युसिन–एआरटी जेभीसँग बुधबार सुरुङ सञ्चालन गर्ने गरी सम्झौता गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए। युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हुन्।
What you should know
काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि सेवाप्रदायकसँग सम्झौता भएको छ।
युसिन–एआरटी जेभीसँग बुधबार सुरुङ सञ्चालन गर्ने गरी सम्झौता गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए। युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हुन्।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क पनि तोकिसकिएको छ। आयोजनाका निर्देशक नेपालले सेवा प्रदायक कम्पनीले तालिम दिएर जनशक्ति तयार पार्नासाथ सुरुङ सञ्चालनमा समस्या नहुने बताए। जनशक्ति तयार पार्ने जिम्मेवारी छनोट भएको सेवाप्रदायक कम्पनीकै हो।
'सञ्चालन गर्ने जिम्मेवारी पाएको कम्पनीले सम्झौता भएको मितिले तीन महिनाभित्र सुरुङ सञ्चालन गर्नुपर्ने प्रावधान बनाइएको छ,' निर्देशक नेपालले भने, 'सम्झौता गरिएको कम्पनी केही समय आन्तरिक तयारी गरेर मात्र फिल्डमा परिचालित हुनेछ, त्यो बेलासम्म हामीले साइट उपलब्ध गराउनेछौं।'
सम्झौता भएसँगै अब सुरुङमार्गमा काम गर्ने १५० जना कर्मचारीलाई सञ्चालनसम्बन्धी तालिम दिइने छ। 'सुरुङ चौबीसै घण्टा सञ्चालन हुने भएकाले कर्मचारीलाई राम्रोसँग तालिम दिएर मात्र काममा लगाइनेछ, त्यसैले केही समय लाग्छ,' उनले भने।
तालिममा सडक विभागका कर्मचारी, आयोजनाका कर्मचारी, परामर्शदाता कम्पनीका विज्ञ समूह तथा निर्माण कम्पनीका प्राविधिक टोली सहभागी हुनेछन्। कर्मचारीलाई काठमाडौंको किसिपिडीस्थित फ्लाइओभरदेखि धादिङतर्फ निस्कने सुरुङसम्म सञ्चालनबारे अभ्यास गराइनेछ।
सम्झौता भएको मितिले तीन महिनाभित्र सेवा प्रदायक कम्पनीले जनशक्ति तालिम पूरा गर्नुपर्नेछ। तर यसबीचमा सुरुङको परीक्षण सञ्चालन गर्न सकिने उनको भनाइ छ। 'बर्खायाममा सुरुङ सञ्चालन गर्न सकिन्छ कि भन्ने छ, त्यसअनुसार तयारी गरिरहेका छौं,' उनले भने। धादिङतर्फको पहिरो व्यवस्थापन र टोल प्लाजा (शुल्क संकलन केन्द्र) निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
अहिले छनोट भएको सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन तथा सञ्चालन गर्नेछ। यस अवधिमा सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल संकलन तथा काठमाडौं र धादिङ जोड्ने २.८ किलोमिटर पहुँच सडकको रेखदेख गर्नुपर्नेछ।
सेवा प्रदायकले चौबीसै घण्टा सुरुङ सञ्चालन गर्नुपर्नेछ र संकलित टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ।
सुरुङ निर्माणको काम हालसम्म ९८ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ।
