शनिबार नेपाल बसोबास बस्ती संरक्षण समाजको आयोजनामा भएको प्रदर्शनका सहभागीले धरानमा पनि बस्ती हटाउन खोजिए एकताबद्ध भएर सरकारको प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
What you should know
धरान — काठमाडौं उपत्यकाका सुकुमबासी बस्तीमा डोजर चलाइएको विरोधमा धरानमा प्रदर्शन गरिएको छ । शनिबार नेपाल बसोबास बस्ती संरक्षण समाजको आयोजनामा भएको प्रदर्शनका सहभागीले धरानमा पनि बस्ती हटाउन खोजिए एकताबद्ध भएर सरकारको प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले विकल्पबिना जबर्जस्ती उठीबास गराएको भन्दै सरकारबिरुद्ध नाराबाजी गरेका थिए । छाताचोकदेखि भानुचोकसम्म निकालिएको र्यालीका सहभागीले ‘मरे चिहान, बाँचे घर, एकता नै हाम्रो भर’लगायतका नारा लगाएका थिए । विकासका नाममा गरिब तथा विपन्न समुदायलाई विस्थापित गर्नु अन्यायपूर्ण र अमानवीय कदम भएको उनीहरुको भनाइ छ।
प्रदर्शनकारीले ‘डोजर होइन विकास दे’, ‘गरिबको घर भत्काउने यो कस्तो विकास हो?’ र ‘विस्थापित सुकुमवासीलाई पुनः स्थापना गर’ जस्ता प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । उनीहरूले राज्यले दीर्घकालीन समाधान दिनुको सट्टा बल प्रयोगमार्फत समस्या जटिल बनाएको आरोप लगाए ।
उचित पुनःस्थापनाको व्यवस्था नगरी घर भत्काउनु मानवअधिकारको उल्लंघन भएको समाजका कार्यक्रम संयोजक सुवास राईले बताए । सुकुमवासीहरूको वास्तविक पहिचान, वर्गीकरण र आवश्यकता अनुसार व्यवस्थापन नगरी गरिएको कदम गलत भएको उनले बताए । उनले दीर्घकालीन नीति र कानुनी आधारमा समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै सरकारलाई संवेदनशील बन्न आग्रह गरे । ‘समाधान खोज्ने नाममा पीडा थप्ने काम भइरहेको छ, यो न्यायसंगत होइन,’ उनले भने ।
काठमाडौंमा डोजर प्रयोग गरी बस्ती हटाइएपछि धरानका सुकुमवासीमा पनि त्रास फैलिएको छ । धरान उपमहानगरपालिकाको तथ्यांक अनुसार यहाँका २० वटै वडामा करिब १७ हजार ३७५ सुकुमवासी परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये भूमिहीन दलित १ हजार ४६२, भूमिहीन सुकुमवासी ४ हजार १०६ र अव्यवस्थित बसोबासी ९ हजार ८७१ रहेका छन् । वडा–५ मा सबैभन्दा बढी सुकुमावासीको बसोबास रहेको छ भने वडा १७, ११, १५, १६ र ४ मा पनि उल्लेख्य संख्या रहेको छ। अन्य वडामा भने तुलनात्मक रूपमा कम संख्या रहेको छ ।
यसबीच, धरान उपमहानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन नदिने संकेत दिएको छ । कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले आफू पदमा रहँदासम्म डोजर प्रयोग गरेर बस्ती हटाउने काम नगर्ने स्पष्ट पारेका छन् । ‘हामी सुकुमवासीको पक्षमा छौं, तत्काल डोजर चलाउने कुनै योजना छैन,’ उनले भने ।
उनले सुकुम्बासी समस्यालाई राजनीतिक नभई मानवीय र कानुनी दृष्टिकोणबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले सुकुमवासी समुदायलाई उत्तेजित नहुन र संयमित रहन आग्रह गर्दै स्थानीय सरकार नागरिकको अभिभावकका रूपमा काम गरिरहेको बताए। बेघाका अनुसार सबै नागरिकको आवास सुरक्षा र सम्मानजनक जीवन सुनिश्चित गर्नु स्थानीय सरकारको प्राथमिकता हो। यस घटनाले सुकुमवासी व्यवस्थापनको दीर्घकालीन नीति आवश्यक रहेको उनले बताए ।
