नदी किनारमा ठूला मेसिन औजार छन्, मेसिनले खन्दै गरेको र कामदारले रड बुन्दै गरेको दृश्य देखिन्छ, नारायणी धमिलिएको छ, पानीको तह बढ्न सुरु गरेको छ तर भौतिक निर्माणमा छैन प्रगति।
चितवन — मनसुन सुरु भएसँगै नारायणी नदी बढ्न थालेको छ । यससँगै चितवनको नारायणगढ र नवलपुरको गैंडाकोटलाई जोड्ने नारायणी नदीमाथि बन्न लागेको सिग्नेचर पुल निर्माण कसरी अघि बढ्छ भन्ने प्रश्न पनि उब्जिएको छ । पुल निर्माणमा देखिने गरी भौतिक प्रगति हालसम्म नभएको पुल निर्माणमा संलग्न अधिकारी नै बताउँछन् ।
नदी किनारमा ठूला मेसिन औजार छन् । मेसिनले खन्दै गरेको र कामदारले रड बुन्दै गरेको दृश्य देखिन्छ । नारायणी धमिलो भएको छ । पानीको तह बढ्न सुरु गरेको छ । तर संरचना निर्माणको काम अझै सुरु भएको छैन ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षअघि वैशाख २०८१ मा मन्त्रीसमेत ल्याएर पुलको शिलान्यास गरेका थिए । त्यति बेला पनि पुलको डिजाइनसम्बन्धी काम बाँकी नै थियो । पुलको डिजाइन स्वीकृति गएको १८ कात्तिकमा भएको हो । त्यसपछि पुल निर्माणका लागि फिल्डमा कामदार र मेसिन औजार तैनाथ भएका थिए ।
‘पुलको पिल्लरको भारवहन क्षमतासम्बन्धी परीक्षण यसबीचमा भएका छन् । फिल्डमै गर्नुपर्ने परीक्षणका काम पूरा भए । अब संरचना निर्माणका काम अगाडि बढ्छ,’ यो पुल निर्माण हेर्ने भरतपुरको डिभिजन सडक कार्यालयका साइट इन्जिनियर सन्तोष भण्डारीले भने । पुलको दुईतर्फ मुख्य टावर रहनेछन् । ‘अबटमेन्ट’ (पुल सुरु हुने र अन्त्य हुने ठाउँ) को सय मिटरको फरकमा टावर रहनेछन् ।
अहिले ‘अबटमेन्ट’ बन्ने कंक्रिटको संरचना निर्माणको काम भइरहेको छ । नारायणगढतर्फ रहेको ‘अबटमेन्ट’ र त्यसदेखि सय मिटर पर रहने मुख्य टावरको जगको काम भइरहेको निर्माण पक्षले जनाएको छ । दुई वटा टावरको बीचको दूरी २२० मिटर रहनेछ । पुलको कुल लम्बाइ ४ सय २० मिटर हुनेछ । यो पुल जल यातायात सञ्चालन गर्न मिल्ने गरेर बनाइँदै छ ।
गैंडाकोटतर्फको ‘अबटमेन्ट’को काम पनि यही आर्थिक वर्षमा सुरु गर्ने निर्माण पक्षको योजना छ । चार वर्षमा काम सक्ने गरेर पुल निर्माणका लागि ९ जेठ २०८० मा निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । तुँदीसँग पुलको डिजाइनसहितको सम्झौता भएको हो । एक वर्षभित्र डिजाइन तयार र स्वीकृत गरेर बाँकी तीन वर्षमा निर्माण सक्ने सम्झौता थियो ।
तर पुलको डिजाइन गत १८ कात्तिकमा मात्रै स्वीकृत भएको छ । सम्झौताअनुसार यो काम वैशाख–जेठ २०८१ मै पूरा हुनुपर्ने थियो । पुलको डिजाइन सक्नै डेढ वर्ष ढिला भएको छ । ‘अहिले देखिने भौतिक प्रगति नभए पनि विभिन्न काम भइरहेका छन् । बजेट प्रगति सात–आठ प्रतिशत भएको छ,’ तुँदीको प्रोजेक्ट म्यानेजर मन्जिल मिश्रले भने ।
पुलको कुल लागत एक अर्ब ६८ करोड रुपैयाँ छ । हाल लगभग डेढ सय कामदारले पिल्लरका लागि रड बुन्ने काम गरिरहेको मिश्रले बताए । नारायणगढ र गैंडाकोटतर्फ दुई/दुई वटा गरेर चार वटा एस्काभेटर, ६० टनको एउटा क्रेनसँगै अन्य तीन वटा ठूला मेसिन फिल्डमा काम गर्न खटिएको मिश्रले जनाए । पछिल्लो समय अवस्था अनुकूल नरहे पनि आफूहरूले काम नरोकेको उनको भनाइ छ । ‘रड छडदेखि इन्धनसम्म महँगो भयो । कताको भाउ कता पुग्यो । भनेको बेलामा सामान पाइँदैन । फेरि प्रि–मनसुन पनि छिट्टो सुरु भएका कारण काम गर्न सहज छैन । तर काम जारी नै राखेका छौं,’ मिश्रले भने । पूर्व–पश्चिम राजमार्गको कर्णाली चिसापानीमा रहेको पुलमा एउटा मात्रै टावर र केवल छ । त्यसपछि दुई वटा टावर र केबल राखेर नेपालमा बन्न लागेको यो नै पहिलो पुल हो ।
‘हुन त यसलाई सिग्नेचर ब्रिज पनि भन्न सुरु गरेका छन् । तर यो आइकोनिक ब्रिज हो,’ प्रोजेक्ट म्यानेजर इन्जिनियर मिश्रले भने । नारायणगढको नारायणी नदीमा बनेको हालको पुलको शिलान्यास २०३८ सालमा भएको थियो । झन्डै चार वर्ष लगाएर बनेको त्यो पुल पुरानो र साँघुरो हुँदै गएको छ ।
पुरानो पुलकै आडमा नयाँ पुल बन्न लागेको हो । पूर्व–पश्चिम राजमार्ग पहिलाको तुलनामा फराकिलो बनेको छ । पुरानो पुल सडकअनुसार चौडा नहुँदा गाडी वारपार हुन गाह्रो हुने गरेको छ । पुरानो पुलको विकल्पमा छिटोछिटो नयाँ पुल बनाउनुपर्ने दबाब छ । तर चार वर्षभित्र काम सक्ने भनेर सम्झौता भएको तीन वर्ष बित्न लाग्दै गर्दा पुलको जगको कामले पनि पूर्णता पाउन सकेको छैन ।
