कम्बोडियाका साइबर ठगी केन्द्रमा अझै सयौं नेपाली बन्धक

२७७ जनाको ओभरस्टेबापतको जरिवाना मिनाहा गरिदिन नेपाली दूतावासको आग्रह

वैशाख १९, २०८३

होम कार्की

Hundreds of Nepalis still held hostage in Cambodia's cyber fraud center

What you should know

काठमाडौँ — कम्बोडियाका साइबर ठगी केन्द्रहरूमा अझै सयौं नेपाली फसेको तथ्य सार्वजनिक भएको छ । ठगी केन्द्रमा पुर्‍याइएको भन्दै दुई सय ७७ नेपालीलाई ओभरस्टेबापतको जरिवाना मिनाह गरी स्वदेश पठाइदिन नेपाली दूतावासले कम्बोडियन सरकारलाई पत्राचार गरेको छ । त्यसबाहेक थप एक सय जना नेपालीलाई पक्राउ गरी कम्बोडियन प्रशासनले सेल्टरमा राखेको छ । उनीहरूलाई बिहीबार कम्बोडियाको राजधानीस्थित एउटा ठगी केन्द्रबाट पक्राउ गरिएको थियो । 

कम्बोडिया मामिला हेर्ने थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार प्रहरीले छापा मारेर पक्राउ गरिएकाहरू दूतावासको सम्पर्कमा आएका छन् । दूतावासको सम्पर्कमा सिम्ली र नोम्टेनमा रहेका नेपाली छन् । ‘सिम्लीमा ठ्याक्कै कति छन् भन्ने पूरा विवरण अझै आएको छैन । हामीले को–को हुनुहुन्छ, सबैको लिस्ट पठाउनुस् भनेका छौं । एकपटक २१ जनाको सूची आयो । अर्को पटक १८ जनाको सूची आयो,’ दूतावासका उपप्रमुख मोतीबहादुर श्रीषले कान्तिपुरलाई भने, ‘६० जना जति नोम्टेनमा छन् ।’

दूतावासले पछिल्लो पटक छापा मारेर पक्राउ गरेको सन्दर्भमा कम्बोडियाका अधिकारीसँग सार्वजनिक बिदा भएकाले सम्पर्क भइनसकेको जनाएको छ । ‘हामीलाई औपचारिक रूपमा जानकारी आएको छैन । पक्राउ परेका नेपालीसँग सम्पर्क भइरहेको छ,’ श्रीषले भने । उनले प्रहरीबाट पक्राउ भएपछि स्वदेश पठाउन सहज हुने बताए । 

बिहीबार छापा मार्दा पक्राउ परेका एक नेपालीका अनुसार ६० भन्दा बढी नेपालीलाई एउटै क्याम्पभित्र राखिएको छ । ‘छापा मार्ने बेला गोली चलिरहेको थियो । हामी भागेनौं । हामीले आत्मसमर्पण गरेको हो । त्यसपछि सेल्टरमा ल्याएर राखेको हो । हामीलाई तुरुन्तै उद्धार गरिदिनुपर्‍यो,’ कान्तिपुरको सम्पर्कमा आएका एक नेपालीले फोनमा भने, ‘हामी निर्दोष छौं । सयौं नेपाली फसेका छन् । कैयौं नेपाली भागेका छन् ।’

उनीहरूलाई जबर्जस्ती रूपमा अनलाइन ठगी केन्द्रमा काममा लगाइएको थियो । उनीहरू नेपालीकै सम्पर्कमार्फत ठगी केन्द्रमा पुगेका थिए । ‘यहाँ काम गर्ने नेपालीले चाइनिजलाई भन्छन् । चाइनिजले मान्छे ल्याउन पैसा लिँदैन । उनीहरूलाई मान्छे चाहिरहेको हुन्छ । उनीहरूले सुरक्षा गार्ड, बडीगार्ड भनेर बोलाउँछन् । आठ लाख रुपैयाँ लाग्छ भनेपछि हामीले पैसा दिएको हो,’ दोस्रो पीडितले भने,‘यहाँ पर्यटन भिसामा ल्याउँछन् । यहाँ ल्याउने एउटा समूह हुन्छ । काममा लगाउने अर्को हुन्छ । काममा लगाउने कतिपय समूहको म्यानेजर त नेपाली नै हुन्छ । मैले काममा लगाएबापत १२ सय डलर दिएको हो । टिकट आफैंले किनेको हो । सेटिङ गरेको छुट्टै पैसा दिएको हो ।’

श्रमिक ल्याउने बेलामा उनीहरूले स्क्यामिङ ठगी केन्द्र नभन्ने गरेको पीडितहरूको दाबी छ । ‘यहाँ भोलि डर हुन्छ भनेर भन्दैनन् । प्रहरीले छापा मारेर पक्राउ पनि गर्न सक्छ, जेल हाल्न पनि सक्छ भनेर भन्दैनन् । तपार्इंको एक वर्षको भिसा लगाएर दिन्छौं भनेर लिएर गएको हो,’ दोस्रो पीडितले भने, ‘हामी त यसअघि पटक पटक छापामा परेका थियौं । छापा हानेको थाहा पाउनेबित्तिकै अर्को ठाउँमा लगिहाल्यो ।’

म्यान्मारपछि अनलाइन ठगी सञ्चालनका लागि दोस्रो ठूलो गन्तव्यका रूपमा कम्बोडियामाथि आरोप लाग्दै आएको छ । जुन २०२५ मा एमनेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको अनुसन्धानले कम्बोडियाका १६ सहरमा सञ्चालित ५३ वटा ठगी कम्पाउन्ड पहिचान गरेको थियो । प्रतिवेदनले ती स्थानमा मानव तस्करी, यातना, जबर्जस्ती तथा बाल श्रम, गैरकानुनी हिरासत र आधुनिक दासत्वजस्ता गम्भीर अपराध भइरहेको दस्ताबेजीकरण गरेको थियो । सरकारले समय–समयमा कारबाहीको घोषणा गरे पनि संकट समाधान गर्न ‘असफल’ भएको उल्लेख गर्दै एमनेस्टीले मानवअधिकार उल्लंघनप्रति ‘निष्क्रिय सहमति’ देखिएको संकेत गरेको थियो ।

कान्तिपुरकै सम्पर्कमा आएका तेस्रो पीडितले कम्पनीको कम्पान्डभित्र छिरेपछि बाहिर आउन नमिल्ने बताए । ‘भित्रको संसार नै अर्को रहेछ । हाम्रो राहदानी पनि उनीहरूको कब्जामा हुन्छ । भित्र गइसकेपछि बाहिर आउने चान्स नै हुँदैन,’ उनले भने, ‘गेटमा कम्बोडियाकै गार्ड हुन्छ । बिनाराहदानी बाहिर आउँदा प्रहरीले समात्यो भने धेरै पैसा लाग्छ । न बाहिर आउने अवस्था हुन्छ न त रहरले भित्र बस्ने अवस्था हुन्छ । घर जान्छुभन्दा पनि मेरो राहदानी दिएन । भित्र गएको दुई दिनमै मैले राहदानी दिनु भनेर मागेको थिएँ ।’ 

कान्तिपुरले ५ जनासँग गरेको कुराकानीका आधारमा ठगी केन्द्रमा सुरक्षा गार्डका रूपमा जाने नेपालीले ८ देखि १० लाख रुपैयाँसम्म तिरेर गएका छन् । ‘यो पैसा नेपालीले मिलेर खान्छन् । तलब भने ८ सयदेखि हजार डलर दिने गरेको छ । खाना भित्रै दिन्छ । यो जेल जस्तै हो,’ चौथो पीडितले भने, ‘हामी बन्धकको हैसियतमा काम गर्नुपर्ने अवस्था थियो । हामीलाई काम गर भिसा लाग्ने प्रक्रियामा छ भनेर झुक्याउने गरेको रहेछ । भिसा नै नलाग्ने रहेछ ।’

ती पीडितका अनुसार पहिला आउने नेपालीले जानकारी हुँदाहुँदै पनि पैसा कमाउन जानाजान अर्को नेपालीलाई तान्ने गरेका छन् । ‘उनीहरूले पैसा खान हामीलाई बलिको बोका बनाए । यहाँ आउन दुई लाख रुपैयाँ मात्रै लाग्छ । तर, हामीसँग आठ लाख रुपैयाँ लिए । उनीहरूले पैसा कम्बोडिया नै आइसकेपछि नगदमा लिन्छन् । बैंकमा हाल्न दिँदैनन्,’ उनले भने, ‘त्यसरी बोलाउने नेपाली पनि भित्रै काम गरिरहेका हुन्छन् ।’

पीडित नेपालीहरूका अनुसार कडा कारबाही नगरेसम्म यो सञ्जाल भत्किँदैन । ‘नेपालीले नै नल्याउने हो भने कोही पनि पुग्दैन,’ पाँचौं पीडितले भने,‘हामीलाई क्यासिनोको सुरक्षा गार्ड भनिएको थियो । म दुबईको सुरक्षा गार्ड जस्तो ठानेर आएँ ।’ पीडितका अनुसार आफूले काम गर्नेहरूको गतिविधिलाई निगरानी गर्न जिम्मा पाएको बताए । ‘यस्तो काम भन्ने थाहा भएको भए नेपालीहरू कोही पनि आउँदैनथे होला । स्क्यामिङ गर्नेहरू भाग्छन् कि भाग्दैनन् भनेर नियाल्ने हो’ ती पीडितले भने,‘भित्रको माफिया गर्नेलाई पनि व्यक्तिगत सुरक्षा दिनुपर्छ । भित्र पुरानोले मात्रै चाइनिज बोससँग कुरा गर्न पाउने हो । नयाँले केही कुरा गर्न नै पाइँदैन । उनीहरूको भाषा नै बुझ्दैनौं ।’

उनीहरू सबैलाई भारतीय विमानस्थलबाट लगिएको थियो । ‘भित्रको स्क्यामिङ सेन्टर निकै ठूलो छ । लगभग ६ बिघा जग्गामा फैलिएको पर्खालभित्र भवनहरू छन् । पर्खालमा तारहरू लगाइएको हुन्छ । भित्र छिरेपछि बाहिर आउने सम्भावना नै हुँदैन । हामीले भित्र कुनै गडबडी गरेको थाहा हुनेबित्तिकै ज्यानको नै असुरक्षा भइदिन्छ,’ अर्का पीडितले भने, ‘नेपालीले बाहिर आउने हिम्मत नै गर्दैनन् ।’ 

च्याटमार्फत ठगी गर्ने काममा संलग्न भएका एक नेपालीले चरणबद्ध रूपमा मान्छेलाई फसाउने गरेको बताए । ‘पहिलो चरणमा अनलाइनमै मित्रता गाँसिन्छ । हामीबीच आफूलाई मनपर्ने कुराहरू साटासाट गर्छौं । 

आफ्नो पृष्ठभूमि देखाएर विश्वास जित्छौं । त्यसपछि एक–अर्काको सम्पत्ति र आर्थिक अवस्था खुलासा गर्छौं,’ उनले भने, ‘हामीलाई काममा लगाउने माफियाहरूले सयौं नक्कली खाता बनाएका हुन्छन् । त्यसमा लगानी गर्न ग्राहकलाई आमन्त्रण गरिन्छ । जहाँ झूटा सफलताका कथा प्रस्तुत गर्छौं ।’

एकपटक लगानी गर्न प्रलोभनमा पारिएपछि चिनियाँ ‘मेन्टर’ हरूले उनीहरूलाई ठगी प्लाटफर्मतर्फ डोर्‍याउने गरेको उनले बताए । यो कार्यमा असफल भएमा कुटपिट गरिन्छ । एक नेपाली सुरक्षा गार्डले आफूहरूलाई बाध्य बनाएर कुटपिट गर्ने कार्यमा संलग्न गराउने गरिएको बताए । ‘स्क्यामिङमा पैसा मार्न नसक्नेलाई काम नगरेको भन्दै कुट्न लगाउँछन्’, उनले भने । नेपाली दूतावासका अनुसार हत्या र बन्धक गरेको अभियोगमा कम्बोडियाको जेलमा १५ नेपाली छन् । 

अमेरिकाको शान्ति संस्थानका अनुसार, कम्बोडियामा साइबर ठगीबाट वार्षिक १२ अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी हुने गरेको छ, जुन देशको औपचारिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को झन्डै आधा हो । तर हालै एएफपीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री हुन मानेटले देश यस उद्योगमा निर्भर रहेको दाबी अस्वीकार गरेका छन् । कम्बोडियाले चीन र अमेरिकाको बढ्दो दबाबपछि अनलाइन ठगीविरुद्ध अहिलेसम्मकै कडा कारबाही सुरु गरिरहेको जनाएको छ । देशभर रहेका ठगी केन्द्रहरूमा छापा मार्ने र बन्द गरिएका कम्पाउन्डबाट श्रमिकलाई बाहिर निकाल्न थालेको जनाएको छ । 

अनलाइन ठगी नियन्त्रण आयोग (सीसीओएस) का सचिवालय प्रमुख छाय सिनारिथका अनुसार जनवरी र फेब्रुअरीको सुरुवातसम्म ६ देशका १ लाख १० हजार ९५ विदेशीलाई देश निकाला गरिएको छ । साथै, सरकारी तथ्यांकअनुसार २ लाख १० हजार विदेशीले स्वैच्छिक रूपमा कम्बोडिया छाडेका छन् ।

कम्बोडियाको सरकारले करिब २०० ठगी कम्पाउन्ड बन्द गरेको र जुनयता १७२ जना मुख्य योजनाकार तथा सहयोगीलाई पक्राउ गरी सजाय दिइएको दाबी गरेको छ । सरकारले अप्रिलसम्म अनलाइन ठगी पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो ।

नेपाली दूतावासले ठगी केन्द्रमा फसेका नेपालीलाई उद्धार गर्न तथ्यांक संकलन भइरहेको जनाएको छ । ‘प्रहरीले नै पक्राउ गरिसकेपछि छिटो नेपाल पठाउन सकिन्छ होला । उनीहरूलाई राख्ने ठाउँ हुँदैन । टिकट व्यवस्था आफैं गर्नुपर्छ,’ उपप्रमुख श्रीषले भने, ‘हामीले गुगल फर्ममार्फत डेटा संकलन गरिरहेका छौं । धेरै जना भएमा दूतावास कम्बोडियामै जान तयारी गरिरहेको छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully