रोल्पा प्रहरीका अनुसार उक्त जिपमा तीर्थयात्रीहरू जलजलामा शुक्रबार पूर्णिमाका दिन पूजापाठ गर्न रुकुमबाट आउँदै थिए ।
काठमाडौँ — रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रुकुम पूर्वबाट जाँदै गरेको जिप थबाङ गाउँपालिका–१ जलजलामा भिरबाट खस्दा १७ जनाको मृत्यु भएको हो ।
थबाङ गाउँपालिका-१ र ४ नम्बर को सिमानामा पर्ने डाँडामा जिप दुर्घटनामा परेको हो । रोल्पा प्रहरीका अनुसार तीर्थयात्रीहरू जलजलामा शुक्रबार पूर्णिमाका दिन पूजापाठ गर्न रुकुमबाट आउँदै थिए । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार अहिले उद्धार कार्य जारी रहेको छ । अहिले उवा र थबाङ प्रहरी चौकीबाट प्रहरी टोली उद्धारका लागि खटिएको उनले कान्तिपुरलाई जानकारी दिए । उनले भने, 'फोन सम्पर्क हुन नसकेकाले घटनाको पूरा विवरण आउन बाँकी छ । जिपमा कति यात्रु सवार थिए भन्ने पनि खुलेको छैन ।'
पानी परेकाले पनि बाटो चिप्लो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
