'प्रधानमन्त्रीसँग भेटका लागि गोरको तर्फबाट धेरै अनुरोध आएका छन् । तर भेट अझै निश्चित भएको छैन,' प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनिन् ।
काठमाडौँ — दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर बिहीबार साँझ काठमाडौं आइपुगेका छन् । भारतका लागि अमेरिकी राजदूतको रूपमा समेत कार्यरत गोरले विगतमा ट्रम्पको निकट सहयोगीका रूपमा काम गरिसकेका छन् ।
दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूरले नेपाल भ्रमण गरेर फर्किएको १० दिनभित्रै गोर काठमाडौं आएका हुन् ।
प्राप्त जानकारीअनुसार कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमसँगै गोर सगरमाथा क्षेत्रमा भ्रमणमा जाने कार्यक्रम छ ।
विदेश मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार गोरले शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्नेछन् । गोर शनिबार मध्यरातमा नयाँ दिल्ली फर्किनेछन् ।
राष्ट्रपति ट्रम्पका विशेष दूत भएकाले अमेरिकी पक्षले गोरलाई प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गराउन चाहेको छ । तर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार गोरसँग भेट्ने निर्णय प्रधानमन्त्री शाहले गरिसकेका छैनन् ।
विगतमा नेपाल भ्रमणमा आउने अधिकांश विदेशी कूटनीतिज्ञले प्रधानमन्त्रीसहित शीर्ष राजनीतिक नेताहरूसँग भेट्ने गरेका थिए ।
२० अप्रिलमा तीन दिने नेपाल भ्रमणमा आएका सहायक विदेशमन्त्री कपूरतर्फबाट भेटको आग्रह हुँदा पनि प्रधानमन्त्री शाहले भेट गरेका थिएनन् ।
'प्रधानमन्त्रीसँग भेटका लागि गोरको तर्फबाट धेरै अनुरोध आएका छन् । तर भेट अझै निश्चित भएको छैन,' प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले द काठमाडौं पोस्टसँग भनिन् ।
उनले प्रधानमन्त्री शाह सुशासनसम्बन्धी काममा व्यस्त रहेको बताइन् ।परराष्ट्रमन्त्री र परराष्ट्र सचिवसँग गोरको भेट निश्चित भइसकेको उनले बताइन् ।
भ्रमणबारे जानकार अधिकारीहरुका अनुसार वासिङ्टनमा व्यवसाय र लगानीसम्बन्धी गोरको राम्रो सम्पर्क सञ्जाल छ ।
तर प्रधानमन्त्री बालेनले विदेशी मुलुकबाट आउने मन्त्री वा त्यसभन्दा माथिल्ला अधिकारीहरूसँग मात्रै भेट गर्ने मानक स्थापित गर्न चाहेका छन् ।
यसअघि गोर ह्वाइट हाउसमा राष्ट्रपतिका सहयोगी तथा ह्वाइट हाउस प्रेसिडेन्टल पर्सनल अफिस (पीपीओ) का निर्देशक थिए । उनी नेतृत्वको टोलीले संघ सरकारमा ठूलो संख्यामा कर्मचारी नियुक्त गरेको थियो ।
दक्षिण एसियाली देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग गोरले उच्चस्तरीय भेट गरिसकेका छन् । त्यहीकारण अमेरिकी पक्षले प्रधानमन्त्री शाहसँग भेटका लागि जोड दिइरहेको छ ।
तर, शाह कुनै पनि देशका राजदूत र कनिष्ठ अधिकारीसँग नभेट्ने आफ्नो अडानमा कायमै रहेको बताइन्छ । शाहले अप्रिल ८ मा राजदूतहरूलाई सामुहिक भेट दिएका थिए ।
राष्ट्रपति ट्रम्पका विशेष दूतको हैसियतमा गोरले बंगलादेशको अन्तरिम मन्त्रिपरिषद्का पूंर्व मुख्य सल्लाहकार मोहम्मद युनुससँग धेरैपटक भेट गरेका थिए । उनले मार्चको दोस्रो साता भूटान भ्रमण गर्दै त्यहाँका राजा जिग्मे खेसर नाम्ग्याल र प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेट गरेका थिए ।
मार्चको तेस्रो हप्तामा उनी श्रीलङ्का र माल्दिभ्स पुगे । श्रीलङ्काका राष्ट्रपति अनुर कुमार दिसानायके र मालेमा विदेशमन्त्री अब्दुल्ला खलील तथा रक्षा मन्त्री मोहम्मद घासन मौमुनसँग उनले भेटेका थिए ।
तर पश्चिम एसियामा अमेरिका- इजरायल र इरानबीच जारी युद्धलाई कारण देखाएर माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुज्जुले गोरसँगको भेट स्थगित गरे ।
गोर पहिलो पटक काठमाडौं आएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वसँग उनले यसअघि नै संवाद गरिसकेका छन् । २५ अप्रिलमा उनले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेर रास्वपाले निर्वाचनमा हासिल गरेको विजयका लागि बधाई दिएका थिए ।
काठमाडौंस्थित अमेरिकी दूतावासले २५ अप्रिलमा ‘एक्स’ मा गरेको पोस्टमा दुई देशबीचको आर्थिक सहकार्य सुदृढ गर्दै दुईपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउनका लागि नेपाल सरकारसँग काम गर्न उत्सुक रहेको उल्लेख थियो ।
