नयाँ बसपार्कको मितेरी पुल क्षेत्र पुगेकी कान्तिपुर संवाददाता आरती पौडेले त्यहाँको अवस्थाबारे भनिन्,‘सबै सामान ओसार्दै छन्। कतिपयले किनाराका पसलको छाना निकाल्दै छन्। सरकारसँग रिसाइरहेका जस्तो देखिन्छन्। उनीहरू बोल्न पनि मानिरहेका छैनन्।’
What you should know
काठमाडौँ — काठमाडौंका खोला किनारका बासिन्दाले आफैं घरटहरा खाली गर्न थालेका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुधबार जिल्लाका विभिन्न स्थानका खोला किनारमा बस्ने अव्यवस्थित बसोबासीहरूलाई ती क्षेत्र खाली गर्न सूचना जारी गरेपछि उनीहरू आफैं बस्ती छोड्न थालेका छन्।
कान्तिपुरका मल्टिमिडिया संवाददाता विशाल कार्कीका अनुसार बिहीबार बिहानैदेखि बल्खु र बन्सीघाट क्षेत्रका बासिन्दाले घरटहरा खाली गर्न थालेका छन्। बल्खुको जागरण मार्गदेखि कुलेश्वर माध्यमिक विद्यालय क्षेत्रसम्मका बसोबासीहरूले आफैं सामान उठाउन थालेका हुन्।
त्यहाँको अवस्थाबारे बताउँदै उनले भने, ‘यहाँका बासिन्दाहरू आफैं घर–टहरा हटाउने काम गरिरहेका छन्। उनीहरूको गुनासो सरकारले समय दिएन, कोठा पाइएन भन्ने छ। उनीहरूले सामान बाहिर राखेका छन्। पानी परेर सामान भिजेको छ।’
कान्तिपुर संवाददाता आरती पौडेलका अनुसार नयाँ बसपार्कको मितेरी पुल क्षेत्रबाट पनि सामान उठाउन थालिएको छ। त्यहाँको वस्तुस्थिति नियालिरहेकी उनले भनिन्, ‘सबै सामान ओसार्दै छन्। बच्चाहरू साइकलमा जाँदै छन् अनि कतिपयले किनाराका पसलको छाना निकाल्दै छन्। उनीहरू सरकारसँग रिसाइरहेका जस्तो देखिन्छन्। कतिपय चाहिँ त्यही क्षेत्रमा बनाउँदै गरेको घरसमेत छोडेर हिँडेका छन्। बोल्न पनि मानिरहेका छैनन्।’
कान्तिपुरका फोटो पत्रकार हेमन्त श्रेष्ठका अनुसार शंखमूल र बुद्धनगर क्षेत्रका बासिन्दाले पनि आफैं सामान उठाउन थालेका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंका अनुसार भोलिबाट बिहानदेखि विस्थापित हुने अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरूलाई कहाँ र कसरी राख्ने भन्नेबारे छलफल जारी छ।
कान्तिपुरका विकास आचार्यसँग उनले भने, ‘अहिलेसम्म स्थान टुंगो लागेको छैन। हामीकहाँ उहाँहरूलाई राख्ने प्रशस्त ठाउँ पनि छैन।’
सरकारले शुक्रबारदेखि करिब ६० स्थानमा डोजर चलाउँदै छ। करिब दुई हजार मानिस विस्थापित हुँदै छन्।
त्यस्तै बुढानीलकण्ठ नगरपालिका भित्रको कपनसहितका क्षेत्रमा रहेका सुकुमवासी र अव्यवस्थित बस्तीमा डोजर लगाउने तयारी भइरहेको छ।
