शीतल निवास स्रोतका अनुसार अरू अध्यादेश जारी गरिसकेपछि मात्र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा निर्णय लिने मनस्थिति राष्ट्रपतिको छ ।
What you should know
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गर्दा पहिलो दिनमै पठाएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश भने अहिलेसम्म जारी गरेका छैनन् । राष्ट्रपतिले शनिबार सरकारी बिदाको दिनमा समेत स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका थिए । यसअघि उनले सहकारी, सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए ।
संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषद्मा ६ सदस्यमध्ये ३ जनाबाटै निर्णय गर्न सकिने व्यवस्थालाई लिएर राष्ट्रपति पौडेलको मुख्य सरोकार रहेको छ ।
यस्तै व्यवस्था हुँदा उनले संघीय संसद्का दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयकसमेत संसद्मा फिर्ता पठाएका थिए । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले पनि उस्तै प्रकृतिको अध्यादेश पठाएपछि त्यतिबेला पनि अध्यादेश फिर्ता भएको थियो ।
तत्कालीन संघीय संसद्को दुवै सदनले पारित गरेको विधेयकमा ३ जनालाई गणपूरक संख्या मानेर दुई जनाबाटै निर्णय गर्न सकिने व्यवस्था थियो । यसपटक गणपूरक संख्या चार जनालाई मानेर त्यसको बहुमत अर्थात् तीन जनाबाटै निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।
‘कथंकदाचित सर्वसम्मति हुन नसकेमा कुनै पनि तरहले कुल संख्याको बहुमत ओझेलमा पर्नु हुँदैन र बहुमतको आधार नै निर्णयको अन्तिम आधारस्तम्भ मानिनुपर्छ’ राष्ट्रपतिले पहिलोपल्ट विधेयक फिर्ता गर्दा उठाएको मुख्य आधार यही थियो ।
शक्ति सन्तुलनको मर्मलाई कमजोर हुन नदिन राष्ट्रपति पौडेलले कम्तीमा चार जना सदस्यको निर्णयको विषय उठाइरहेका छन् । कम्तीमा बहुमतको भावना मर्न दिन हुन्न भन्ने राय राखेर विगतमा फिर्ता पठाएकाले यसपटक के गर्ने भन्नेबारेमा राष्ट्रपति द्विविधामा परेका छन् । बिहीबार संविधानविद्हरूसँग छलफल गरेका राष्ट्रपति पौडेलले शुक्रबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँग पनि छलफल गरेका थिए ।
‘राष्ट्रपतिले एकपटक प्रधानमन्त्रीसँग पनि यस विषयमा परामर्श गर्न खोज्नुभएको छ, त्यसबारेमा शीतल निवास र प्रधानमन्त्री कार्यालयका सचिवालय तहमा कुराकानी भइरहेको छ’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीसँग कुराकानी भएपछि जारी गर्ने वा नगर्ने निर्णय होला ।’ स्रोतका अनुसार विभिन्न तहबाट उक्त विधेयकसमेत चाँडै जारी गर्न राष्ट्रपतिलाई दबाब परिरहेको छ ।
‘संसद्को वर्षे अधिवेशन बोलाउन समयको चाप परेकाले अध्यादेश चाँडै जारी भइदिए संसद् खुलाउने बाटो खुल्थ्यो भन्ने हो’ सरकारका एक मन्त्रीले भने, ‘सबै जसअपजसको भारी सरकारले लिने भएपछि राष्ट्रपतिले रोकिरहनु पर्दैन, संवैधानिक रूपमा राष्ट्रपतिले त्यस्तो गर्न पनि मिल्दैन ।’
शीतल निवास स्रोतका अनुसार अरू अध्यादेश जारी गरिसकेपछि मात्र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा निर्णय लिने मनस्थिति राष्ट्रपतिको छ ।
