क्यान्सरपीडित श्रीमतीको उपचारका लागि आफैले कमाएको २ लाख ५० हजार भारु साट्न गएका रामचन्द्र साह फर्कँदा नाकामा पक्राउ परे। धराैटी बुझाएर छुटेका उनी डेढ महिनादेखि रकम फिर्ता र उपचार खर्च जुटाउन संघर्ष गरिरहेका छन् ।
What you should know
राजविराज — क्यान्सरपीडित श्रीमतीको उपचार गराउन सप्तरीको राजगढ गाउँपालिका–४ चपेनाका रामचन्द्र साह डेढ महिनासम्म भौतारिँदा पनि खर्च जुटाउन सकेका छैनन् ।
२६ वर्षदेखि भारतको दिल्लीस्थित गुडगावमा काम गर्दै आएका उनी ४ वर्षदेखि क्यान्सरपीडित ५० वर्षीया श्रीमती महेश्वरीदेवी साहको उपचार गराउँदै आएका छन्।
पछिल्लो पटक त्यहाँ कमाएको २ लाख ५० हजार भारु रकम बोकेर उनी गत फागुन २६ मा बिहारको अनरामण्ठ हुँदै बनैनियाँ नाकाबाट घर फर्किए । तर, श्रीमतीलाई थप उपचारको लागि भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लग्नुपर्दा नेपाली रुपैयाँ आवश्यक पर्ने भएकाले उनी स्थानीय दररेटमा सटही गर्न ३ दिनपछि पुन: अनरामण्ठ पुगे । फागुन २९ मा त्यहाँबाट फर्किरहेका रामचन्द्रले सटही गरेका ४ लाख र अन्य १३ हजार २ सय नेपाली रुपैयाँसहित बनैनियाँ नाकामा पक्राउ परे ।
बोर्डर आउट पोस्ट (बिओपी) बनैनियाँले पक्राउ गरेका उनलाई रकमसहित सोही दिन राजविराज भन्सार कार्यालयमा बुझाए । भन्सारले पनि रामचन्द्रमाथि नगद चौरी पैठारी कसूरमा मुद्दा चलाएर अनुसन्धानका लागि प्रहरी हिरासत पठायो । उक्त विषयमा खबर पाएका परिवारले गाउँलेसँग ऋण उठाएर सोही रकम बराबरको धरौटी बुझाएर रामचन्द्रलाई रिहा गराए पनि उनीहरु उपचार खर्च जुटाउन सकेका छैनन् । ‘रकम जफत नभएको भए अहिले श्रीमतीको उपचार भइरहेको हुन्थ्यो । तर खर्च अभावले स्वास्थ्य अवस्था नाजुक रहँदा पनि घरमै राख्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘खर्चको जोहो गर्ने प्रयासमै लागेको छु ।’
रामचन्द्रले नाकामा 'जफत’ गरिएको र धरौटी बुझाएको रकम फिर्ताका लागि र थप ऋण जुटाउन डेढ महिनादेखि भौतारिरहेका छन् । अहिलेसम्म उनले न रकम फिर्ता पाएका छन् न ऋण नै पाउन सकेका छन् ।
‘गुडगावस्थित किङ म्यानेजमेन्ट सोलुसन प्रालिबाट मैले पाएको तलबको स्लिप, परिचयपत्र, त्यहाँबाट लोकल बसमा फर्किएको टिकट र श्रीमती क्यान्सरपीडित रहेको कागजात सबै देखाए पनि पीडा कसैले बुझेनन्,’ रामचन्द्रले भने, ‘अझ छिटो प्रक्रिया अघि बढाइदिन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ भएको छैन ।’
आफु पक्राउ पर्दा भएभरको ठाउँबाट ऋण उठाएर धरौटी बुझाएकाले श्रीमतीको उपचारका लागि खर्च जुटाउन नसकिरहेको उनले बताए । ‘भन्सार, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालय धाउँदा–धाउँदै डेढ महिना बित्यो,’ उनले भने, ‘अब थप कर्जा पाउनै मुस्किल छ, यताको पैसा फिर्ता पाउने टुंगो छैन । श्रीमतीलाई बचाउन सक्छु कि सक्दिन भन्ने पीरले निदाउन पाएको छैन ।’
रामचन्द्रले चैत १८ मा दु:ख गरेर कमाएको रकम जफत हुँदा श्रीमतीको उपचार गराउन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयमा रकम फिर्ताका लागि पहल गरिदिन निवेदनसमेत दिएका छन् । जिल्ला प्रशासनले पनि सोही दिन यस विषयमा जानकारी लिन सशस्त्र प्रहरी बल नम्बर ६ गण मुख्यालयलाई पत्राचार गरेको छ । तर, त्यहाँबाट अहिलेसम्म थप जानकारी प्राप्त हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताए । यता, राजविराज भन्सार कार्यालयका सूचना अधिकारी विजयकुमार साहले त्यस विषयमा थप अनुसन्धान भइरहेको बताए । ‘उनीमाथि मुद्दा चलेर अहिले अनुसन्धान भइरहेको छ’ उनले भने, ‘समग्रमा मुद्दा टुंगिन ६ महिनासम्म लाग्नसक्छ ।’
