मधुवन–१ पत्थरबोझीमा ५९ सदस्य रहेको संयुक्त परिवार सहमतिमै छुट्टिएपछि नौ वटा परम्परागत काठ–खरका घर निर्माण भइरहेका छन् ।
What you should know
बर्दिया — अचेल सगोलमा बस्ने परिवार भेटाउनै मुस्किल पर्छ । परिवारका सदस्यबीच दसैंतिहार जस्ता चाडबाड र अन्य अवसरका बेला मात्र जमघट हुने चलन बढ्दो छ । यस्तो बेला यहाँको मधुवन–१ पत्थरबोझीमा एउटा परिवार छुट्टभिन्न हुँदा सानो बस्ती नै बनेको छ ।
लामो समयदेखि संयुक्त रुपमा रहेको एउटा परिवार सहमतिमै छुट्टभिन्न भएको हो । पहिले एउटै घरमा बसोबास रहेका उनीहरु अलग हुँदा नौ वटा नयाँ घर बनेका छन् । अहिले उनीहरुले मिलेर एक अर्काको घर निर्माण गरिरहेका छन् । परिवारमा ५९ सदस्य रहेका छन् ।
पत्थरबोझीको जंगल किनारमा एकनासका ९ वटा घर निर्माण भइरहेका छन् । काठ र खरका परम्परागत घर निर्माण भइरहेका छन् । सामूहिक रुपमा बराबर गतिमा काम हुँदैछ । लहरै एकनासका घर निर्माणले ‘नयाँ गाउँ’ बन्दै गरेको झझल्को दिएको छ ।
उक्त परिवारका कोही पनि सदस्य यतिबेला फुर्सदिला छैनन् । कोही टाँटी बाँधिरहेका छन्, कोही काठ बोकिरहेका देखिन्छन् । कोही माटोले टाँटी लिपिरहेका हुन्छन् । केहीको जिम्मा खाना पकाउने र खुवाउने रहेको छ । उनीहरुलाई आफन्तले पनि सघाइरहेका छन् ।
छुट्टभिन्न हुने क्रममा घरमा भएका सामान कसैलाई मर्का नपर्ने गरी बराबर बाँडिएको छ । प्रत्येक भाइले आफ्नो भागमा परेको काठ, दाउरालगायत सामान आ–आफ्नो घर अगाडि मिलाएर राखेका छन् । पारिवारिक सहिमतिमा भागबण्डा गर्दा सबै जना खुसी छन् । उनीहरुका बाजेका चार भाइका तीन सन्तान जन्मिएका थिए । ती तीन भाई बुवाबाट ९ छोरा जन्मिए । अहिले ९ भाइबीच भागबण्डा भएको परिवारका अगुवा महंगु चौधरीले बताए । उनका अनुसार अहिले ९ मध्ये दुई भाइ भुरीगाउँस्थित कर्मलामा बस्छन् । सात भाइको पत्थरबोझीमै बसोबास छ । यी ९ मध्ये माइला भाइका चार सन्तान छन् । चारमध्ये २ जनाको यहीँ घर बनिरहेको छ । बाँकी दुई ओराली बजारमा बस्छन् । ‘मेरा बुवा–आमा गत मंसिरमा बित्नुभयो,’ महंगुले भने,‘माइला बुवाआमा पहिल्यै बितिसक्नु भयो । अहिले कान्छा अंकल हुनुहुन्छ ।’
थारु समुदायले प्रत्येक वर्ष माघीमा एक वर्षसम्म सम्पन्न गर्ने कामको योजना बनाउँछन् । गएको माघीमा भएको निर्णय अनुसार परिवार छुट्टभिन्न भएको लालबहादुर चौधरीले बताए । उनी माइला बुवाका जेठा छोरा हुन् । ‘सहमतिमै चिन्ह लगाएर जग्गा–जमिन छुट्याएर घर निर्माण भइरहेको छ,’ उनले भने,‘अझै कानुनी रुपमा अंशबण्डा भएको छैन, भाइहरुबीच सहमति भएपछि के अड्डा अदालत धाउनु ।’
संयुक्त परिवार हुँदा कामको आलोपालो बाँडफाँड गरिन्थ्यो । त्यसैले सधैं एउटै काम भाग पर्दैनथ्यो । सबै जना मिलेर खेतीपातीको काम गरिन्थ्यो । ‘अलगअलग भएपछि आफ्नो काम आफै गर्नुपर्छ,’ उनले भने, ‘सगोलमा भन्दा अलि गाह्रो हुन्छ ।’ अझै पनि जसलाई कामको भार पर्छ, उसलाई सबैले सघाउने उनले बताए ।
सगोलमा हुँदा खाना पकाउने जिम्मेवारी पनि हेरफेर भइरहन्थ्यो । एक जनाको डेढ महिना खाना पकाउने पालो पर्ने गरेको जेठी बुहारी रामदुलारी चौधरीले बताइन् । ‘घर बनाउन आफन्तहरु सघाउन आउनुभएको छ,’ उनले भनिन्, ‘त्यसैले अहिले एक्लैले साँझ–बिहान ६५ जनालाई खाना पकाएर खुवाइरहेकी छु ।’
डेढ महिनादेखि भिनाजुको घर बनाउने काममा सघाइरहेको मधुवन–१ का छल्लुराम चौधरीले बताए । काम गरेवापत ज्याला नलिने उनले बताए । ‘परेको बेला आफन्तलाई सहयोग गर्ने हाम्रो परम्परा छ,’ उनले भने । सगोलमा हुँदा खाना खाने बेला मात्र एक ठाउँमा परिवारका सदस्य जम्मा हुन्थे । अन्य बेला सबै जना आ–आफ्नो काममा व्यस्त हुन्थे । उनीहरुको ८ बिघा आफ्नै खेत छ । थप १० बिघामा अधियाँ खेती गर्दै आएका छन्।
पहिला परिवारमा एक जना भान्से हुन्थे । बेगारी (श्रमदान) जान परे घरबाट एक जना जाने गर्थे । एक जना बस्तुभाउ चराउन जान्थे । ‘छुट्टिएपछि प्रत्येक घरबाट एक/एक जना गाउँ बेगारी जानु पर्छ,’ महंगुले भने ।
खाता जैविक मार्ग अन्तर्गत रहेको पत्थरबोझी बस्तीमा उनीहरुको बसोबास रहेकै ठाउँबाट वन्यजन्तुको ओहोरदोहोर हुने गरेको छ । जैविक मार्गले बर्दिया निकुञ्जलाई भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षसित जोड्ने गरेको छ । ‘पक्की घर बनाउने आर्थिक स्थिती छैन,’ महंगुले भने, ‘स्थानीय स्रोतसाधन प्रयोग गरी बनाएको घर हात्तीले पटक पटक भत्काएर हैरान पार्छ ।’
पहिला हात्तीले घर भत्काउँदा क्षतिपूर्ति मिल्दैनथ्यो । महुंगुका अनुसार तराई भू–परिधि तथा संरक्षण कार्यक्रमको आर्थिक सहयोगमा लघु घर बिमा कार्यक्रम संचालनमा आएपछि राहत मिलेको छ । ‘हात्तीले घर भत्काउँदा एक पटक १४ र एक पटक ७ हजार रुपैयाँ क्षतिपूर्ति पाएको छु,’ उनले भने ।
खाता जैविक मार्ग हुँदै ओहोरदोहोर गर्ने हात्तीले यस क्षेत्रका बासिन्दाका घर भत्काउने गरेकाले तराई भू–परिधि तथा संरक्षण कार्यक्रमको सहयोगमा तीन वर्षदेखि लघु घर बिमा कार्यक्रम सञ्चालनमा रहेको खाता सामुदायिक वन समन्वय समिति अध्यक्ष हरि गुरुङले बताए । ‘मधुवन–१ देखि ५ नम्बर वडा, राजापुर नगरपालिका–१० र ठाकुरबाबाका केही वडाका गरेर ४ हजार ६ सय ८४ घरधुरीको बिमा गरिएको छ,’ उनले भने, ‘आर्थिक वर्ष ०७९/०८० देखि अहिलेसम्म जंगली हात्ती र विपद् क्षति भएका ३० घरधुरीलाई ७ लाख ९४ हजार ८४ बराबर क्षति राहत उपलब्ध गराइसकेका छौं ।’ लघु घर बिमाका लागि प्रति घरधुरीले ९५ रुपैयाँ बुझाउनु पर्छ ।
