१५ दिनभित्र अतिक्रमित क्षेत्र छाड्न चितवन निकुञ्जको चेतावनी

कति छ निकुञ्जको अतिक्रमित क्षेत्र ? अतिक्रमणलाई मान्यता दिन निकुञ्जकै सिमाना हेरफेर

वैशाख १६, २०८३

रमेशकुमार पौडेल

Chitwan National Park warns to leave encroached areas within 15 days

What you should know

चितवन — अतिक्रमित क्षेत्र छाड्न चितवन राष्ट्रिय निकुञ्जले १५ दिने सूचना जारी गरेको छ । निकुञ्ज कार्यालयले मंगलबार जारी गरेको सूचनामा अटेर गरेर समयसीमाभित्र अतिक्रमित क्षेत्र नछाडे बिगो कायम भएमा बिगोको दोब्बर जरिवाना र एक वर्ष कैद गर्ने, बिगो कायम नभएको कसुरमा २० हजार रुपैयाँसम्म जरिवाना, ६ महिनासम्म कैद वा कैद र जरिवाना दुवै हुने उल्लेख छ । 

चितवन निकुञ्जमा अतिक्रमणको समस्या पहिल्यैदेखि रहँदै आएको छ । निकुञ्जको दक्षिणी भेगमा पर्ने अहिले हनुमानझुला भनिने पुरानो बस्ती बाँदरझुला पूरै बस्तीलाई निकुञ्जले अतिक्रमित क्षेत्र भन्दै आएको छ । २०४७ सालदेखि त्यहाँ विभिन्न जिल्लाबाट मान्छेहरू गएर बस्न थालेका हुन् । संकटकाल लागेको समय २०५८ सालको हिउँदमा त्यो बस्ती उठाइएको पनि थियो तर पछि फेरि बस्न थाले ।

‘सूचना निस्केको मैले सुनेको छु । निकुञ्जले हामीलाई अतिक्रमणकारीको बिल्ला लगाउँदै आएको छ । त्यसैले यस्ता सूचना हामीप्रति नै लक्षित हो जस्तो लाग्छ,’ बाँदरझुलाका बासिन्दा जागराम प्रजा चेपाङले भने । सूचनाका बारेमा थप कुरा बुझेर निकुञ्जले के गर्न लागेको हो त्यही अनुसार कार्यक्रम अगाडि बढाउन बिहीबार शुक्रबार स्थानीयहरूको भेला बस्न लागेको उनले बताए ।

Chitwan National Park warns to leave encroached areas within 15 daysउक्त ठाउँमा जागरामको परिवार २०५० सालमा आएको हो । मकवानपुर राक्सिराङ पुरानो थलो भएका उनले बाढी पहिरोले सबै बगाएपछि बस्ने ठाउँ खोज्दै बाँदरझुला आइपुगेको बताए । सदरमुकाम भरतपुरदेखि पश्चिम दक्षिणमा लगभग ७५ किलोमिटरपर यो बस्ती छ । पर्सा जिल्लाको ठोरीको आडमा रहेको यो बस्ती पुग्न माडीबाट पूर्व बगईको १८ किलोमिटर जंगल पार गर्नु पर्दछ ।बस्ती पुग्ने बाटो राम्रो छैन ।  बिजुली पनि पुगेको छैन । 

‘चुनावअघि मुख्य दलका सबै उम्मेदवार भोट माग्न आउनु भएको हो । रास्वपाकी सोविता गौतम पनि आउनु भएको थियो । उहाँ जितेर मन्त्री पनि हुनुभयो । बाटो र बिजुलीको पक्का प्रबन्ध गर्दछु भन्नु भएको थियो । हामी त्यसैको प्रतीक्षामा छौं,’ जागरामले भने । चुनावको वाचा सरकार बनाएपछि नबिर्सलान् भन्ने उनलाई आशा भने छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले निकुञ्जले प्रथामितका तोकेर अतिक्रमण खाली गराउने योजना बनाएको बताए । ‘पहिलो चरणमा हामी अस्थायी प्रकृतिका टहरा हटाउँछौं । त्यस्ता संरचनामा व्यपार व्यवसाय गरेका छन् तर बास बस्दैनन् भने त्यसलाई सुरूमै हटाउने योजना छ,’ प्रमुख पन्तले भने । 

दोस्रो चरणमा अन्यत्र जग्गा भएका तर निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अतिक्रमण गरेर संरचना बनाएर बसेकाहरूलाई हटाउने पन्तले बताए । ‘बाँदरझुला जस्ता ठूला र पुराना ठाउँमा के गर्ने भन्ने बारे अलि तयारी गर्नु छ । यस्ता दुई चारवटा बस्ती पनि छन् । उनीहरुलाई के गर्ने भन्ने निधो अहिल्यै भएको छैन । यो तेस्रो चरणमा पर्दछ,’ पन्तले भने । बाँदरझुलामा पाँचदेखि सवा सात सय घर रहेका छन् ।

‘हाम्रै खैरहनीको वडा नम्बर १३ मा पनि निकुञ्जको सूचनाले बासिन्दालाई के होला कसो होला भन्ने बनाएको छ । तर उहाँहरूलाई नआत्तिन म अनुरोध गर्दछु । यहाँको बसोबास पुरानो हो ।  २०४० सालदेखिको बसोबास हो,’ खैरहनी नगरपालिका–१३ का वडाध्यक्ष कुलप्रसाद भुषालले भने । उनले १३ नम्बर वडामा मात्रै यस्ता पाँच सय घरधुरी रहेको बताए । 

कति छ निकुञ्जको अतिक्रमित क्षेत्र ?

चितवन राष्ट्रिय निकुञ्जको आर्थिक वर्ष ०६९/७० को वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार निकुञ्जको १ हजार १६ हेक्टर जमिन अतिक्रमण भएको छ । निकुञ्जका हालका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले अहिले ११ सय हेक्टर जति जमिन अतिक्रमण भएको बताए । बाँदरझुलामा ४५१ हेक्टर जमिन अतिक्रमण भएको आर्थिक वर्ष ०६९/७० को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

मकवानपुर सुनाचुरी क्षेत्रको ११४ हेक्टर भूभाग अतिक्रमित भएको विवरण प्रतिवेदनमा छ । चितवनको अयोध्यापुरी, गर्दी, पटिहानी, मेघौली, गीतानगर, नवलपरासीको कुमारवर्ती, नारायणी, दिव्यपुरी, मुकुन्दपुर र पर्सा जिल्लाको ठोरी र निर्मलबस्तीमा निकुञ्ज अतिक्रमण भएको छ । आर्थिक वर्ष ०६९/७० को वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार यो ठाउँमा ४२१ हेक्टर जमिन यसरी अतिक्रमित भएको छ ।

अतिक्रमणलाई मान्यता दिन निकुञ्जकै सिमाना हेरफेर 

चितवन राष्ट्रिय निकुञ्जले चार जिल्ला चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पर्सा र मकवानपुर जिल्लालाई छोएको छ । यी जिल्लामा केही ठूला र स-साना क्षेत्रमा हुने गरेको अतिक्रमणको विवरण निकुञ्जको वार्षिक प्रतिवेदनमा उल्लेख हुने गर्दथ्यो । आर्थिक वर्ष ०६९/७० को वार्षिक प्रतिवेदनमा निकुञ्जको नवलपरासी गजग्राह पोस्ट क्षेत्रको १५ हेक्टर जमिन अतिक्रमणमा परेको उल्लेख छ ।

मुक्तिनाथ बाबाका नामले परिचित स्वामी कमल नयनाचार्यले सो क्षेत्रमा मन्दिर विद्यापीठलगायतका भव्य भौतिक संरचना बनाएका छन् । निकुञ्जबाट निस्कने आधिकारिक प्रकाशनमा सो क्षेत्र अतिक्रमित भएको र गजग्राह क्षेत्रको अतिक्रमणलाई ‘पहुँचवालाले संरक्षण’ दिएको उल्लेख हुन्थ्यो । आश्रमका एकजना सहायकलाई २०७२ सालमा चितवन निकुञ्ज प्रशासनले पक्राउ गरेको थियो ।

२०७३ सालको साउन ५ गते सम्पन्न मन्त्रिपरिषद् बैठकले चितवन निकुञ्जको सिमाना हेरफेर गरेर गजग्राह क्षेत्रलाई निकुञ्ज सीमाभन्दा बाहिर राखेको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले चितवन निकुञ्जबाट स्थानान्तरण भएको पदमपुर गाउँको २१ वर्गकिलोमिटर जमिनलाई निकुञ्ज क्षेत्रफलमा जोड्ने निर्णय गरेको थियो । 

साथै निकुञ्जको पश्चिमी भेग त्रिवेणीको गजग्राह क्षेत्रको ३७ हेक्टर जमिनलाई निकुञ्ज सिमानाभन्दा बाहिर मध्यवर्तीमा राखेर धार्मिक वन बनाउने निर्णय पनि भएको थियो । निकुञ्ज अतिक्रमणको अपगालबाट जोगाउन आश्रम क्षेत्रलाई यसरी निकुञ्जको सिमाना बाहिर पारिएको थियो त्यो बेला । स्थानीयले उपभोग गर्दै आएको अन्य क्षेत्र पटक पटक उठाउन खोजे पनि निकुञ्ज सफल भएको छैन । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully