विमानस्थलका अनुसार साँझ ५ बजेर १८ मिनेटदेखि धावनमार्ग बन्द गरिएको थियो । तर मौसम सुधार भएसँगै ५:३५ फ्लाइ दुबईको जहाज दुबईका लागि उडान भरेको छ ।
काठमाडौँ — अत्यधिक कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ बन्द गरिएको छ । विमानस्थलका अनुसार साँझ ५ बजेर १८ मिनेटदेखि धावनमार्ग बन्द गरिएको थियो । मौसम सुधार भएसँगै ५:३५ फ्लाइ दुबईको जहाज दुबईका लागि उडान भरेको छ ।
भिजिबिलिटी करिब १ हजार मिटरमा झरेको थियो, जबकि सुरक्षित अवतरणका लागि कम्तीमा १ हजार ६ सय मिटर आवश्यक पर्छ ।
विमानस्थलका एक अधिकारीका अनुसार खराब मौसमका कारण उडान र अवतरण पूर्ण रूपमा रोकिएका थिए । 'धेरै उडान रद्द भएका छन्, यात्रुहरूको अत्यधिक भीड छ र टिकट रिफन्ड लिनेहरूको लाइन लागेको छ,' उनले बताए ।
यसैबीच, जापानको नारिताबाट आएको नेपाल वायुसेवा निगमको वाइडबडी विमानले अवतरणका क्रममा ओभरसुट गर्नुपरेको छ। खराब मौसमका कारण आन्तरिक उडानहरू पनि प्रभावित भएका छन्।
नेपालगन्जबाट काठमाडौं आउँदै गरेको श्री एयरलायन्सको ड्यास–८०० विमान धादिङको बेनीघाट माथि करिब ९,५०० फिट उचाइमा होल्डमा राखिएको छ। त्यस्तै, नेपालगन्जबाटै आएको बुद्ध एयरको एटीआर विमान वैकल्पिक मार्ग प्रयोग गर्दै कपिलवस्तु हुँदै भारत पसेर सिमराबाट काठमाडौं प्रवेश गरेको थियो। तर अवतरण सम्भव नभएपछि उक्त विमान दुम्जा क्षेत्रको आकाशमा करिब ११,५०० फिट उचाइमा होल्डमा रहेको छ।
