श्रम काउन्सिलरले नेपाली दूतावास वा नियोग प्रमुखको प्रत्यक्ष निायन्त्रणमा रही अन्य कूटनीतिक कर्मचारीसरह काम गर्नेछ ।
काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (यूएई)का लागि श्रम काउन्सिलरमा उपसचिव वसन्तबहादुर बोहरालाई नियुक्त गरेको छ ।
श्रम मन्त्रालयका अनुसार ‘श्रम काउन्सिलर तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी मापदण्ड-२०८१’ बमोजिमको मूल्यांकन प्रक्रियाबाट काउन्सिलर पदमा नियुक्त गरेको हो । दीपेन्द्र पौडेललाई फिर्ता बोलाएपछि रिक्त रहेको पदमा बोहरालाई नियुक्त गरिएको हो ।
श्रम काउन्सिलरले नेपाली दूतावास वा नियोग प्रमुखको प्रत्यक्ष निायन्त्रणमा रही अन्य कूटनीतिक कर्मचारीसरह काम गर्नेछ । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको हित र सुरक्षाका लागि काम गर्न श्रम काउन्सिलर र श्रम सहचारीको व्यवस्था गरिएको छ ।
श्रम मन्त्रालयका अनुसार हाल यूएई, कतार, साउदी अरब, बहराइन, ओमान, मलेसिया र दक्षिण कोरियामा श्रम काउन्सिलर र श्रम सहचारी पठाउँदै आएको छ । ऐनमा सरकारले वैदेशिक रोजगारमा पाँच हजार वा सोभन्दा बढी श्रमिक पठाइएका मुलुकमा कम्तीमा राजपत्रांकित अधिकृतलाई श्रम सहचारी नियुक्त गर्ने व्यवस्था गरेको छ ।
