कोहलपुर गोल्डकप : लालीगुराँस र नेपाल पुलिस विजयी

गोल्डकपको चौथो दिन भएको तेस्रो खेलमा सातादोबाटो युथ क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै लालीगुराँस विजयी भएको हो ।

वैशाख २३, २०८३

रूपा गहतराज

Kohalpur Gold Cup: Laligurans and Nepal Police win

नेपालगन्ज — बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ को तेस्रो खेलमा लालीगुराँस एसोसियसन क्लब पोखरा विजयी भएको छ । गोल्डकपको चौथो दिन भएको तेस्रो खेलमा सातादोबाटो युथ क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै लालीगुराँस विजयी भएको हो । 

लालीगुराँस एसोसियसन क्लब पोखरालाई जिताउन जर्सी नम्बर १८ का रोशन छन्त्यालले गरे । आफ्नो टिमलाई जिताउन खेलको ९४ औं मिनेटमा छन्त्यालले गरेको गोल नै निर्णायक बन्यो । निकै निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित सकिएको थियो । 

दुवै टिमले गोलका लागि थुप्रै अवसर सिर्जना गरेपछि फिनिसिङमा चुक्दा गोलका लागि ९४औं मिनेट कुर्नुपर्‍यो । खेलमा म्यान अफ द म्याच लालीगुराँस एसोसियसन क्लब पोखरालाई जिताउन जर्सी नम्बर १८ का रोशन छन्त्याल घोषित भए ।

उनलाई कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयाजक ईश्वरी प्रसाद विश्वकर्मा, कोहलपुर गोल्डकपका सहसंयोजक दीपक वली र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले संयुक्त रुपमा नगद पाँच हजार र ट्रफी वितरण गरेका थिए ।

गोल्डकपको चौथो खेल साविक विजेता राइसिङ स्टार क्लब सुनवल नवलपरासीलाई २–० गोल अन्तरले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसलाई जिताउन खेलको २६औं र ९१ औं मिनेटमा नेपाल पुलिस क्लबका जर्सी नम्बर ७० का आशिष थारुले गोल गरे । आफ्नो टिम जिताउन दुई वटा गोल गरेका थारु नै म्यान अफ द म्याच घोषित भए । 

उनलाई श्रम संस्कृति पार्टी बाँकेका अध्यक्ष भरतनिधि तिवारी, नेपाली सेनाका सेनानी पुकार शाह र उद्घोषक तथा गायक कोष खड्काले संयुक्त रुपमा ट्रफी र नगद पाँच हजार रुपैयाँ वितरण गरेका थिए । यो सँगै कोहलपुर गोल्डकपको समूह चरणको समीकरण पूरा भएको छ । समूह चरणमा जित हासिल गरेका कोहलपुर रेसिङ साहारा क्लब, जस्ट जोन एफसी नाइजेरिया, लालीगुराँस एसोसियसन क्लब पोखरा र विभागीय टिम नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेका छन् भने पराजित पञ्चकोशी युथ क्लब सुदूरपश्चिम, रोयल फुटबल क्लब कर्णाली प्रदेश, सातादोबाटो युथ क्लब काठमाडौं र राइसिङ स्टार क्लब सुनवल नवलपरासी प्रतियोगिताबाट बाहिरिएका छन् । 

बुधबारदेखि सेमिफाइनल समीकरण सुरु हुनेछ । म्याच कमिस्नार दयाराम सापकोटाका अनुसार बैशाख २३ गते पहिलो र २४ गते दोस्रो सेमीफाइनल खेल हुनेछन् । चौथौ कोहलपुर गोल्डकप वैशाख २६ गते सकिनेछ ।

रूपा

Link copied successfully