मालपोत र नापी सेवा अब पालिकाबाट दिने तयारी

अध्यादेशमार्फत मालपोत ऐनमा संशोधन गरी भूमि प्रशासनको काम स्थानीय तहले गर्न सक्ने व्यवस्था पहिलो चरणका लागि ३५ वटा पालिका छनोटको तयारी

वैशाख २३, २०८३

राजेश मिश्र

Land revenue and survey services are now being provided by the municipality.

What you should know

काठमाडौँ — मालपोत र नापी कार्यालयले दिँदै आएको भूमि प्रशासनसम्बन्धी सेवाहरू नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ । सरकारले त्यसका लागि मालपोत ऐन, २०३४ मा संशोधन गरेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशअन्तर्गत मालपोत ऐनसमेत संशोधन गरिएको हो ।

ऐनमा रजिस्ट्रेसनसम्बन्धी काम स्थानीय तहले समेत गर्न सक्ने व्यवस्था थप गरिएको छ । ‘तोकिएबमोजिमको लिखित रजिस्ट्रेसन, नामसारी, दाखिल खारेज, लगत कट्टा, रोक्का तथा रोक्का फुकुवा गर्ने काम सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाले गर्न सक्नेछ,’ मालपोत ऐनको दफा ८(ग) मा थपिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेशप्रसाद भट्टले भूमि प्रशासनसम्बन्धी काम स्थानीय तहलाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानुनी प्रबन्ध गर्न ऐनमा संशोधन गरेर उक्त प्रावधान थपिएको बताए । मालपोत र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू स्थानीय तहमै पुर्‍याउने प्रयास थालिएको उनको भनाइ छ । त्यसैका लागि कानुनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरूको छनोट भइरहेको उनले जानकारी दिए ।

मन्त्रालयले १० वैशाखमा एक सूचना जारी गरेर भूमिसुधार/मालपोत र नापी कार्यालयहरूबाट प्रवाह हुँदै आएका सेवा स्थानीय तहबाट प्रवाह गर्न चाहने गाउँपालिका र नगरपालिकालाई सम्पर्कमा आउन भनेको थियो । त्यो सूचनामा सेवा प्रवाहका लागि आवश्यक पर्ने जनशक्ति तथा पूर्वाधारको व्यवस्था स्थानीय तह आफैंले गर्नुपर्ने भनिएको छ । उक्त सूचना पछाडि २ सय १४ वटा स्थानीय तहले भूमि प्रशासनको काम गर्न इच्छा देखाएर मन्त्रालयको सम्पर्कमा आएको प्रवक्ता भट्टले जानकारी दिए । त्यसरी कामको जिम्मेवारी लिन चाहनेमा महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिका सबै देखिएका छन् ।

मन्त्रालयले त्यसमध्येबाट पहिलो चरणका लागि ३५ वटा पालिका छनोटको तयारी गरेको छ । पालिकाको क्षमता, भौतिक संरचना, स्रोत हेरेर छनोट गरिने मन्त्रालयको जग्गा प्रशासनका शाखाका एक जना अधिकारीले बताए । पालिकाबाट सेवा प्रवाहका लागि आवश्यक पर्ने स्थान, कर्मचारी तथा उपकरणको व्यवस्थापन गरिसकेपछि कर्मचारीहरूलाई तालिम दिने तयारी मन्त्रालयको छ । सबै सेट अप गरेर पहिलो चरणमा कम्तीमा ३०/३५ पालिकाबाट साउनको प्रारम्भबाट भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहको तयारी थाल्ने मन्त्रालयको योजना छ ।

संविधानले घरजग्गा धनीपुर्जा वितरणको एकल अधिकार स्थानीय तहलाई दिएको छ । संविधान जारी भएको एक दशक भइसक्दा पनि स्थानीय तहहरूले उक्त अधिकार अभ्यास गर्न पाएका छैनन् । कानुनको अभाव तथा अधिकार हस्तान्तरणमा संघ सरकारले देखाएको उदासीनता नै त्यसको प्रमुख कारण हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हाल साविक, रजिस्ट्रेसन नामसारी तथा दाखिल खारेजको अधिकार पालिकालाई तोकेको छ । त्यस्तै, जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन, नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण, जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरणसम्बन्धी अन्य कार्यको अधिकार स्थानीय तहलाई तोकिएको छ ।

नगरपालिका संघका महासचिव नरूलाल चौधरी संविधान र संघीयता कार्यान्वयनतर्फ सरकारले चाल्न खोजेको कदमको स्वागत गर्छन् । ‘संविधानले अधिकार दिएको छ । तर, संघ सरकारले अधिकार हस्तान्तरण नगर्दा अहिलेसम्म जग्गा रजिस्ट्रेसन लगायतका काम स्थानीय तहले गर्न पाएको छैन,’ उनले कान्तिपुरसँग भने, ‘हामीले पटकपटक उक्त अधिकार हस्तान्तरण गर्न भन्दै आएका छौं । अहिले सरकारले कानुनमा संशोधन गरेर अधिकार तल सार्ने दिएको संकेत स्वागतयोग्य छ ।’

तर, कामसँगै स्रोत पनि तल सार्नुपर्ने उनले बताए । जग्गा रजिस्ट्रेसन शुल्कको शतप्रतिशत हिस्सा स्थानीय तहले राख्न पाउनुपर्ने आफूहरूको माग रहेको उनले बताए । ‘मन्त्रालयले काम लैजानु भनेको छ । तर, कर्मचारी र स्रोत दिँदैनौं भनिरहेको छ,’ उनले भने, ‘त्यस्तो हो भने रजिस्ट्रेसनको राजस्व पालिकामै छोड्नुपर्ने, हामीले भनिरहेका छौं ।’

मालपोत कार्यालयबाट जग्गा रजिस्ट्रेसनमा उठ्ने गरेको राजस्वको ६० प्रतिशत स्थानीय तहले र ४० प्रतिशत प्रदेश सरकारले पाउँदै आएका छन् । लाभकर संघ सरकारले लिन्छ । जग्गाको मालपोत शुल्कको शतप्रतिशत स्थानीय तहले पाउँछ । संघबाट स्रोतसहित कामको जिम्मेवारी आउनुपर्ने दाङ घोराही उपमहानगरका प्रमुखसमेत रहेका चौधरी भन्छन् ।

७७ जिल्ला सदरमुकामसहित देशैभर १ सय ३७ मालपोत कार्यालयबाट भूमि प्रशासनसम्बन्धी काम हुँदै आएको छ । त्यसलाई क्रमशः ७ सय ५३ वटै पालिकामा पुर्‍याउने लक्ष्य राखिएको मन्त्रालयका प्रवक्ता भट्टले बताए । आफ्नै स्रोतबाट यो जिम्मेवारी लिन सक्ने पालिकाहरूलाई चरणबद्ध रूपमा कार्य जिम्मेवारी हस्तान्तरण गर्दै जाने मन्त्रालयको योजना छ । मालपोत र नापीसम्बन्धी कामका लागि पालिकामा न्यूनतम ९ कर्मचारी आवश्यक पर्ने पहिचान गरिएको छ । त्यसमा कम्प्युटर तथा नापीका प्राविधिक कर्मचारी पनि पर्छन् । कामको चाप बढी हुने ठूला पालिकामा भने योभन्दा बढी कर्मचारी आवश्यक पर्नेछ ।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे संविधानअनुसार मालपोतसम्बन्धी कामको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने तागेता आफूहरूले लगातार गर्दै आएको बताउँछन् । मालपोत कार्यालयबाट सेवा लिनुपर्दा जनताले समय, धन खर्चिनुका साथै ढिलासुस्ती र बिचौलिया प्रभावको सास्ती भोग्नुपरिरहेको नवलपरासी हुप्सेकोट गाउँपालिकाकी अध्यक्षसमेत रहेकी पाण्डेको भनाइ छ । ‘सरकारको प्रयासलाई सकारात्मक मानेका छौं । सबै पालिकाहरू यो जिम्मेवारी लिन उत्सुकसमेत पाएका छौं,’ उनले भनिन् । यो प्रशासनिक मात्रै नभएर प्राविधिक कामसमेत भएकाले संघ सरकारबाट आवश्यक तालिम र दक्ष जनशक्तिको आवश्यकता हुने उनले बताइन् ।

०००

मालपोत कार्यालयको नाम फेरियो

सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय बनाएको छ । मालपोत ऐन तथा जग्गा (नापजाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ भन्ने शब्दलाई झिकेर दुईवटै ऐनमा त्यस ठाउँमा ‘भूमि प्रशासन कार्यालय’ लेखिएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा मालपोत कार्यालयको नामलाई पनि संशोधन गरेको हो । त्यस्तै, मालपोत अधिकृतलाई ‘भूमि प्रशासन अधिकृत’ भनिने गरी ऐन संशोधन गरिएको छ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully