संवैधानिक परिषद् बैठकले सीमित मतका आधारमा प्रधानन्यायाधीशसम्बन्धी निर्णय गरेकोमा त्यसलाई कांग्रेसले 'अलोकतान्त्रिक तथा स्वेच्छाचारी कदम' भनेको हो ।
काठमाडौँ — नेपाली कांग्रेसले बिहीबार संवैधानिक परिषद्बाट गरिएको प्रधानन्यायाधीशसम्बन्धी निर्णयप्रति गम्भीर असहमति जनाएको छ ।
प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् बैठकले सीमित मतका आधारमा प्रधानन्यायाधीशसम्बन्धी निर्णय गरेकोमा त्यसलाई 'अलोकतान्त्रिक तथा स्वेच्छाचारी कदम' भनेका हुन् । कांग्रेसले हालै जारी गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको आडमा प्रधानमन्त्रीसहित सीमित सदस्यको मतका आधारमा गरिएको निर्णयले संविधानको मूल मर्म, न्यायिक स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तमाथि प्रहार गरेको आरोपसमेत लगाएको छ । 'यो अध्यादेश यस्तै स्वेच्छाचारी नियुक्तिका लागि ल्याइएको थियो, जुन आज प्रमाणित भएको छ,' विज्ञप्तिमा उल्लेख छ ।
प्रेस नोटमा सर्वोच्च अदालतले २०८१ जेठ १४ गते रिट नम्बर ०८०–WO–११७५ मा गरेको फैसलालाई पनि स्मरण गरिएको छ । उक्त फैसलामा ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको निर्णयलाई बहुमत मान्न नसकिने स्पष्ट व्याख्या गरिएको कांग्रेसको भनाइ छ । त्यसका बाबजुद वरिष्ठतम् न्यायाधीशको स्वाभाविक अधिकारलाई बेवास्ता गर्दै निर्णय गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
संविधानले सरकार, विपक्षी दल र निष्पक्ष संस्थाहरूको सहभागितामार्फत संवैधानिक निकायहरूलाई कार्यपालिकाको प्रत्यक्ष नियन्त्रणबाट टाढा राख्ने उद्देश्य राखेको भए पनि अहिलेको अभ्यास त्यसविपरीत गएको कांग्रेसको भनाइ छ । 'संविधानले प्रधानमन्त्रीलाई निर्णायक राजा बनाएको छैन, उत्तरदायी संयोजकको भूमिका मात्रै दिएको छ,' प्रेस नोटमा भनिएको छ, 'तर सीमित सदस्यको मतबाट गरिएको निर्णयले लोकतान्त्रिक मूल्य र संवैधानिक सन्तुलनमाथि खुला प्रहार गरेको छ ।'
कांग्रेसले यस्तो प्रक्रियाले स्वतन्त्र न्यायपालिकालाई क्रमशः कार्यपालिकाको प्रभावमा लैजाने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोक सेवा आयोगजस्ता संवैधानिक निकायहरूलाई सरकारअनुकूल बनाउने तथा नागरिक अधिकारको संरक्षण कमजोर पार्ने खतरा रहेको चेतावनी दिएको छ । कांग्रेसले संवैधानिक मर्यादा र लोकतान्त्रिक अभ्यासको सम्मान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
