दुई दिनअगााडि मात्रै घरबेटी आए र सधैझैं भाडा मागे । १० हजार भाडा बुझाएर ढुक्कले बसे । तर भाडा बुझाएकै भोलिपल्ट उठीबास लाग्यो ।
What you should know
काठमाडौँ — उनीहरु डेरा बसेको घर भत्किसकेको थियो । तीनतले घर खाली हुँदै थियो । ब्याचलर पढ्दै गरेकी आरती चौधरी सोही घर देखाउँदै भन्दै थिइन्, ‘यही घरबाट सरेको नि कम्ता दु:ख भएन, रातिराति सर्नुपर्यो ।’
अनामनगर धोबीखोला किनारमा रहेको अव्यवस्थित बस्ती खाली गर्नु भन्दै माइकिङ गर्न थालेपश्चात् आरतीसँगै डेरामा बस्दै आएका एलिजा, अर्चना चौधरी पनि आत्तिन थाले । उनीहरुमा चिन्ता थपियो- अब कहाँ जाने, सामान कहाँ राख्ने ?
स्थायी घर बारा भएका उनीहरु दुई वर्षअगााडि सोही स्थानमा डेरा बस्न आइपुगेका थिए । अनधिकृत घर हो भन्ने उनीहरुलाई थाहा थियो तर यसरी हटाउँछ भनेर अनुमान गरेका थिएनन् । आरतीले भनिन्, ‘यसरी रातारात सामान सानुपर्छ भनेर लागेको थिएन तर साह्रै गाह्रो भयो ।’
महिना पुग्नु अगााडि नै घरबेटीले भाडा उठाउँथे । दुई दिनअगााडि मात्रै बुधबार घरबेटी आए र सधैझैं भाडा मागे । दुई कोठाको १० हजार भाडा बुझाउने उनीहरु सोहीअनुसार भाडा बुझाए र ढुक्कले बसे । तर भाडा बुझाएकै भोलिपल्ट उठीबास लाग्यो । घर भत्काउन थालियो ।
घरबाट तुरुन्त कोठा खोज भन्दै अभिभावकले उनीहरुलाई भन्न थालिसकेका थिए । भन्नासाथ कोठा पाउन उनीहरुका लागि सम्भव थिएन । राति उनीहरुले सामान प्याक गरे । ग्वार्कोका रहेका आफन्त दाइकहाँ सामान पुर्याए । दाइको ग्यारेज थियो । त्यहीँ सामान राखे । त्यहीँ सुते ।
आरतीले भनिन्, ‘दाइको कोठा सानो थियो । सुत्ने र सामान राख्ने ठाउँ थिएन । त्यही भएर ग्यारेजमा नै सुत्यौं ।’
बस्तीमा एक महिनाअगााडि देखि नै हल्ला र डर थियो तर हटाउँदैन होला पनि भन्ने भएर कोठा खोज्न नपाएको उनले बताइन् ।
एक रात ग्वार्कोको ग्यारेजमा बसेर उनीहरुले सामान छेउकै घरमा सारेका छन् । आफू बसेको छेउको घर देखाउँदै उनले भनिन्, ‘सामान त राख्यौं । अब कहाँ जाने थाहा छैन ।'
