दरबारको विरासत जति भव्य छ, वर्तमानमा यसप्रति गरिएको उपेक्षा र सरकारी लापरबाहीको पाटो पनि उति नै दुःखद र उदेकलाग्दो छ ।
What you should know
अछाम — अछामी दरबारको वैभव र भव्यता २०५८ फागुन ४ गते मध्यरात तत्कालीन माओवादी विद्रोहीको आक्रमणसँगै समाप्त भयो । मध्यरातमा गरिएको आक्रमणको केन्द्रमा अछाम दरबार थियो । आक्रमणले संरचना मेटिएको २५ वर्षपछि भग्नावशेषमै नयाँ दरबार तयार गरिएको हो । तर, नयाँ दरबार ‘महल’का रूपमा मात्र ठडिएको छ । यसको हतार–हतार उद्घाटन गरियो । साढे २ करोड खर्च गरेर दरबार पुनःनिर्माण गरिएको थियो । तर, नयाँ संरचनाको उपयोग के हुने भन्नेबारे अझै अन्योल छ ।
तत्कालीन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले २०८१ फागुन १९ गते तामझामका साथ दरबारको उद्घाटन गरेका थिए । शिलालेखमा मन्त्रीको नाम कुँदिएको १४ महिना बितिसक्दा पनि दरबारमा चहलपहल फर्किएको छैन । दरबारका ३० कोठामा शून्यता छ । यस्तै शून्यता तत्कालीन विद्रोहीले दरबार आक्रमण गरेपछि छाएको थियो । २०६५ सालमा दरबार पुनःर्निर्माणका लागि शिलान्यास गरिएको थियो । १६ वर्षपछि तयार भएको दरबारको विरासत जति भव्य छ, यसको वर्तमान उपेक्षा र सरकारी लापरबाहीको पाटो पनि उति नै दुःखद र उदेकलाग्दो छ ।
दरबारसित घरको पर्खाल जोडिएकी स्थानीय ८५ वर्षीया रत्ना ढुंगाना झ्यालबाट बाहिर चियाउँदा अझै पनि आगोका लप्का र चीत्कार देख्छिन् । आक्रमणको रातका सम्झना मानसपटलमा गढेर बसेका छन् । ‘आकाश गड्किएजसरी बन्दुकका छर्रा आउँथे,’ उनले भनिन्, ‘ऐया...मरे...आम्मा ....बचाओ .... नमार नमार .... बरु सिधै मारी देऊ, यसरी नतड्पाऊ भन्दै कोलाहल मच्चिएको त्यो रात म कहिल्यै बिर्सन सक्दिनँ ।’ उनका अनुसार आक्रमणको दिन शनिबार थियो । तत्कालीन माओवादीले आक्रमण गर्ने हल्ला फैलिएपछि वस्तुभाउलाई पानीसमेत नदिएर घरभित्र लुकेर बसेको उनले सुनाइन् ।
‘माओवादीको निसानामा दरबार थियो । दरबारसँगै घर भएकाले बाँच्ने आशै थिएन,’ उनले भनिन्, ‘त्यो रात माओवादीले बालमन्दिर, नाइके टुँडो, खुल्लेतोला, साबिकको कारागार र कुडबस्ती गरी पाँचतिरबाट घेरा हालेर दरबारमाथि आक्रमण गरेका थिए ।’ उनको घरमा कोठा भाडामा लिएर बस्ने प्रहरीका कारण परिवार झन् बढी जोखिममा थियो । मरे पनि सबै जना सँगै मरौंला भनेर एकसाथ बसेको उनले सुनाइन् । विद्रोही माओवादीले प्रहरी लुकाएको भन्दै घरका भाँडाकुँडा बाहिर फालेको र छोरालाई तानेर लगेको उनले बताइन् । ‘अन्त्यमा घरको पाखामा बन्दुक हाने,’ उनले भनिन्, ‘एक जना प्रहरी ५ वर्षदेखि परिवार जस्तै बनेर बसेका थिए, मेरो जेठो छोरो हो भन्दै रोइकराइ गरेर उनलाई बचाएँ । अहिले पनि ती मान्छे आमा भन्दै भेट्न आउँदा खुसी लाग्छ ।’
रत्नाकी बुहारी मुनालाई दरबार ध्वस्त भएको रातले अहिलेसम्म पीडा दिइरहेको छ । त्यसबेला उनी गर्भवती थिइन् । तत्कालीन माओवादी लडाकुले घरभित्र पसेर लछारपछार गर्दा गर्भमा रहेको शिशुलाई असर गर्यो । ‘माओवादीले घर घेरेपछि उनीहरूले बोल्ने भाषा हामीले पनि जान्यौं,’ उनले भनिन्, ‘ठूलो स्वरमा ‘खुर्सानी’ भन्दै कराउँथे, त्यो भनेको आफ्नो मान्छे मर्यो भन्ने रहेछ ।’ त्यसरी ध्वस्त बनाएको दरबारमा अनेक राजनीति भइरहेको उनले बताइन् । रगतले भिजेको र एक सयभन्दा बढीको चिहान बनेको दरबार अहिले ठडिए पनि बेवारिसे महल बनेको उनको भनाइ छ ।
१६ वर्ष लगाएर पुनःनिर्माण गरिएको अछाम दरबारको अहिलेको अवस्थाले राज्यको उपेक्षा छर्लङ्ग पारेको मंगलसेन–५ का कम्मान सिहं नगार्जीले बताए । हतारमा उद्घाटन गरेर राजनीतिक जस लिने प्रतिस्पर्धा चलेको उनको भनाइ छ । ‘उद्घाटन भएको १४ महिनासम्म दरबार प्रयोगमा नआउनुले पनि बेवास्तालाई पुष्टि गर्छ,’ उनले भने, ‘ठेकेदारले काठको अभाव देखाउँदै १६ वर्षसम्म अल्झाए । बल्लतल्ल निर्माण सकियो । अहिले सरकारलाई यसको सञ्चालन कार्यविधि बनाउने फुर्सदै भएन ।’
मंगलसेन–८ का मीनराज भण्डारी दरबारमै प्रहरीको खाना पकाउने कार्यालय सहयोगी थिए । उद्घाटनका बेलाको तामझाम देखेर उनी खिन्न छन् । आफ्ना तीन जना साथी टीकाराम जैसी, हर्क भण्डारी र टेकबहादुर थापालाई आँखैअगाडि गुमाएका उनलाई नयाँ दरबार देखेर दिक्क लाग्छ । ‘राती १ बजेर २२ मिनेटमा दरबारमा पहिलो पटक आक्रमण भएको हो,’ उनले भने, ‘म फुत्किएर भागें । तर मेरा साथीलाई त्यहीँ मारियो ।’ उनका अनुसार उद्घाटनमा उक्त आक्रमणमा ज्यान गुमाएकाका परिवारका सदस्यलाई समेत खबर गरिएन । ‘उद्घाटन कसको पालामा भयो र कसले गर्यो भनेर नाम लेखाउने हतारो मात्र गरियो,’ मीनराजले भने ।
दरबारलाई सदुपयोग गरेर नयाँ पुस्तालाई ऐतिहासिक महत्त्वबारे जानकारी दिनुपर्ने मन्त्री सिंहले उद्घाटनका क्रममा बताएका थिए । तर, ऐतिहासिक संरचना संरक्षण गरेर दरबार सञ्चालनमा ल्याउन कसैले चासो दिएका छैनन् । सहरी विकास मन्त्रालय मातहतबाट निर्माण भएको दरबार उद्घाटन गरेर प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो । तर, अझैसम्म पुनर्निर्माणका कामले पूर्णता पाइसकेका छैनन् । दरबार सञ्चालनको स्पष्ट खाका तयार नभएको, सञ्चालनबारे अन्योल सिर्जना रहेको प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले बताए ।
‘दरबार उद्घाटनको प्रक्रिया पूरा भए पनि पूर्णरूपमा निर्माण भइसकेको छैन,’ उनले भने, ‘अहिले पनि ठेकेदारले काम गरिरहेको देखिन्छ । दरबार सञ्चालन कसरी गर्ने, के गर्ने भन्नेबारे स्पष्ट खाका तयार भइसकेको छैन ।’ संघीय सरकारको सम्पत्ति भएकाले स्थानीय र प्रदेश सरकारसँग पनि सहकार्य गर्न जरुरी रहेको उनले बताए । अहिले दरबारको दक्षिण र पश्चिम भागबाट टायल खसिरहेका छन् । ‘ठेकेदारले गरिरहेका काम पनि सन्तोषजनक छैनन् । धेरै विषयमा अन्योल छ,’ उनले भने, ‘गत फागुन २१ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा बाहिरी जिल्लाबाट आएका सुरक्षाकर्मीलाई केही समयका लागि दरबारमा बस्ने व्यवस्था गर्ने बाहेक अन्य प्रयोजनका लागि यो दरबार उपयोगमा आएको छैन ।’
सहरी विकास मन्त्रालयका महानिर्देशक मर्चाकाजी श्रेष्ठका अनुसार दरबार ३ सय २० वर्गमिटरमा बनेको छ । दरबार क्षेत्रको जम्मा क्षेत्रफल ९ सय ६० वर्गमिटर छ । दरबार परिसरका संरचना र संरक्षणका लागि गत आर्थिक वर्षमा मन्त्रालयले थप २ करोड बजेट छुट्याएर पर्खाल लगाउने काम गरिरहेको उनले बताए । तत्कालीन माओवादी आक्रमणमा सदरमुकाम ध्वस्त भएपछि जिल्ला विकासको गति ५० वर्ष पछाडि धकेलिएको यहाँका अगुवा सुनाउँछन् ।
२०२९ सालमा खरिद गरिएको ऐतिहासिक धरोहरलाई कतिपयले अछामको युद्ध र संस्कृतिको ‘जीवन्त संग्रहालय’ बनाउनुपर्ने माग गरिरहेका छन् । कतिपयले पुरानै प्रशासनिक अड्डा सञ्चालन गर्नुपर्ने अडानमा छन् । पुरातत्त्व विभागको टोलीले अनुगमन गरिसके पनि हालसम्म कुनै ठोस निर्णय हुन सकेको छैन । जिल्लाको बीच भाग भएकाले र ऐतिहासिक दरबार रहेकाले बयलपाटाबाट मंगलसेन सरेको सदरमुकामको यो गौरव अहिले सरकारी ढिलासुस्ती र राजनीतिक जस लिने होडबाजीको चपेटामा परेको स्थानीय बताउँछन् ।
डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भएर उनका छोरा दलबहादुर शाहको पालामा विक्रम संवत् १९३५ मा यसको निर्माण सम्पन्न भएको हो । अछामी इतिहासका जानकार सुरतबहादुर शाहका अनुसार सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा यो दरबार किनेको थियो । योगेन्द्रबहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएका थिए । तीनतले दरबारमा ३० वटा कोठा थिए । २०५८ सालमा दरबारमा जिल्ला प्रशासन कार्यालय सञ्चालनमा थियो । आक्रमणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसहित ५३ सैनिक, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो ।
