चामल लगायतका खाद्यान्नमा विषादी भएको दाबी गरिएको मुद्दा उपभोक्ता अदालतद्वारा दर्ता गर्न अस्वीकार

उपभोक्ताहरूका भान्सामा दैनिक उपभोग गर्ने चामल लगायतका खाद्यान्न तथा अन्य उपभोग्य वस्तुमा अत्यधिक विषादी प्रयोग भएको दाबीसहित त्यसलाई रोक्न माग गर्दै उपभोक्ता अदालतमा उक्त मुद्दा पेस भएको थियो ।

वैशाख २३, २०८३

दुर्गा दुलाल

Consumer Court refuses to register case alleging pesticide contamination in rice and other food items

काठमाडौँ — चामल लगायतका खाद्यान्नमा अत्याधिक विषादी भएको दाबीसहित उपभोक्ता अदालतमा पेस भएको मुद्दा दर्ता गर्न अस्वीकार भएको छ ।

उपभोक्ता अदालतका श्रेस्तेदार शिशिर लामिछानेले दुई दिनअघि पेस भएको मुद्दा दरपीठ(दर्ता नगर्ने) आदेश गरेका हुन् । उपभाेक्ता हित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमल्सिनाले मुद्दा पेस गरेका थिए । 

उपभोक्ताहरूका भान्सामा दैनिक उपभोग गर्ने चामल लगायतका खाद्यान्न तथा अन्य उपभोग्य वस्तुमा अत्यधिक विषादी प्रयोग भएको दाबीसहित त्यसलाई रोक्न माग गर्दै उपभोक्ता अदालतमा उक्त मुद्दा पेस भएको थियो । 

उपभोक्ता अदालत गठन भएपछिका एक वर्षमा उपभोक्ताले आफूलाई हानीनोक्सानी परेको विषयमा व्यक्तिगत रुपमा मुद्दा मामिला गरेका थिए । तर, उपभोक्ताहरूलाई सामूहिक रुपमा नै हानी भएको दाबीसहित उपभोक्ता अदालतमा मुद्दा परेको यो पहिलो मुद्दा हो । 

सेवा प्रदायकको गल्ती र त्यसमा नियामक निकायको कमजोर नियमनले चामल उपभोक्ता गर्ने समग्र उपभोक्ताको स्वास्थ्यमा असर परेको भन्दै निवेदनमा सामूहिक दुस्कृति(मास टर्ट)को सिद्धान्त अनुसार कारबाहीको माग गरिएको थियो । मुद्दामा नेपालमा चामल आयात गर्दा विषादी परीक्षण गरेको भए कागजात पेस गर्न लगाउन आदेशको पनि माग गरिएको थियो । स्थानीय तहहरूले खाद्यान्न निरीक्षण अधिकृतको व्यवस्था गर्नुपर्नेमा त्यसो नगरेको भन्दै काठमाडौं उपत्यकाका स्थानीय तहलाई चामलमा विषादी प्रयोगका बारेमा नमुना संकलन र जाँच गरी निरीक्षण प्रतिवेदन पेस गर्न लगाउन आदेश माग गरिएको थियो ।

अदालतले दर्ता गर्न अस्वीकार गरेको आदेश प्राप्त भएपछि इजलासमा निवेदन दिने वरिष्ठ अधिवक्ता तिमल्सिनाले बताए ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully