको ‘रेड लाइट एरिया’ सोनागाछीबाट भागेका दुई जना नेपाली बालिकको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासले भारतको प्रशासन तथा सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरूलाई ओडिसाको राजधानी भुवनेश्वरबाट उद्धार गरेको हो ।
भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले १४ र १५ वर्षका दुई बालिकालाई उद्धार गरेर काठमाडौं पुर्याइएको जानकारी दिएका छन् । दुवै जना नुवाकोट जिल्लाका हुन् ।
नियमित रूपमा आइरहने दुई जना ग्राहककै सहयोगमा उनीहरूले नारकीय क्षेत्रबाट भाग्न सफल भएका हुन् । १४ वर्षीया नुवाकोट–१ (सांकेतिक नाम)ले आफू ९ कक्षामा पढ्दै गर्दा सोनागाछी पुर्याइएको बताएकी छन् । कान्तिपुरसँगको कुराकानीमा उनले घरको आर्थिक अवस्था कमजोर भएकाले स्कुल पढ्दा पढ्दै काम खोजिरहेको बेला गाउँमा भेटिरहने एक जना युवकको सम्पर्कबाट आफू भारत पुगेको बताइन् । ‘म पढाइसँगै काम पनि गर्न चाहन्थेँ । दिउँसो पढ्न पाइन्छ, राति प्याकिङको काम गर्नु छ भनेर मलाई काठमाडौं ल्याइयो,’ उनले सुनाइन्, ‘हेटौंडासम्म पुगेको मलाई थाहा छ । त्यसपछि मैले थाहा पाइनँ । एकैचोटि सिलिगुडी पुर्याइएको रहेछु ।’
उनी सानै हुँदा आमा बितेकी थिइन् । घरमा बाबा, सानो भाइ र बहिनी रहेको उनले सुनाइन् । ‘घरको स्थितिले काम गर्नुपर्ने बाध्यता थियो । सिलिगुडीबाट ट्रेनमा कोलकाता पुगेपछि ती पुरुषले मलाई एक जना केटी मान्छेको जिम्मा लगाइदिएर उनी हराए,’ उनले सुनाइन्, ‘महिनौं मलाई एउटा फ्ल्याटमा राखियो, काम दिइएन । राम्रो पारिश्रमिक भएको काम छ भनेर मलाई पछि त गलत ठाउँमा पुर्याइयो । सोनागाछीको १५ न. नेपाली कोठीमा मलाई पुर्याइएको रहेछ ।’ गत वर्ष दसैँतिहार सकेर कात्तिकतिर आफूले घर छाडेको उनी सम्झिन्छिन् ।
उद्धार भएर नेपाल आइपुगेकी अर्की बालिका नुवाकोट–२(सांकेतिक नाम) १५ वर्षकी भइन् । उनी ८ कक्षा पढ्दै गर्दा स्कुल छाडेर कामको खोजीमा काठमाडौं आइपुगेको बताउँछिन् । ‘७ कक्षा पूरा गरेर ८ कक्षामा पुगेको थिएँ, मम्मी बिरामी हुनुभयो । स्कुल जान सकिनँ । घरको स्थितिले गर्दा काम गर्नुपर्ने अवस्था थियो । केही समय रसुवाको धुन्चे पुगेर एक होटलमा काम गरेको थिएँ,’ कान्तिपुरसँग उनले भनिन्, ‘त्यहाँ काम धेरै थियो । पैसा थोरै । घरमा भनेर कामका लागि काठमाडौं आएँ । काठमाडौंमा एक जना दिदीले दाजिर्लिङमा काम पाइन्छ भनेर उनको साथमा लागेर काठमाडौं छोड्दा सोनागाछी पुगेछु ।’
दुई वर्षअघि १२ वैशाखमा उनले घर छाडेको सम्झिन् । उनी पनि घरकी जेठी छोरी । स-साना दुई भाइ, आमा र बुबालाई छाडेर कामको खोजीमा उनले घर छाडेकी थिइन् । काठमाडौंबाट दाजर्लिङ र त्यहाँबाट सिलिगुडी हुँदै उनलाई कोलकाता पुर्याइएको थियो । १५–२० दिन कोलकाताको एउटा फ्ल्याटमा राखेपछि आफूलाई सोनागाछीको १५ न. नेपाली कोठीमा पुर्याएको उनले जानकारी दिइन् । ‘पहिला म पुगेको थिएँ, म पुगेको २–३ महिनापछि नुवाकोट–१ पनि आइपुगेको हो,’ उनले भनिन्, ‘त्यहाँ धेरे नेपाली दिदी र आन्टीहरू हुनुहुन्छ ।’
नुवाकोट–१ ले १५ न. नेपाली कोठीबाट भाग्नलाई तीन पटक गरेको प्रयास असफल हुन पुगेको थियो । चौथो पटकमा भने उनी सफल भइन् । ‘दुई पटक समातिएँ, तेस्रो पटक निस्किन सफल भएपनि बाटो थाह नपाएर आफैँ फर्किनु पर्यो,’ उनले भनिन्, ‘नर्क थियो । एक दिन पनि बस्न सक्ने स्थिति थिएन । तर, अनजान स्थान त्यसमाथि धाक, धम्की डरले निस्किने उपाय थिएन । उनीहरूले भने अनुसार ग्राहकलाई समय दिनु नै दिनचर्या बनेको थियो ।’
उनीहरूका अनुसार बिहान ६ बजेदेखि रातिको १२ बजेसम्म १८ घण्टा ग्राहकलाई समय दिनुपर्थ्यो । राति १२ बजेपछि ६ घण्टा भने कोठीको ढोका बन्द हुन्थ्यो । ‘दिनमा एक जना–दुई जना होइन २० देखि ३० जनासम्म ग्राहकलाई समय दिनुपर्थ्यो, अर्को उपाय नै थिएन, शरीर स्वस्थ्य राख्न र पीडा कम गर्न उनीहरूले औषधि दिन्थे । त्यही खान्थ्यौं,’ नुवाकोट–१ ले भनिन्, ‘कहिले निस्कौं जस्तो भइरहन्थ्यो । पैसाको लोभ देखाए पनि पैसा भने कहिल्यै पाइएन ।’ ५ वर्ष काम गरेपछि घर जान दिइने र त्यस बेला २० लाख रुपैयाँ नगद र १० तोला सुन दिने आफूलाई भनिएको उनले सुनाइन् ।
नुवाकोट–२ लाई भने हरेक महिना हिसाब देखाइन्थ्यो । ‘दुई लाख कमाइ भएको छ । एक लाख हाम्रो–एक लाख तिम्रो हिसाबमा राखिएको भन्थे । कुनै महिनामा त्योभन्दा बढी हिसाब देखाउँथे । पैसा बचत गरिएको छ । घर जाने बेलामा पाउँछ भन्थे,’ उनले सुनाइन्, ‘तर, हातमा पैसा कहिल्यै दिएनन् ।’ घरमा पनि दुई वर्षमा दुई पटक मात्र सम्पर्क गर्न दिइएको उनले सुनाए । ‘टेलिफोन गर्ने बेलामा उनीहरूसँगै थिए । साँचो कुरा भन्न सकिएन । भारतमा छु । जागिर गरिरहेको छु । चिन्ता नगर्नु भनेँ,’ उनले भनिन्, ‘त्यहाँबाट बाहिर निस्कने कुनै सम्भावना नै देखिँदैनथ्यो ।’
नुवाकोट–१ भने कोठी सञ्चालकको नजरमा परिसकेकी थिइन् । पटक पटक भाग्ने प्रयास गरेकाले उनलाई अन्य नेपालीहरूसँग टाढा राख्ने र उनीमाथि बढी निगरानी राखिन्थ्यो । आफ्ना नियमित ग्राहकसँग बाहिरिने योजना बनाउँदा उनले नुवाकोट–२ लाई भने साथमा लिन सफल भइन् । ‘अर्को एक जना दिदी पनि सँगै निस्किने भन्नुभएको थियो । तर, सकिएन,’ उनले भनिन्, ‘राति सबै सुतेपछि दुई जना भारतीय नागरिक, जो प्रायः कोठी आइरहन्थे उनीहरूले हामीलाई बाहिर निकाले ।’ बाहिर निकालेपछि ती दुई जनाले पनि आफूहरूलाई बेच्ने तयारी गरेको थाहा भएपछि आफूहरूले हल्ला गरेको उनले बताइन् ।
‘दुई जनामा एक जना बेच्नुपर्ने भन्ने, अर्कोले भने त्यसो नगरौं भन्दा रहेछन्,’ उनले भनिन्, ‘त्यो थाहा पाएर हामीले झगडा गर्यौँ । उनीहरूले हामीलाई ओडिसा प्रहरीको जिम्मा लगाइदिएर उम्किए ।’ दिल्लीस्थित दूतावासको हटलाइन फोनमा सम्पर्क गरेर आफूहरू नेपाली अधिकारीको सम्पर्कमा आएको उनले बताएकी छन् । सोनागाछीको १५ न. नेपाली कोठीबाट दुई साता जति अगाडि उनीहरू बाहिर निस्किन सफल भएका हुन् । ‘ठ्याक्कै दिन र तारिख त याद भएन,’ नुवाकोट–१ ले भनिन्, ‘हामीलाई कोलकाताबाट ओडिसा पुर्याइएको रहेछ । त्यहाँ केही समय सेल्टरमा बसेका थियौं ।’ सोनागाछीको नारकीय जीवनबाट भाग्न सफल दुवै जनाले त्यहाँ रहेका अन्य नेपाली युवतीहरूको पनि उद्धार गरिनुपर्ने बताउँछन् । आफूहरू जेनतेन निस्के पनि सबैले त्यो सक्दैन, स्थानीय प्रहरीको पनि त्यहाँ मिलेमतो रहेको उनीहरूले बताएका छन् । सरकारले केही कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ । नरकीय जीवनबाट बाहिर निस्के पनि अब के गर्ने उनीहरूको अगाडिको बाटो निश्चित छैन । अब के गर्ने त दुवै जना भन्छन्, ‘खोइ, थाहा छैन ।’
दिल्लीस्थित नेपाली दूतावासको अनुरोधमा 'किन इन्डिया'को टोली ओडिसाको राजधानी भुवनेश्वर पुगेर दुई जना नेपाली बालिकालाई बिहीबार राति नेपाल ल्याइ पुर्याइएको छ । 'किन इन्डिया'का प्रमुख नवीन जोशीले भारतमा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर दुई जना नेपाली बालिकालाई उद्धार गरी ल्याइएको बताए । ‘दुवै जना मानसिक र शारीरिक रूपमा कमजोर छन् । उनीहरूको स्वास्थ्य परीक्षण र आराम चाहिएको छ,’ जोशीले भने, ‘हामीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लगाउँछौं । संस्थाका तर्फबाट गर्नुपर्ने अन्य सहकार्य पनि गर्छौं ।’ उनीहरूको जाहेरी लिएर पीडकको खोजी राज्यले गर्नुपर्ने उनले बताए । ‘उनीहरू फेरि बेचिने स्थिति आउनु हुँदैन । उनीहरूको सुरक्षा र उनीहरूलाई सक्षम बनाउने कार्यमा सरकारसँग मिलेर हामीले गर्ने कार्य गर्छौं,’ जोशीले बताए ।
