आयोगको अध्ययन टोलीले ६ चैतमै प्रतिवेदन बुझाए पनि हालसम्म भएन सार्वजनिक
What you should know
काठमाडौँ — २३ र २४ भदौको घटना अध्ययन गर्न गठन भएको टोलीले प्रतिवेदन बुझाए पनि राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गर्न ढिलाइ गरेको छ । आयोगको अध्ययन टोलीले ६ चैतमै प्रतिवेदन बुझाए पनि हालसम्म सार्वजनिक हुन सकेको छैन ।
प्रतिवेदनका विषयमा छलफल गर्न गत बुधबार बैठक बोलाइएको थियो । तर आयोग अध्यक्ष तपबहादुर मगरको स्वास्थ्यमा समस्या देखिएको भन्दै बैठक अनिश्चितकालका लागि सारिएको छ । जसले प्रतिवेदन सार्वजनिक नै नहुने आशंका बढेको छ ।
यसअघि १५ चैत २०८१ मा राजावादीले गरेको आन्दोलनको सम्बन्धमा आयोगले प्रतिवेदन तयार गरे पनि सार्वजनिक गरेको छैन । काठमाडौंको तीनकुनेमा भएको उक्त हिंसात्मक घटनाको छानबिनका लागि आयोगले मन्जु खतिवडाको संयोजकत्वमा समिति गठन गरेर प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदनजस्तै जेन–जी आन्दोलनको प्रतिवेदन पनि सार्वजनिक नहुने आशंका बढेको हो ।
जेन–जी आन्दोलनको छानबिनका लागि आयोगकी सदस्य लिली थापाको नेतृत्वमा २४ भदौमै अध्ययन समिति गठन भएको थियो । समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहसम्मको बयान लिएको थियो । आयोगले प्रतिवेदनका मुख्य अंशहरू पहिचान गर्न आयोगका दुई सदस्यको नेतृत्वमा समितिसमेत गठन गरेको थियो ।
अध्यक्ष बिरामी भएर बैठक रोकिएको हो, आयोगको बैठक बसेपछि प्रतिवेदनबारे निर्णय होला : मिहिर ठाकुर मानवअधिकार आयोग सदस्य आयोगले थप अध्ययन, संक्षिप्त प्रतिवेदन तयार पार्ने र सारांश निकाल्ने भन्दै आयोगका दुई सदस्य मिहिर ठाकुर र मनोज दुवाडीलाई जिम्मा दिएको थियो । आयोगमा एक सदस्य रिक्त छ भने हाल अध्यक्षका रूपमा तपबहादुर मगर, सदस्यका रूपमा मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापा छन् । दुई सदस्यले प्रतिवेदनको सारांशका रूपमा करिब २० पृष्ठको संक्षिप्त प्रतिवेदन तयार पारेका छन् । तर अध्यक्ष र सचिवले चासो लिएर बैठक बोलाउनेबारे दबाब नबढाएका कारण ढिलाइ भएको देखिन्छ ।
त्यस्तै २४ भदौका घटनाबारे आयोगले लेखेको टिप्पणीका कारण पनि सरकारका तर्फबाट प्रतिवेदन तत्काल सार्वजनिक नगर्न दबाब आएको आयोगका एक सदस्यको दाबी छ । तर आयोगका सचिव मुरारीप्रसाद खरेलले भने प्रतिवेदनको तयारीकै चरणमा भएकाले ढिलाइ भएको बताए । ‘अध्ययन गर्ने जिम्मेवारी पाएको समितिले प्रतिवेदन बुझाए पनि प्रतिवेदनको दोस्रो चरणकै काम चलिरहेको छ,’ उनले भने, ‘त्यसपछि आयोगको पदाधिकारी तहमा छलफल र निर्णय गर्ने हो । बैठक बस्ने कोसिस भइरहेको छ ।’
आयोग सदस्य ठाकुरले अध्यक्ष बिरामी भएर बैठक रोकिएको बताए । ‘यही १५ गतेदेखि नै बिरामी भएर आयोग आउनुभएको छैन । एक/दुई दिन उहाँलाई अझै पर्खनुपर्छ । अध्यक्ष नभई पदाधिकारी बैठक बस्न सक्दैन । त्यही कारण रोकिएको हो । हामीले पाएको जिम्मेवारीअनुसार तयार गरेका छौं । आयोग बैठक बसेपछि प्रतिवेदनबारे निर्णय होला,’ उनले भने ।
प्रतिवेदन लुकाउने वा गोप्य राख्ने दस्तावेज नभएकाले छिटोभन्दा छिटो निर्णय गरेर सार्वजनिक गर्नुपर्छ : लिली थापा, मानवअधिकार आयोग सदस्य तथा छानविन टोली संयोजक प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइबारे समितिकी संयोजक थापाले नै असन्तुष्टि जनाइन् । प्रतिवेदन लुकाउने वा गोप्य राख्ने दस्तावेज नभएकाले छिटोभन्दा छिटो निर्णय गरेर सार्वजनिक गर्नुपर्ने उनले बताइन् । ‘त्यो प्रतिवेदनमा कारबाहीका लागि सिफारिस गरिएका विषयहरू बाहिर ल्याउनुपर्छ, सरकारसमक्ष पेस गर्नुपर्छ,’ थापाले भनिन् ।
उनले आयोगले अब केही समयमा सार्वजनिक नगरे आफूले नै सार्वजनिक गरिदिने शुक्रबार आयोजित इन्सेकको कार्यक्रममा बताएकी छन् । थापा नेतृत्वको समितिले बुझाएको प्रतिवेदन करिब एक हजार पृष्ठको छ । आयोगका दुई सदस्यले त्यसलाई संक्षेप गरेर करिब २० पृष्ठमा झारिएकोप्रति पनि उनले असन्तुष्टि जनाइन् । ‘पूर्ण रूपमा प्रतिवेदन सार्वजनिक भएन भने म नोट अफ डिसेन्ट लेख्छु,’ उनले भनिन् ।
मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले आयोगले प्रतिवेदन किन लुकाइरहेको छ भन्नेमा आफू छक्क परेको टिप्पणी गरिन् । ‘प्रतिवेदन तयार नै भएर आउँछन् । कार्यादेश नै त्यही हुने हो,’ उनले भनिन्, ‘तर पनि किन प्रतिवेदन सार्वजनिक भएन भनेर छक्क परिरहेको छु । हामी हुँदा कुनै पनि प्रतिवेदन रोकेर राखिएको थिएन । मधेश आन्दोलनदेखि टीकापुर घटनासम्मका प्रतिवेदन सार्वजनिक गरेका थियौं ।’ उनले आयोगको प्रतिवेदनमाथि राजनीतीकरण गर्नु राम्रो नहुने भन्दै आयोगका पदाधिकारीहरूको कार्यादेश, जवाफदेहिता र जिम्मेवारी संविधानप्रति हुनुपर्ने बताइन् ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले प्रतिवेदन सार्वजनिक गर्नेबारे ढिलाइ भइरहेको स्वीकार गरे । उनले निरन्तर केही दिन बैठक बसेर यसलाई टुंग्याउनुपर्ने मत राखे । ‘यो आयोगको अभिलेखमा बस्ने र अन्तर्राष्ट्रिय रूपमा पर्खिएको प्रतिवेदन हो,’ उनले भने, ‘लामो समय रोकिनु हुँदैन । तीनकुने घटनाको प्रतिवेदन नआउँदा आशंका बढेको छ । यो राम्रो होइन ।’
के छ प्रतिवेदनमा ?
आयोगको प्रतिवेदनले २३ भदौमा दमन र मानवअधिकार हननको अध्ययन गरेको छ भने २४ भदौको घटना कसरी भयो र यसमा क–कसको भूमिका रह्योदेखि उनीहरूलाई कारबाहीसम्मको सिफारिस गरेको छ । २३ भदौको घटनामा आयोगले तीन भागमा कारबाही सिफारिस गरेको छ । प्रधानमन्त्रीको नेतृत्वमा रहने राष्ट्रिय सुरक्षा परिषद्, केन्द्रीय सुरक्षा समिति र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने संयन्त्रहरूको विषयमा कारबाही सिफारिस गरिएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय सुरक्षा परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने गर्छन् । परिषद्मा रक्षा मन्त्रालयका सचिव सदस्य–सचिव रहने गर्छन् । आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री ओली परिषद्का अध्यक्ष थिए । तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल तथा प्रधानसेनापति अशोक सिग्देल सदस्य थिए । तत्कालीन रक्षा सचिव रामेश्वर दंगाल सदस्य–सचिव थिए ।
त्यस्तै गृहमन्त्रीको अध्यक्षतामा हुने केन्द्रीय सुरक्षा समितिमा गृह सचिव, रक्षा सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य रहने गर्छन् । आन्दोलनका समयमा गृहमन्त्री लेखक, नेपाली सेनाका प्रमुख सिग्देलका अतिरिक्त रक्षा सचिव दंगाल, गृह सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा थिए ।
२३ भदौको जेन–जी आन्दोलनका क्रममा सरकारबाट अनावश्यक बल प्रयोग भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री ओलीसहित राष्ट्रिय सुरक्षा परिषद्का जिम्मेवार अधिकारीमाथि अनुसन्धान गरी कारबाही अघि बढाउन प्रतिवेदनमा उल्लेख छ । २४ भदौको विध्वंसमा संलग्नलाई पनि कारबाही गर्नुपर्ने समितिको निष्कर्ष छ । २४ भदौको तोडफोडमा संलग्नहरूमाथि अनुसन्धान गरी कारबाही हुनुपर्ने प्रतिवेदनको सुझाव छ ।
