आश्रय गुमेपछि हस्तबहादुरको गुनासो- ‘औषधि खाने पैसा पनि छैन, अब कहाँ लान्छन् ?’

प्यारालाइसिसबाट पीडित हस्तबहादुर कार्कीको टहरो भत्किएपछि परिवार अन्योलमा परेको छ ।

वैशाख १९, २०८३

प्रकृति दाहाल

Hasta Bahadur's complaint after losing shelter - 'I don't even have money to buy medicine, where will I get it now?'

काठमाडौँ — उमेरले ७० पुगे हस्तबहादुर कार्की । उनलाई १२ वर्षदेखि प्यारालाइसिस छ । एकपाटो शरीर चल्दैन ।

लठ्ठी टेक्दै श्रीमतीको हात समाउँदै बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित रंगशालामा सुकुमवासीको लगत संकलन गर्न पुगेका थिए । उनले तीन पुस्ता जग्गाजमिन नभएको विवरण टिपाए । 

२० वर्षदेखि उनी बल्खुस्थित सुकुमवासी बस्तीमा बसेर जीविकोपार्जन गर्दै थिए । संखुवासभाका उनी ४० वर्षअगााडि काठमाडौं आएका हुन् । काठमाडौंमा रंगरोगनको काम गर्दागर्दै साथीले भनिदियो, ‘बल्खुमा सुकुमवासी बस्ती बसाल्न लागेको छ । घर बनाउनु ।’

साथीले जे भने उनले त्यही गरे । बाँसले घर बनाएपछि ब्लक थपे । अहिले त्यही घरमा डोजर चलेको छ ।

'सामान बाटोमा छ, छोराछोरीले कुरेर बसेका छन्,' उनले भने ।

लगत संकलन गरेर कुनामा बसेकी उनकी श्रीमती सीता त्यही घर सम्झिरहेकी छन् । आँखाभरि आसु बनाउँदै उनले भनिन्, ‘बाबुनानी त्यहीँ हुर्किए, बढे । अहिले ठूला भए, अब त घर छैन त्यहाँ खाएको बसेको सबै सम्झिरहेको छु ।’

घर भत्किएपश्चात् परिवार कहाँ जाने, के गर्ने उनीहरुलाई चिन्ता छ ।

औषधि खाइरहनुपर्ने हस्तबहादुरले पैसाकै अभावले खान छोडे  । अब त घर पनि छोड्नुपरेको बताउदै उनले भने, ‘डाक्टरले औषधि सधैं खानुपर्छ भनेका थिए तर पैसा नभएर नखाएको ६ महिना भइसक्यो,' उनी भन्छन्, 'अब त घर पनि भत्कियो । कहाँ लान्छन्, के गर्छन्, त्यो पनि थाहा छैन ।’

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully