सगरमाथा आरोहणका लागि खुम्बु आइसफल हुँदै क्याम्प–१ र क्याम्प–२ सम्मको मुख्य आरोहण मार्ग सफलतापूर्वक स्थापना भएपछि अब सगरमाथाको शिखरसम्म डोरी टांग्ने कार्य अघि बढाइने भएको छ ।
What you should know
काठमाडौँ — सगरमाथा आरोहणका लागि खुम्बु आइसफल हुँदै क्याम्प–१ र क्याम्प–२ सम्मको मुख्य आरोहण मार्ग सफलतापूर्वक स्थापना भएपछि अब सगरमाथाको शिखरसम्म डोरी टांग्ने (रोप फिक्सिङ) कार्य अघि बढाइने भएको छ ।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने बुधबार साँझ दिएको जानकारी अनुसार सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी), एक्सपेडिसन अपरेटर एसोसिएसन (ईएओ), नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) तथा स्थानीय गाउँपालिकाको संयुक्त समन्वयमा यो मार्ग सुरक्षित रूपमा तयार गरिएको हो ।
खुम्बु आइसफल क्षेत्रमा रहेको ठूलो र अस्थिर हिमढुंगा (सेराक)को विस्तृत जोखिम मूल्यांकनपछि हटाइएपछि मार्ग खोल्ने कार्य सहज बनेको विभागले जनाएको छ ।
पर्यटन विभाग र एसपीसीसी बीच २०२६ जनवरी २० मा मार्ग निर्माणसम्बन्धी औपचारिक सम्झौता भएको थियो । त्यसपछि फेब्रुअरी महिनामा आवश्यक उपकरण तथा सामग्रीहरू बेस क्याम्पमा पुर्याइएको थियो । फेब्रुअरी २९ मा आइसफल डाक्टरहरूको टोली परिचालन गरिएको थियो ।
मार्च १६ मा पूजा समारोहपछि मार्ग खोल्ने काम औपचारिक रूपमा सुरु गरिएको थियो । तर, खुम्बु आइसफल क्षेत्रमा लगातारको खराब मौसम, तीव्र हावा र हिमपातका कारण विशेषगरी रकफल र आइसफल क्षेत्रको काम ढिलाइ हुन गएको विभागले आज विज्ञप्तिमार्फत जनाएको छ ।
‘अप्रिल २६–२७ मा एसपीसीसीका आइसफल डाक्टर र अपरेटर्स एसोसिएसनका अनुभवी शेर्पा टोलीले संयुक्त रूपमा बेस क्याम्पदेखि क्याम्प–१ सम्मको सबैभन्दा जोखिमपूर्ण खण्डमा डोरी फिक्स गर्दै सुरक्षित आवागमन सुनिश्चित गरेका थिए,’ विज्ञप्तिमा भनिएको छ । विभागले यसलाई यस सिजनको अत्यन्त महत्त्वपूर्ण उपलब्धि भनेको छ ।
बिहीबारदेखि अपरेटर्स एसोसिएसनका गाइडहरुले क्याम्प–२ देखि सगरमाथा शिखरसम्म डोरी फिक्स गर्ने कार्य सुरु गर्ने तयारी गरेको जनाइएको छ ।
‘आवश्यक जनशक्ति थप गर्दै र थप सामग्री परिचालन गर्दै सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गरी काम अघि बढाइने छ,’ विज्ञप्तिमा भनिएको छ ।
महानिर्देशक लामिछानेका अनुसार, पहिलो र दोस्रो क्याम्पसम्मको मार्ग सञ्चालनमा आएपछि आधार शिविरमा रहेका आरोहीहरू बुधबार बिहानदेखि अनुकूलनका लागि माथिल्लो क्याम्पतर्फ उक्लिन थालेका छन् ।
महानिर्देशक लामिछानेले एक्सपेडिसन अपरेटर एसोसिएसनका पदाधिकारीहरूसँग बुधबार पनि छलफल गर्दै सगरमाथामा डोरी टांग्ने जनशक्ति दोब्बर बनाउन, आरोहणका लागि आवश्यक गियर तथा सामग्री बढाउन निर्देशन दिएका छन् । विभागले यस सिजनमा नीतिगत सहजीकरण, अनलाइन अनुमति प्रणाली तथा फोहोरमैला व्यवस्थापन र धरौटीसम्बन्धी प्रक्रियामा समेत सहजीकरण गरेको जनाएको छ ।
बेस क्याम्पमा पर्यटन विभागले अस्थायी फिल्ड कार्यालय स्थापना गरी सिजनभर समन्वय र व्यवस्थापन कार्य सञ्चालन गरिरहेको छ । त्यहाँ ५ जना कर्मचारी खटाइएका छन् ।
सगरमाथा आरोहण प्रत्येक वर्ष वसन्त ऋतुमा सबैभन्दा बढी आकर्षण हुने गर्छ । यस वर्ष पनि ठूलो संख्यामा आरोहीहरू सगरमाथा क्षेत्रमा पुगेका छन् । विभागका अनुसार आइतबारसम्म ४२५ जनालाई सगरमाथा आरोहण अनुमति जारी गरिएको छ ।
हालसम्म सगरमाथासहित २९ हिमाल आरोहणका लागि ७६ देशका आरोही नेपाल आएका छन्, जसमा करिब २५० महिला आरोही रहेका छन् ।
पर्यटन विभागले सलामी दस्तुरबाट हालसम्म ९२ करोड रुपैयाँ संकलन गरेको छ, जुन हालसम्मकै उच्च रकम हो । सगरमाथासहित अन्य हिमालहरूको कुल सलामी दस्तुर भने १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ, जुन पनि कीर्तिमान स्तरको संकलन भएको विभागले जनाएको छ ।
