सामान्य अवस्था हुन्थ्यो भने उनी सोही मितिमा नै अस्पताल आइपुग्थिन् । तर उनको घरबास उठेपश्चात् अस्पतालमा आश्रय लिन आइपुगेकी हुन् ।
What you should know
काठमाडौँ — परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल क्याबीन नम्बर १० । बिहीबार दिउँसो एकसाथ ३ जना नर्स प्रवेश गर्छन् । ९ महिना गर्भवती महिलाको प्रेसर, ज्वरो नाप्छन् र भन्छन्, ‘अहिले कस्तो महसुस गरिरहनुभएको छ ?’ मुन्टो हल्लाउँदै ती महिला भन्छिन्, ‘ठीकै छ अहिले ।’ उनलाई चिकित्सकले आगामी जेठ पहिलो साता बच्चा जन्माउने मिति दिएका छन् । उनी गत मंगलबारदेखि चिकित्सकको विशेष निगरानीमा छन् । सामान्य अवस्था हुन्थ्यो भने उनी सोही मितिमा नै अस्पताल आइपुग्थिन् । तर उनको घरबास उठेपश्चात् अस्पतालमा आश्रय लिन आइपुगेकी हुन् ।
थापाथलीस्थित सुकुमवासी बस्तीबाट विस्थापित उनी रंगशाला, कीर्तिपुर होल्डिङ सेन्टर हुँदै अहिले अस्पताल आइपुगेकी हुन् । उनी अहिले क्याबीनमा सासुको साथमा उपचाररत छिन् । अस्पतालले उनलाई दुई छाक खान दिएको छ । कहाँ बस्ने, के खाने भन्ने उनको चिन्ता तत्कालका लागि हटेको छ । उनले भनिन्, ‘घर भत्किँदै जाँदा कहाँ जाने, के गर्ने, बच्चा कसरी जन्माउने धेरै डराएको थिएँ अहिले अस्पतालमा छु । अब डर छैन ।’ उनलाई खान बस्न र उपचार गर्न नि:शुल्क व्यवस्था गरिएको छ ।
अस्पतालमा आश्रय लिनुको पछाडि उनको आफ्नै बाध्यता छ । गत शनिबार थापाथली सुकुमवासी बस्तीमा बिहानैदेखि डोजर चल्न थाल्यो । डोजरको आवाज र घर उजाडिने डर सबैलाई थियो । त्यहीबीचमा ८ महिनाकी २२ वर्षीय गर्भवती उनको पेट दुख्न थाल्यो । पहिलो पटक आमा बन्न लागेकी उनी ‘पेट दुख्यो भन्दै थिइन्’ यता परिवार सामान सार्न व्यस्त थियो । उनलाई सम्हाल्ने त्यसबेला कोही भएन । दुखिरहेको पेट समाउँदै उनी महानगरपालिकाको गाडीमा चढिन् र रगंशाला पुगिन् । रंगशाला पुगेपछि सुकुमवासीहरुको स्क्रिनिङपछि उनको परिवार वास्तविक सुकुमवासी ठहरियो । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिन पुग्यो ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल अनुगमनमा पुगेपश्चात् उनलाई प्रसूति गृहमा राख्नका लागि सहजीकरण गरिदिएकी हुन् । उनी अहिले सासुको साथमा प्रसूति गृहमा आश्रित छिन् । बच्चा नजन्माउन्जेल उनी नि:शुल्क अस्पतालमा बस्ने छिन् ।
थापाथलीस्थित सुकुमवासी बस्तीमा उनको परिवार बसेको २० वर्ष भइसकेको थियो । उनको भने दुई वर्ष अगाडि मात्रै विवाह भएको हो । धादिङ स्थायी घर भएकी उनको सामाजिक सञ्जालबाट चिनजान भएर विवाह भएको हो । विवाहबारे उनले भनिन्, ‘फेसबुकबाट चिनजान भयो डेढ वर्ष कुराकानी गर्यौं अनि बिहे गरेको हो । भागेर विवाह भयो ।’
उनकी सासु २० वर्ष अगाडि उदयपुरबाट ३ छोराछोरी लिएर काठमाडौं आइपुगेकी थिइन् । श्रीमान्ले अर्कै विवाह गरेपश्चात् उनी बच्चा बोकेर आफन्तको सहारामा काठमाडौं आइपुगेकी हुन् । बासस्थान खोज्दै उनी सुकुमवासी बस्तीमा पुगिन् । ज्याला मजदुरी गर्दै ३ बच्चा हुर्काइन्, पढाइन्, लेखाइन् । दुई छोराछोरीले बिचैमा पढाई छोडे तर कान्छी छोरीले प्लस टु सम्म पढेकी छन् ।
बर्दिबासकी उनी उदयपुर विवाह गरेर पुगिन् । श्रीमान्को परिवारसँग जमिन केही थिएन । विवाहपश्चात् श्रीमान्सँग झापाको सुकुमवासी बस्तीमा बस्न पुगिन् । सुकुमवासी बस्तीमा बसेको स्मरण गर्दै उनले भनिन्, ‘विवाह गरेका श्रीमान्सँग केही थिएन, झापामा पनि सुकमवासी बस्तीमा बसेको हो । परिवारको सल्लाहमा नै थापाथली आएर बसेको हो । ’
सुकुमवासी बस्तीमा पनि उनको बसाई सहज थिएन । छोराछोरीको कमाइले ४ कोठाको घरमा बसेको परिवारमा डरत्रास सधैं हुन्थ्यो । सुकुमवासी बस्तीको त्रासबारे बताउँदै उनले भनिन् ‘हुकुमवासी भन्दै बदनाम भयो । म त वास्तविक सुकुमवासी हो नि ! सुन अरुले लगाए, हामी बदनाम भयौं ।’ त्यो बस्तीमा अनेक सास्ती भोग्नु परेको उनको अनुभव छ । कहिले डोजरले भत्काउँछौं भन्दै धम्की दिने, कहिले बाढी आएर बगाउँछ कि भनेर पिर लाग्ने गरेको उनले सुनाइन् ।
बुहारीसँग अस्पतालमा बसेकी उनका छोरा, २ छोरी, नाति भने होल्डिङ सेन्टरमै छन् । विस्थापित गरेको सरकारले राम्रो स्थानमा लगेर राख्ने विश्वास लागेको उनले बताए ।
