पातारासी गाउँपालिकाका सबै विद्यालयबाट विद्यार्थी पाटन जान्छन् । यहाँका विद्यार्थी विद्यालय नै खाली गरेर यार्सा खोज्न जाने गरेका छन् । उनीहरू वैशाखमा पाटन गएर असारमा मात्रै घर फर्किन्छन् ।
What you should know
जुम्ला — जिल्लास्थित पातारासी गाउँपालिका–३, चौरगाउँका दिलराज रावत यार्सा टिप्न पाटन जाने तयारीमा छन् । आफू ढिलो भएको सुनाउने उनका धेरै साथी पाटन पुगेर यार्सा खोजिरहेका छन् ।
यो उनको पहिलो यार्सा यात्रा होइन । निरन्तर तीनपटक यार्सा टिप्न पाटन गइसकेको उनले बताए । पढाइ छाडेर पाटन पुग्नु उनको रहर होइन । प्रत्येक वर्ष यार्सा टिपेर बिक्री गरेपछि कापी–कलम जोहो गर्छन् । प्रत्येक वर्ष साढे २ देखि तीन सय गोटा यार्सा टिपेर ल्याउने गरेको उनले बताए ।
पाटनबाट फर्किएर प्रतिगोटा ५ सय रुपैयाँका दरले बेचे पनि एकदेखि डेढ लाख रुपैयाँसम्म कमाइ हुने उनी बताउँछन् । यसरी हात परेको पैसाले कापी–कलम मात्र खरिद गर्दैनन्, यार्सा टिप्ने समयमा छुटेको पढाइ (कोर्स) पूरा गर्न त्यही रुपैयाँले हिउँदमा ट्युसनसमेत पढ्छन् । ‘यार्सा टिप्न पाटन जाँदा जाँदा पढाइ त छुट्छ,’ दिलराजले भने, ‘तर पढ्नका लागि चाहिने रुपैयाँ पनि कमाइन्छ ।’ पातारासीकै छापखोला, ताक्लेखोला, माथिनथान, च्यांग्री लगायतका दर्जनभन्दा धेरै पाटन चहार्छन् । साथीहरूसँगै दुई महिनापछि घर फर्किने गरेको उनको भनाइ छ ।
उनी मालिका मावि लोड्चौरमा अध्ययनरत विद्यार्थी हुन् । यसपटक एसईई दिएर बसेका छन् । उनको विद्यालयले दिएको तथ्यांक अनुसार २०८० सालमा माथिल्लो कक्षाका ५५ विद्यार्थीमध्ये ५०, गत वर्ष ४८ मा ३७ विद्यार्थी पाटन पुगेका थिए । यसपटक विद्यालय नखुल्दै उनीहरू पाटन गइसकेका छन् । प्रधानाध्यापक जगतबहादुर शाहीले कक्षा ६ देखि १० सम्मका ठूला विद्यार्थीजति यार्सा टिप्न पाटन जाने गरेको बताए । ‘जसले गर्दा दुई महिना यहाँ पढाइ हुँदैन,’ उनले भने, ‘विद्यार्थी सबै पाटन जान्छन् । मावि तहका शिक्षकको काम हाजिर लगाउने मात्र हुन्छ ।’
उनका अनुसार माथिल्लो तहका विद्यार्थी पाटन जाँदा तल्लो कक्षाका अधिकांश विद्यार्थी गाईबस्तु चराउन जान्छन् । नत्र घरायसी काममा व्यस्त हुन्छन् । विद्यार्थी नभएपछि दुई महिना यहाँका विद्यालय सुनसान हुने गरेका छन् । विद्यार्थीलाई पाटन पठाइदिन भन्दै अभिभावक नै विद्यालयमा आइपुग्ने गरेको प्रधानाध्यापक शाही बताउँछन् । ‘हामी निरन्तर बालबालिका विद्यालय पठाइदिन आग्रह गर्छौं,’ उनले भने, ‘अभिभावकहरू विद्यार्थीलाई यार्सा टिप्न पाटन जाने बिदा दिन दबाब दिइरहन्छन् ।’
गाउँपालिकाले विद्यार्थी पाटन नपठाउन हरेक वर्ष अभिभावक र शिक्षकलाई सम्झाउने गरेको छ । प्रत्यक्ष रूपमा आम्दानीसँग जोडिएको विषय भएकाले शिक्षकले करकाप गर्न सकिरहेका छैनन् । पातारासीका शिक्षा शाखा प्रमुख रामचन्द्र रेग्मीले जति प्रयास गर्दा पनि विद्यार्थी रोक्न नसकिएको बताए । ‘हामी पढाइमा जोड दिन्छौं,’ उनले भने, ‘विद्यार्थी र अभिभावक कमाइमा । त्यही भएर गाउँपालिकाले पाटन जाने विद्यार्थी रोक्न कुनै पहल गर्न सकिरहेको छैन ।’
पातारासीका सबै विद्यालयबाट विद्यार्थी पाटन जान्छन् । पातारासी–१, २ र ३ नम्बर वडाका विद्यार्थी विद्यालय खाली गरेर जाने गरेका छन् । उनीहरू वैशाखमा पाटन गएर असारमा मात्रै घर फर्किन्छन् । पाटन जाने विद्यार्थीहरू ट्युसनको भरमा परीक्षामा सहभागी हुने गरेका छन् । पातारासीमा १६ विद्यालय छन् । ‘हामी पढाइ छाडेर पाटन जान हुन्न भन्छौं, शाखा प्रमुख रेग्मीले भने, ‘उनीहरू कमाइ नहुँदा पढाइको काम नहुने भन्दै पाटन गइरहन्छन् ।’
यहाँका छात्रछात्रा डोल्पा र मुगुका पाटनमा समेत पुग्छन् । केही विद्यार्थी अभिभावकसँगै जान्छन् । अधिकांश विद्यार्थी समूह मिलाएर जाने गर्छन् । पातारासी–२, पेरेकी रिमा बुढाका अनुसार यार्सा सिजना विद्यार्थी स्कुल जानुभन्दा पाटन जानु जाति मान्छन् । पाटनमा उनीहरू यार्सा मात्र टिप्दैनन् । परिवारको खर्च र लुगाफाटो र कापी–कलमको जोहोसमेत गर्छन् ।
दुई महिना पालिकाका अधिकांश घरमा ताला लागेको हुन्छ । युवकयुवतीदेखि बालबालिकासम्म पाटन जाने भएकाले बुढाबुढी मात्रै गाउँमा भेटिन्छन् । विद्यार्थीहरू पाटन पठाउनु बाध्यता भएको रिमाले सुनाइन् । विद्यार्थी सबै पाटन जानु परेकाले पाठ्यक्रम नसकिँदै परीक्षामा सामेल हुनुपर्ने बाध्यता रहेको शिक्षक बताउँछन् । यसबीचमा पढाइ अघि बढाउने हो भने अधिकांश विद्यार्थीको छुट्ने सम्भावना हुन्छ । ‘नपढाउने हो भने पाठ्यक्रम पूरा गर्न सकिँदैन,’ प्रधानाध्यापक शाहीले भने, ‘यार्सा पाइने मौसममा विद्यार्थीको पढाइ प्रभावित हुन नदिन नयाँ विकल्प खोजी गर्नुपर्ने हुन्छ । तर त्यो विकल्प अहिलेसम्म भेटिएको छैन ।’
गत वर्ष कक्षा छाडेर विद्यार्थी पाटन जान नपाउने, विद्यालयमा ७५ प्रतिशत हाजिर नभए माथिल्लो कक्षा जानका लागि योग्य नहुनेसम्मको निर्णय गर्यो । तर, प्रधानाध्यापकको भेलाबाट गरिएको यो निर्णयले समेत काम गरेन । यो सिजनमा कम्तीमा ७५ प्रतिशत विद्यार्थी पाटन जाने तयारीमा छन् । यार्सा संकलकले वैशाखदेखि साउनसम्म सबै युवा, विद्यार्थी पाटनतिर जाने भएकाले दुर्घटना बिमाको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।
