संघीय सरकारको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयको पालिकाहरुमा एकै खालले कार्यान्वयन नहुँदा एकै पेशामा रहेका परिवारका सदस्यको दैनिकी पनि फरक फरक बनेको छ।
What you should know
ताप्लेजुङ — –फुङलिङ नगरपालिका–७ हेलिप्याड घरभई भानुजन माध्यमिक विद्यालय कक्षा ९ मा पढ्ने विद्वता पोख्रेल शनिबार दिनभरी बुवा राजकुमारसँग घुम्न फुङलिङ बजार गइन् । शुक्रबार बेलुका घरआएका बुवा राजकुमारले विद्वतालाई शनिबार बिहान खाना खाएर घरको सामान्य काम गर्दै ‘पढाइ कस्तो चल्दैछ’ भनेर जिज्ञासा राखेका थिए । उनले सोमबारदेखि शुक्रबारसम्म हुने पढाइको फेहरिस्त बताइन् । आठराइत्रिबेणी गाउँपालिका–३ हाङपाङमा रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक राजकुमार आइतबार बिहान विद्यालयतिर लागे । विद्वताले भने घरमा आमासँगै दिन बिताइन् ।
–फुङलिङ नगरपालिका–५ की सुग्रीमा आचार्य सोमबारदेखि शुक्रबारसम्म हरेक दिन बिहान दुई बहिनीहरु लिना र लिसासँगै होमवर्क गर्छिन् । ८:३० बजेतिर दिदीबहिनी सँगै खाना खान्छन् । त्यसपछि सुग्रीमा हिँडेर स्कुलतिर लाग्छिन् । बहिनीहरु बुवा सुवासको मोटरसाइकल चढेर स्कुल जान्छन् । शनिबार सबै सँगै हुन्छन् । आइतबारको तालिका भने परिवर्तन भएको छ । निजी विद्यालय सोरठी आधारभूतमा पढ्ने लिना र लिसा स्कुल जान्छन् । सुग्रीमा भने दिनभरी घरमा हुन्छिन् । सुग्रीमा सामुदायिक विद्यालय भानुजन माविमा कक्षा ८ मा पढ्छिन् ।
–मेरिङदेन, आठराई त्रिबेणीको संगमस्थलमा रहेको दोभान बजारमा बस्दै आएका तावला शेर्पा, राजु श्रेष्ठ आइतबार दिनभर घरको काममा ब्यस्त भए । यही बस्तीका उषा भट्टराई र रेश्मा मगर भने विद्यालय गइ पढेर फर्किए । तावला र राजुु फुङलिङ नगरपालिका–२ देवलिङगेमा रहेको वीरेन्द्र माविमा पढ्छन् भने उषा र रेश्मा चाँगे माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।
–फुङलिङ नगरपालिका–३ मेदिबुङका टंक खवास शुक्रबार बेलुका दोभान बजारसम्म गएर श्रीमती सीतालाई लिएर घर फर्किए । शनिबार परिवारका सदस्य सँगै भए र घरायसी कामकाज गरेर बिताए । आइतबार बिहान सीतालाई पुर्याउन आठराई त्रिबेणी गाउँपालिका–४ चाँगे पुगेर दिउँसो फर्किए । नयाँ शैक्षिक सत्र अघिसम्म टंक श्रीमती (सीता)लाई स्कुल पुर्याएर आफु पनि स्कुल भ्याउन बिहान १० बजे आइपुग्थे । सीता छातेढुंगा मावि चाँगे र टंक मेवाराजा आधारभूत विद्यालय बहानन्देका शिक्षक हुन् ।
पश्चिम एशियामा भइरहेको द्वन्द्वले इन्धन अभाव भएकाे कारण देखाउँदै संघीय सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयको पालिकाहरुमा पूर्ण कार्यान्वयन नहुँदा एकै पेशामा रहेका परिवारका सदस्यको दैनिकी पनि फरक फरक बनेको छ ।
एउटै पदमा कार्यरत टंक र सीता जस्ता एकाघरका शिक्षक कोही सातामा दुई दिन र कोही एक दिनमात्रै बिदा पाउँछन् । तावला, राजु, उसा, रेश्मा जस्ता एकाटोलका विद्यार्थी कोही सातामा ६ दिन विद्यालय धाइरहेका छन् भने कोहीले ५ दिनमात्रै जानु परेको छ । सुग्रीमा, लिना, लिसा जस्ता एकाघरका दिदीबहिनीको दैनिकी पनि त्यस्तै बनेको छ । माध्यमिक तहमै पढाउने राजकुमार र सोही तहमा पढ्ने विद्वता जस्ता बाबुछोरीको शैक्षिक क्यालेण्डर पनि पृथक बनेको छ ।
नौ वटा स्थानीय तह रहेको जिल्लाका पालिकाहरुमा शैक्षिक संस्थादेखि सरकारी कार्यालयमा आ–आफ्नो तालिका छ । एउटै पालिकाका शैक्षिक संस्था पनि फरक समय तालिकामा संचालन भइरहेका छन् । फुङलिङ नगरपालिकाका सामुदायिक विद्यालय आइतबार पनि बन्द हुने गरेका छन् भने संस्थागत विद्यालयमा आइतबार पढाइ भइरहेको छ ।
फुङलिङ नगरप्रमुख अमिर मादेन संघीय सरकारले गरेको निर्णय र नियम कार्यान्वयन गर्नुपर्ने बताउँछन् । ‘संघीय सरकार, प्रदेश सरकारले गरेको निर्णय स्थानीय तहले नमान्ने, स्थानीय तहले गरेको अनुरोध संघीय, प्रदेशले नमान्ने हो भने कसरी चल्छ ?’ मादेनले भने, ‘त्यसैले मैले सरकारले भने अनुसार गर्नुहोस् भनेको छु ।’
नगरप्रमुख मादेनले यसो भनिरहँदा यही पालिकाका निजी विद्यालयले मानेका छैनन् । अघिल्लो आइतबार फाट्टफुट्ट खुलेका निजी विद्यालय यो सातादेखि सबैजसो खुलेका छन् । नगरप्रमुख राईले संस्थागत विद्यालयमा आइतबार पनि कक्षा संचालन भइरहेकोबारे बुझ्ने बताए ।
आठराई त्रिबेणी, फक्ताङलुङ गाउँपालिकाले संघीय सरकारको दुई दिन बिदा दिने निर्णयमा सुरुमै बिमती जनाएका थिए । आठराई त्रिबेणीले कार्यपालिकाबाटै निर्णय गराएर पुरानै शैक्षिक सत्र अनुसारनै शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा ल्याएकाे थियो । फक्ताङलुङलगायतका अन्य गाउँपालिकाले अघिल्लो वर्षका शैक्षिक सत्रकै तालिका अनुसार भर्ना अभियान र पढाइ सञ्चालन गरिरहेका छन् ।
एउटा जिल्लाका सबै कार्यालय संचालन हुने समयमा एकरुपता नहुँदा अभिभावक र सेवाग्राहीलाई पनि अलमल भएको दोभानका दिपक धिताल बताउँछन् । ‘एकै कक्षामा पढ्ने विद्यार्थी कोही सातामा ६ दिन स्कुल जान्छ कोही ५ दिन मात्रै पढ्छ, उसको शैक्षिक स्तर कस्तो होला भन्ने चिन्ता हुने रहेछ,’ दिपकले भने, ‘५ दिन मात्रै लगाउँदा शैक्षिक कोर्ष पूरा हुँदैन भनेर स्थानीय तहले प्रश्न उठाउँदा सरकार, शिक्षा मन्त्रीले प्रष्ट जवाफ दिएको सुनिदैन ।’
फुङलिङ नगरपालिकाका निवर्तमान नगरप्रमुख छत्रपति प्याकुरेलले विद्यालयहरुमा एकै खालको नीति हुनु आवश्यक भएको बताए । ‘पहिला निजी र सामुदायिक विद्यालयमा मात्रै अन्तर देखिन्थ्यो। अहिले त एकैखालको स्कुलमा पनि दुई खाले नीति राम्रो भएन,’ उनले भने ।
आइतबार बिदा गर्ने भन्दा पनि खोल्ने स्थानीय तहको संख्या बढी भएकाले कम्तीमा जिल्लामा एकरुपता गर्न जिल्ला समन्वय समितिले भूमिका खेले राम्रो हुने अवकाश प्राप्त शिक्षक डिल्लीरमण बराल बताउँछन् । 'सके त देशभर एकै खालकाे तालिका राम्रो । हाम्रो जस्तो भौगोलिक कठिनाइ भएको देशमा कम्तीमा जिल्ला नभए पालिकाभित्र त एकरुपता हुन जरुरी हो,' उनले भने ।
