खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने तयारी

परराष्ट्र मन्त्री शिशिर खनालले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको समेत सहमति लिइसकेका छन्

वैशाख १६, २०८३

अनिल गिरी

Preparations to appoint ambassadors through open competition

What you should know

काठमाडौँ — सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने भएको छ । पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्न लागिएको हो ।

यसअघि सन् २०१९ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाबाट नियुक्ति हुने राजदूतका लागि मापदण्ड तोकेको थियो । तर, त्यसपछिका सरकारहरूले उक्त मापदण्ड पटक–पटक उल्लंघन गर्दै आएका छन् ।

नेपालमा दुई प्रक्रियाबाट राजदूत नियुक्ति हुँदै आएको छ । पहिलो, परराष्ट्र मन्त्रालयमा कार्यरत ‘करियर डिप्लोम्याट’ मध्येबाट र दोस्रो सत्तारूढ दलले छानेका व्यक्तिहरूमध्येबाट । ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ ले कुल रिक्त राजदूत पदमा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्ति गर्ने व्यवस्था छ । तर, मन्त्रालयका अधिकारीहरूले यस पटक ‘करिअर डिप्लोम्याट’ बाट ५० प्रतिशतभन्दा बढी नियुक्ति गर्न माग गरेका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँगको भेटमा खुला प्रतिस्पर्धाबाट राजदूत पदपूर्ति गर्न छिट्टै विज्ञापन आह्वान गरिने संकेत गरेको अधिकारीहरूले बताए । यद्यपि, विज्ञापन कहिले खुल्छ भन्ने निश्चित नभएको उनीहरूको भनाइ छ ।

खनालले सोमबार मन्त्रालयका उच्च अधिकारीहरूसँगको छलफलमा केही राजदूत पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने घोषणा गरेका हुन् । तर, मन्त्री खनालले त्यसको विस्तृत योजना भने खुलाएनन् । मन्त्रालयका अधिकारीहरूका अनुसार परराष्ट्र सेवाबाट राजदूत चयन गर्न मन्त्री खनालले सहसचिवहरूमध्येबाट सम्भावित उम्मेदवारहरूको प्रारम्भिक सूचीमा गृहकार्य थालिसकेका छन् ।

ती अधिकारीहरूका अनुसार मन्त्री खनालले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको समेत सहमति लिइसकेका छन् । त्यस्तै परराष्ट्र सचिवका लागि भारत र चीनस्थित नेपाली नियोगमा काम गरेको अनुभव पूर्वसर्त रहने पनि मन्त्री खनालले उच्च अधिकारीहरूसँगको छलफलमा बताएका छन् ।

खुला प्रतिस्पर्धाका लागि गरिने विज्ञापनमा आकांक्षीहरूको उमेर, अनुभव र शैक्षिक योग्यताजस्ता विवरणहरू माग गरिनेछ । यसका साथै पुस्तक प्रकाशन, लेख र अनुसन्धान पत्रजस्ता अतिरिक्त योग्यताहरूका रूपमा लिइनेछ । परराष्ट्रका अधिकारीहरूका अनुसार विज्ञापन सम्भवतः अर्को हप्तासम्म हुनेछ ।

काठमान्डू पोस्ट (कान्तिपुरको सहप्रकाशन) ले सम्पर्क गरेका मन्त्रालयका तीन सहसचिवहरूका अनुसार राजदूत पदलाई पहिले ‘करिअर’ र राजनीतिक कोटामा बाँड्ने र त्यसपछि खुला प्रतिस्पर्धाबाट छानिएकाहरूलाई ‘राजनीतिक’ श्रेणीमा नियुक्ति दिने मन्त्री खनालको योजना छ ।

खनालले सोमबार मन्त्रालयका उच्च अधिकारीहरूसँगको छलफलमा केही राजदूत पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने घोषणा गरेका हुन् ।  खुला प्रतिस्पर्धाबाट राजदूत छनोट हुनु नयाँ कार्यको थालनी भए पनि त्यसले योग्य व्यक्ति नियुक्ति हुने ‘ग्यारेन्टी’ भने नगर्ने एक पूर्वकूटनीतिज्ञको भनाइ छ ।

परराष्ट्रका अधिकारीहरूका अनुसार सरकारले खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिमा पारदर्शिता सुनिश्चित गर्न चाहेको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघि जुन २०२४ मा एमाले र माओवादी केन्द्रसँगको गठबन्धन सरकारमा हुँदा आफ्ना भागमा परेको राजदूत ‘कोटा’ का लागि खुला विज्ञापन आह्वान गरेको थियो ।

धेरै मुलुकले राजदूत नियुक्तिमा ‘करिअर डिप्लोम्याट’ प्राथमिकता दिने गरेका छन् । त्यस्तै राजनीतिक नियुक्ति गर्ने प्रचलन पनि छ । त्यसरी राजनीतिक नियुक्तिबाट राजदूत चयन गर्दा राजनीतिक नेतृत्वका विश्वासपात्र, प्रतिष्ठित, सम्पर्क र भाषामा दक्खल भएकाले अवसर पाउने गरेका छन् ।

शाह नेतृत्वको सरकारले ७ अप्रिलमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्ति गरेका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । योसँगै भारत, चीन, अमेरिका र बेलायतसहित १७ वटा नियोगहरूमा राजदूत छैनन् ।

परराष्ट्रका अधिकारीहरूका अनुसार राजदूत नियुक्ति मन्त्रालयको बृहत् पुनःसंरचना, अहिले रिक्त राजदूत संख्या, दूतावासको संख्या घटाउनेसम्बन्धी जारी बहस र नयाँ दूतावास खोल्ने विषयसँग पनि सम्बन्धित छ ।

नेपालका ३४ वटा दूतावास र १० वटा महावाणिज्य दूतावास गरी ४४ वटा नियोग छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी खर्च घटाउन नियोगहरूको संख्या कटौती गर्न दबाब दिँदै आएका छन् । त्यसैले सरकारले दूतावास र महावाणिज्य दूतावासको संख्या घटाउने सम्भावना छ ।

आगामी साउन दोस्रो सातासम्म ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अस्ट्रिया, ओमान र इजिप्ट गरी थप ७ वटा दूतावास रिक्त हुनेछन् । यसले सरकारलाई एकै पटक २४ राजदूत नियुक्ति गर्ने अवसर मिल्नेछ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully