थलारा गाउँपालिकामा मानसिक रोगको नि:शुल्क औषधि र परामर्श सेवाले वर्षाैंदेखि मानसिक स्वास्थ्य समस्या भोगिरहेका विरामी धामीझाँक्री कहाँ धाउन छाडेर गाउँमै उपचार पाएर निको भइरहेका छन् । पालिकाले मानसिक रोग सम्बन्धीमात्रै ३८ प्रकारका औषधि नि:शुल्क वितरण गरिरहेको छ ।
What you should know
बझाङ — श्रीमान् मानसिक विरामी भएपछि थलारा गाउँपालिका–४ डिक्लाकी धनकला साउँदले झण्डै १२ वर्ष कष्टसाध्य जिन्दगी बिताइन् । श्रीमान् चक्र साउँद गम्भीर खालको मानसिक समस्याबाट ग्रसित भएपछि डर, त्रास, हिंसा, पीडा र अपमानको प्रहार खेपेकी ३५ वर्षीया धनकलाको अनुहारमा लामो समयपछि हाँसो फर्किएको छ ।
‘यतिका चेलाचेली (छोराछोरी) नभएको भए । म उहिल्यै मरिसक्थे होला । यिनकै माया लागेर हुनसम्मको दुख सहें,’ दुई छोरा र दुई छोरीकी आमा उनले भनिन्, ‘सबै सकियो जस्तो लाग्थ्यो । उहाँलाई ठिक होला र यसरी हासी खुसी बाँचाैंला भन्ने त सोचेकी पनि थिइनँ ।’ श्रीमान्को मानसिक स्वास्थ्य समस्या पत्ता लगाएर नियमित मनोसामाजिक परामर्श र औषधि सेवनबाट गाउँमै उपचार सम्भव भएपछि धनकलाको मुहारमा उज्यालो फर्किएको हो । घरको अशान्त माहौल प्रेममय भएको छ ।
सुरुसुरुमा सानो कुरामा पनि झनक्क रिसाउने, गाली गर्ने चक्र विस्तारै कुटपिटमा उत्रिन थाले । ‘मलाई मात्रै होइन । बच्चाहरुलाई पनि कुट्न थाल्नुभयो । ढुगांमुढा, हतियार जे भेट्यो त्यसैले झटारो हान्नु हुन्थ्यो । चोटले रक्ताम्मे हुन्थ्यौं,’ विगतका कहाली लाग्दा दिन सम्झिँदै धनकलाले भनिन्, ‘पछि त बाटोमा पनि गाली गर्दै हिँड्ने, एक्लै हाँस्ने, घरबाट निस्केर गाउँगाउँ डुल्न थाल्नुभयो । कतिबेला आएर सबैलाई मार्छन् भन्ने डरले १२ वर्षसम्म राति पनि राम्रोसँग सुत्न पाइनँ ।’
गाउँमा निकै सोझो र मिलनसार भनेर चिनिने चक्रलाई मानसिक समस्याको सुरुवात भारतमा भएको थियो । घरमा खानलाउन समस्या भए पछि चार नाबालक सन्तान धनकलाको जिम्मा लगाएर २०६८ सालमा उनी कमाउन भनेर भारत पसेका थिए । आफन्तकासाथ पहिलो पटक भारत गएका उनले आन्ध्र प्रदेशमा मजदुरीको काम गरे । राति एक घरमा चौकीदारी गरेर उनी बिहान ४ बजेदेखि गाडी धुन्थे । दिउँसो चार/पाँच घण्टा सुत्ने गरेका उनले पटके काम पाउँदा निन्द्राको पनि माया मारेर काम गर्थे । चार महिनामा ६० हजार भारु कमाए । त्यत्रो रकम पहिलो पटक देखेका र भारतको परिवेशमा राम्रोसँग घुलमिल नभइसकेका चक्रले कमाएको रकम सुरक्षाको लागि पहिलेदेखि नै त्यतै काम गर्दै आएका बझाङकै एक आफन्तलाई राख्न दिए ।
‘दुई महिनापछि पैसा घर पठाइदेउ भन्दा के को पैसा ? मलाई कहिले दिइस् ? भनेर उल्टै थर्काउन थाल्यो,’ आफुलाई मानसिक आघात पर्नुको कारण सुनाउँदै चक्रले भने, ‘मलाई पैसा दिएको प्रमाण के छ? भन्दै पुलिसमा उजुरी दिन्छु भन्न थाल्यो । दु:खगरेको कमाइ विश्वास गरेर राख्न दिएको व्यक्ति नै दुष्ट निस्के पछि आफुले केही सोच्न सकेन ।’ स्थानीय प्रहरीसँग आफ्नो सम्बन्ध भएको बताउँदै धेरै बोले जेल हाल्ने धम्की दिए पछि चक्रले त्यहाँ बस्न असुरक्षित ठाने । एक महिना अरु काम गरेर बाटो खर्च जुटाइ घर फर्किए पनि उनको शान्त मन भने त्यहीँ घटनालाई सम्झिएर झन्झन् बिथोलिन थाल्यो ।
उनको अस्वभाविक व्यवहारलाई परिवारले देउता लागेको ठान्यो । गाउँमा धामीझाँक्री गर्नेदेखि ज्योतिषलाई हेराउने काम भयो । श्रीमतीले भएको गहना बेचेर ज्योतिष र धामीझाँक्रीको सल्लाहमा ८ वटा बोका मन्दिरमा चढाइन् । तर समस्या निको हुनुको साटो झन्झन् बल्झिन थाल्यो । चक्र झन्झन् उग्र हुन थाले । श्रीमती र केटाकेटीलाई भेट्ने बितिकै मरणासन्न हुने गरी कुट्न थाले । बालबच्चा जोगाउन धनकलाले भागीभागी हिँड्नु पर्ने अवस्था भयो । ‘कुन दिन सबैलाई एकैघान पार्छन् भन्ने डर त छँदैथियो यसको श्रीमान् यस्तो भयो । कुल बिग्रियो भनेर गाउँका मान्छेले भन्दा म पनि कुन दिन यस्तै बौलाउँछु जस्तो लाग्थ्यो,’ उनले सुनाइन् ।
शिविरमा रोग पहिचान, नि:शुल्क उपचार
धनकलाले एकातिर आफ्नो र बालबच्चाको ज्यानको चिन्ता अर्काेतिर समाजले गर्ने अपमान पीडा खेपिरहेका बेला अढाई वर्षअघि कसैले गाउँपालिकामा मानसिक स्वास्थ्य समस्याको उपचार गर्ने शिविर चलिरहेको सुनाए । आफन्तको सहयोग मागेर उनले चक्रलाई शिविरमा पुऱ्याइन् । डाक्टरले समस्या पत्ता लगाए पछि स्थानीय पाराकाट्ने स्वास्थ्य चौकीमा उनको उपचार हुन थाल्यो । नियमित परामर्श र उपचारपछि चक्र बिस्तारै सामान्य हुन थाले । ‘साढे दुई वर्षदेखि औषधि खाइरहेको छु । अहिले कुनै समस्या छैन,’ चक्रले भने, ‘पहिला जस्तै सबै काम गर्न सक्ने भएको छु ।’
उनलाई सन्चो भए पछि घरको अशान्त माहोल प्रेममय भएको छ । स्थानीय गैरसरकारी संस्था दलित सहयोग समाजले अनुदानमा बाख्रा दिए पछि अहिले चक्र बाख्रापालनमा रमाइरहेका छन् । भारत नजाने बरु बाख्राको संख्या बढाएर व्यवसायिक बाख्रापालन गर्ने सोच रहेको बताउने उनले भने, ‘अहिले घर खर्च चलेको छ । केही बाख्रा थपेर अब यही व्यवसाय गर्ने सोच छ ।’ उनले आफु जस्तै मानसिक समस्या भएका व्यक्ति र परिवारलाई उपचारमा जानका लागि सल्लाह दिने र सहजीकरण गर्न थालेको बताए ।
बझाङमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएकाहरुलाई समाज र परिवारले हेला गर्ने, अपमानजनक शब्दले सम्बोधन गर्ने, जिस्काउने, बहिस्कार गर्ने गलत अभ्यास छ । देवता बिग्रेमा मानसिक सन्तुलन बिग्रन्छ भन्ने अन्धविश्वासका कारण उपचार नगर्दा समस्या झन् जटिल भएर गम्भीर प्रकृतिका मानसिक रोग लागेकाहरु प्रत्येक गाउँमा भेटिन्छन् । तर थलारा गाउँपालिकाले भने प्रत्येक वर्ष शिविर संचालन गरेर यस्ता समस्या भएका व्यक्ति पक्ता लगाएर र नि:शुल्क उपचार गर्दै आइरहेको छ । गाउँपालिका अध्यक्ष प्रकाश रोकाया संवैधानिक व्यवस्था अनुरुप स्थानीय सरकारले नागरिक तहमा नि:शुल्क स्वास्थ्य सुविस्ता पुर्याउनुपर्ने दायित्व पूरा गर्न हरेक वर्ष शिविर चलाउँदै आएको बताउँछन् । पालिकाबासीलाई सरकार र जनप्रतिनिधि भएको महशुष गराउन मनको उपचारमा सहायता पुर्याउँदै आएका छौं,’ उनले भने ।
पालिकाको यस्तो सेवाले आफुलाई पुर्नजिवन दिएको थलारा–५ कोटफेराकी ५७ वर्षीया विरा ओखेडा बताउँछिन् । उनी २०८० असोजको भूकम्पको बेला नातिनी काखमा च्यापेर सुतिरहेकी थिइन् । एक्कासी धर्ती हल्लियो । घर गर्ल्याम्म ढल्यो । त्यो दृष्य देखेर उनी बेहोस भइन् । होस खुल्दा उनलाई सामान्य चोट लागेको थियो । तर सानी नातिनी नजिक नदेखे पछि उनको मन निकै आतियो । जबकी उनकी नातिनिको सकुशल उद्धार गरिएको थियो । ‘त्यो दिनदेखि जतिबेला पनि त्यहीँ कुरा सम्झेर झस्किन थालें,’ उनले भनिन्,‘कसैसँग बोल्न मन नलाग्ने, निन्द्रा नलाग्ने, खाना खान मन नलाग्ने, कोही मान्छे देखे पनि रिस उठ्ने हुन थाल्यो । पछिपछि त के बोले भन्ने पनि थाहा पाउन छोडे ।’
धामीझाँकीको सल्लाहमा धेरै ठाउँमा पूजा भाकल गर्दा पनि उनलाई निको हुनुको साटो झन्झन् समस्या बढ्न थाल्यो । टोलछिमेकमा उनलाई मानिसले गर्ने व्यवहार पनि फरक लाग्न थालेको थियो । एकदिन गाउँपालिकाकै स्वास्थ्यकर्मी सरस्वती जोशीसँग उनको भेट भयो । त्यहीँ भेट उनलाई सामान्य अवस्थामा फकार्उन सहयोगी बन्यो । जोशीको सल्लाहमा स्थानीय कोटभैरव स्वास्थ्य चौकीमा उपचार गरे पछि अहिले उनी सामान्य अवस्थामा फर्किएकी छन् । ‘राति उठेर हाम फाल्न जाउँ जस्तो लाग्थ्यो । उहाँसँग भेट नभएको भए आजसम्म मरिसक्थे हुँला,’ उनले भनिन् ।
केही वर्षअघिसम्म सहरी क्षेत्रमा बढी देखिने मानसिक समस्या पछिल्ला वर्षमा ग्रामीण क्षेत्रमा पनि बढ्दै गएको यस क्षेत्रमा कार्यरतहरु बताउँछन् । ‘रोजगारीको अभावमा परिवारका सदस्यहरु छुट्टाछुट्टै बस्नु पर्दा र बारम्बार भइरहने भूकम्प जस्ता विपद्का अन्य घटनाले ग्रामीण भेगका मानिसलाई मानसिक समस्यामा पारेको देखिन्छ,’ मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठ भन्छन्, ‘गाउँमा पहिला संयुक्त परिवार हुने, सबैसँगै बस्दा एकअर्कालाई सहयोग गर्ने चलन थियो । त्यो बिस्तारै विखन्डन हुँदैछ । परिवारहरु खण्डित हुँदा पनि मानिसमा एक्लोपन, निरासा हुँदै गम्भिर मानसिक समस्यासम्म पुगेको हाम्रो अनुभवले देखाउँछ ।’
थलारामा चक्र र विरा जस्ता मानसिक समस्या भएका थुप्रैले नजिकको स्वास्थ्य चौकीमा उपचार र मनोसामाजिक परामर्श सेवा पाएर समाजमा पुर्नस्थापना भइसकेका छन् । ‘एक पटक औषधि किन्दा पछि ५/६ हजार खर्च गर्नुपर्छ । यहाँ औषधि नि:शुल्क हुने भएकोले न्यून आय भएकाहरुलाई पनि उपचारमा समस्या छैन,’ पाराकाट्ने स्वास्थ्य चौकीका इन्चार्ज गौरीशंकर जोशीले भने, ‘हामीले बिरामीको आवश्यकता हेरेर मनोपरामर्श र औषधि दुवै दिने गरेका छौं ।’ पालिका विभिन्न स्वास्थ्य संस्थाबाट मानसिक रोग सम्बन्धी मात्रै ३८ प्रकारका औषधि नि:शुल्क वितरण भइरहेको उनले बताए । यो सुविधाले छिमेकी पालिकाबाट समेत बिरामीहरु थलारा आउने गरेको उनले बताए ।
स्थानीयमा चिन्ता, उदासीनता, गम्भीर प्रकृतिको मानसिक समस्या, छारे रोग, रुपान्तरित विकार (कन्भर्जन डिसअर्डर) जस्ता समस्या बढी देखिएको पालिकाको मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रममा सामाजिक परिचालनमार्फत सहयोग गर्दै आएको संस्था दलित सहयोग समाजकी परियोजना संयोजक विस्ना बमले बताइन् । ‘बझाङमा मानसिक समस्या हुँदा समाजमा अपहेलित भइन्छ भन्ने डरले सुरुमा समस्या लुकाउने र बढ्दै गए पछि धामीझाँक्री गर्ने चलन छ,’ उनले भनिन्, ‘तर थलारा गाउँपालिकाको हकमा यो अन्धविश्वास तोडिएको छ । मानिसहरु खुलेरै उपचारमा आउन थालेका छन् ।’ उनले जिल्लाभरीमा थुप्रै मानिस मानसिक समस्याबाट पीडित रहेकोले अन्य पालिकाले पनि मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन सके धेरैको उद्धार हुने बताइन् ।
थलारा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यो पालिकामा अहिलेसम्म २५८ जनाले मानसिक स्वास्थ्य सम्बन्धी उपचार सेवा पाइसकेका छन् । तीमध्ये ३१ जना पूर्णरुपमा निको भएर औषधि सेवन गर्न छोडिसकेका छन् भने २२७ जना अहिले पनि उपचार र परामर्शमा रहेका छन् । ‘मानसिक समस्या पहिचान गर्न हामीले प्रत्येक वर्ष पालिकामा शिविर संचालन गर्ने गरेका छौं,’ गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले भने, ‘पालिकाभरीका सबैलाई नि:शुल्क औषधि र उपचार गरेपछि बिचल्ली भइसकेका धेरै परिवार अहिले पूर्ववत अवस्थामा फर्किएका छन् । गम्भीर समस्या भएर जे पायो त्यहीँ गर्दै हिँड्नेहरु पनि अहिले परिवारमा बसेर पहिला जस्तै नियमित काम गर्न थालेका छन् ।’ उनले पालिकाले विभिन्न संघसंस्थासँग समन्वय गरेर उपचारबाट निको भएकालाई आयआर्जनका कार्यक्रम सहयोग गर्ने गरेको र उनीहरु आत्मनिर्भर हुन थालेको बताए । पालिकाभित्रका विद्यालयमा पनि स्वास्थ्यकर्मीको सहयोग लिएर किशोरकिशोरीलाई नियमित मानसिक परामर्श दिइरहेको उनले बताए ।
