ट्रम्पका विशेष दूत गोर काठमाडौंमा, प्रधानमन्त्रीसँगको भेट अनिश्चित

अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग मात्रै भेटवार्ता तय।

वैशाख १८, २०८३

अनिल गिरी

Trump's special envoy Gore in Kathmandu, meeting with Prime Minister uncertain

काठमाडौँ — दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर बिहीबार साँझ काठमाडौं आइपुगेका छन् । भारतका लागि अमेरिकी राजदूतका रूपमा कार्यरत गोरले विगतमा ट्रम्पको निकट सहयोगीका रूपमा समेत काम गरिसकेका छन् । 

दक्षिण र मध्य एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरले नेपाल भ्रमण गरेर फर्किएको १० दिनभित्रै गोर काठमाडौं आएका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार गोरले शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्नेछन् ।

भ्रमण तालिकाअनुसार गोर नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमसँगै मौसम अनुकुल रहे सगरमाथा क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ । गोर शनिबार मध्यराति नयाँदिल्ली फर्किनेछन् ।

भ्रमण तालिकाअनुसार गोर नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमसँगै मौसम अनुकुल रहे सगरमाथा क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ । गोर शनिबार मध्यराति नयाँदिल्ली फर्किनेछन् ।राष्ट्रपति ट्रम्पका विशेष दूत भएकाले अमेरिकी पक्षले गोरलाई प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गराउन चाहेको छ । तर, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार गोरसँग भेट्ने निर्णय प्रधानमन्त्री शाहले गरिसकेका छैनन् । विगतमा नेपाल भ्रमणमा आउने अधिकांश विदेशी कूटनीतिज्ञले प्रधानमन्त्रीसहित शीर्ष राजनीतिक नेताहरूसँग भेट्ने गरेका थिए । 

२० अप्रिलमा तीनदिने नेपाल भ्रमणमा आएका सहायक विदेशमन्त्री कपुरसँग प्रधानमन्त्री शाहले भेटेका थिएनन् । ‘प्रधानमन्त्रीसँग भेटका लागि गोरका तर्फबाट धेरै अनुरोध आएका छन् । तर, भेट अझै निश्चित भएको छैन,’ प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले द काठमान्डू पोस्टसँग भनिन् । उनले प्रधानमन्त्री शाह सुशासनसम्बन्धी काममा व्यस्त रहेको बताइन् । परराष्ट्रमन्त्री र परराष्ट्र सचिवसँग गोरको भेट निश्चित भइसकेको उनको भनाइ छ ।

यसअघि गोर ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पका सहयोगी तथा ह्वाइट हाउस प्रेसिडेन्टल पर्सनल अफिस (पीपीओ) का निर्देशक थिए । उनी नेतृत्वको टोलीले संघ सरकारमा ठूलो संख्यामा कर्मचारी नियुक्त गरेको थियो । दक्षिण एसियाली देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग गोरले उच्चस्तरीय भेट गरिसकेका छन् । त्यहीकारण अमेरिकी पक्षले प्रधानमन्त्री शाहसँग भेटका लागि जोड दिइरहेको छ ।

तर, प्रधानमन्त्री शाहले विदेशी मुलुकबाट आउने मन्त्री वा त्यसभन्दा माथिल्ला अधिकारीहरूसँग मात्रै भेट गर्ने मानक स्थापित गर्न चाहेका छन् । प्रधानमन्त्री शाह कुनै पनि देशका राजदूत र कनिष्ठ अधिकारीसँग नभेट्ने अडानमा रहेको स्रोतको भनाइ छ । शाहले ८ अप्रिलमा राजदूतहरूलाई सामूहिक भेट दिएका थिए ।

राष्ट्रपति ट्रम्पका विशेष दूतको हैसियतमा गोरले बंगलादेशको अन्तरिम मन्त्रिपरिषद्का पूर्वमुख्य सल्लाहकार मोहम्मद युनुससँग पटक–पटक भेट गरिसकेका छन् । उनले मार्चको दोस्रो साता भुटान भ्रमण गर्दै त्यहाँका राजा जिग्मे खेसर नाम्ग्याल र प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेट गरेका थिए । मार्चको तेस्रो साता उनी श्रीलंका र माल्दिभ्स पुगेका थिए ।

श्रीलंकाका राष्ट्रपति अनुरकुमार दिसानायके र मालेमा विदेशमन्त्री अब्दुल्ला खलिल तथा रक्षामन्त्री मोहम्मद घासन मौमुनसँग भेटेका थिए । तर, पश्चिम एसियामा अमेरिका–इजरायल र इरानबीच जारी युद्धलाई कारण देखाएर माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुज्जुले गोरसँगको भेट स्थगित गरेका थिए ।

गोर पहिलो पटक काठमाडौं आए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वसँग यसअघि नै संवाद गरिसकेका छन् । २५ अप्रिलमा उनले रास्वपा सभापति रवि लामिछानेलाई फोनमार्फत निर्वाचनमा हासिल गरेको विजयका लागि बधाई दिएका थिए ।

काठमाडौंस्थित अमेरिकी दूतावासले २५ अप्रिलमा ‘एक्स’ मा गरेको पोस्टमा दुई देशबीचको आर्थिक सहकार्य सुदृढ गर्दै दुईपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउन नेपाल सरकारसँग काम गर्न उत्सुक रहेको उल्लेख थियो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले २५ अप्रिलमा ‘एक्स’ मा गरेको पोस्टमा दुई देशबीचको आर्थिक सहकार्य सुदृढ गर्दै दुईपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउन नेपाल सरकारसँग काम गर्न उत्सुक रहेको उल्लेख थियो ।परराष्ट्र मामिलासम्बन्धी जानकारहरूले प्रधानमन्त्री शाहले गोरसँग भेट गर्नुपर्ने वा नपर्ने विषयमा दुईखाले धारणा व्यक्त गरेका छन् । पूर्वराजदूत दिनेश भट्टराई गोरको भ्रमण अहिले अमेरिकी राष्ट्रपतिको दूतका रूपमा भएकाले उनले आग्रह गरेमा प्रधानमन्त्रीले भेट दिनुपर्ने बताउँछन् । ‘गोरको माध्यमबाट नेपालले आफ्नो परराष्ट्र नीतिका प्राथमिकता र उद्देश्य प्रस्तुत गर्ने अवसर प्राप्त गर्न सक्छ,’ उनले भने । 

तर, अमेरिकाका लागि नेपालका पूर्वराजदूत अर्जुन कार्की गोरको भ्रमणले नेपाल–अमेरिका सम्बन्धलाई केही गति दिए पनि प्रधानमन्त्रीसँग भेट नभएको विषयले ठूलो प्रभाव नपर्ने बताउँछन् ।

‘प्रधानमन्त्रीले कूटनीतिक मर्यादा कायम गर्न खोजेको देखिन्छ । अर्कोतर्फ भेटका लागि अनुरोध गरिएको थियो वा थिएन भन्ने महत्त्वपूर्ण हुन्छ । हरेक देशका आफ्नै कूटनीतिक शैली हुन सक्छन् । त्यसैले यसबाट अमेरिकासँगको हाम्रो संवादमा असर पार्दैन,’ उनले भने । 

समानस्तरका अधिकारीसँग भेट गर्न प्रधानमन्त्री शाहले अस्वीकार गरेका भए मात्र त्यो अस्वाभाविक हुने कार्कीको तर्क छ । ‘अमेरिकामा पनि यस्तैखाले अभ्यास छ,’ हाल एमाले सांसद रहेका कार्कीले भने, ‘कोही महत्त्वपूर्ण छ वा महत्त्वपूर्ण सन्देश बोकेर आएको छ भने त्यहाँ पनि राष्ट्रपतिले मर्यादाक्रमविपरीत पनि भेट्ने चलन छ ।’

नेपालकै लागि विशेषदूत नियुक्त गरिएको विषयमा फरक पर्ने भन्दै उनले भेट दिने, नदिने विषय प्रधानमन्त्रीकै अधिकार क्षेत्रभित्र पर्ने बताए ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully