नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने कार्यक्रमहरूले यी शिखरहरूको ऐतिहासिक महत्त्वलाई उजागर गर्नुका साथै नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको बुधबार बोर्डमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।
What you should know
काठमाडौँ — विश्व पर्वतारोहण इतिहासका दुई महत्त्वपूर्ण हिमाल मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपालले सन् २०२६ भरि विशेष कार्यक्रमसहित ‘प्लाटिनम जुब्ली’ मनाउने भएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा हुने कार्यक्रमहरूले यी शिखरहरूको ऐतिहासिक महत्त्वलाई उजागर गर्नुका साथै नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको बुधबार बोर्डमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।
मनास्लु, जसको उचाइ ८,१६३ मिटर छ, विश्वको आठौं अग्लो हिमाल हो । ‘मनास्लु’ शब्द संस्कृतको ‘मनस’ बाट आएको हो, जसको अर्थ आत्मा वा चेतना हुन्छ । गोरखा जिल्लामा अवस्थित यो हिमाल पहिलो पटक सन् १९५६ मे ९ मा जापानी अभियान टोलीका तोशियो इमानिशी र नेपाली शेर्पा ग्याल्जेन नोर्बुले सफलतापूर्वक आरोहण गरेका थिए । लामो समयसम्म असफल प्रयासपछि सफल भएको यो आरोहण जापानसँग विशेष रूपमा जोडिएको मानिन्छ ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लु हिमालको ऐतिहासिक महत्त्व उल्लेख गर्दै हालसम्म ३ हजारभन्दा बढी आरोहीहरूले उक्त शिखर आरोहण गरिसकेको बताए । ‘पहिलो आरोहीहरूको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ, जसलाई मनास्लु डेका अवसरमा अनावरण गरिनेछ,’ अध्यक्ष लामाले भने, ‘चुम उपत्यका र आसपासका हिमाली क्षेत्रको सांस्कृतिक समृद्धिलाई पनि यस कार्यक्रममा समेटिनेछ ।’
यस्तै, ८,५१६ मिटर उचाइ रहेको ल्होत्से विश्वको चौंथो अग्लो हिमाल हो, जुन सगरमाथाको नजिकै खुम्बु क्षेत्रमा अवस्थित छ । ‘ल्होत्से’ को अर्थ तिब्बती भाषामा ‘दक्षिण शिखर’ हो । यो हिमाल पहिलो पटक सन् १९५६ मे १८ मा स्विस पर्वतारोही अर्न्स्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले आरोहण गरेका थिए ।
सगरमाथासँग नजिकको सम्बन्ध रहेको ल्होत्से पर्वतारोहणका दृष्टिले अत्यन्त चुनौतीपूर्ण मानिन्छ, विशेषगरी यसको दक्षिणी भित्तो विश्वकै कठिन मार्गहरूमध्ये एक हो ।
नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमार्फत् जुब्ली वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ । कार्यक्रममा स्विस र जापानी कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसले यी आरोहणले नेपाल, जापान र स्विट्जरल्यान्डबीच ऐतिहासिक सम्बन्ध स्थापित गरेको स्मरण गराएको छ ।
कार्यक्रमअन्तर्गत पहिलो आरोहीहरूको सम्मानमा प्रतिमा निर्माण गरी अनावरण गरिनेछ भने अग्रज पर्वतारोही र उनीहरूको परिवारलाई विशेष सम्मान गरिनेछ । मनास्लु क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिका र ल्होत्से क्षेत्रको खुम्बु क्षेत्रमा केन्द्रित भएर सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनका गतिविधिहरू सञ्चालन गरिनेछन् ।
यसै अवसरमा अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा मनास्लुको थ्रीडी मोडेल पनि सार्वजनिक गरिनेछ । साथै, चुम उपत्यकाको मौलिक संस्कृति, परम्परा र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन् ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्जे शेर्पाले प्लाटिनम जुब्लीलाई नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए । ‘मनास्लु र ल्होत्सेको पहिलो आरोहणले नेपाल, जापान र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो,’ उनले भने, ‘यही आधारमा अन्तर्राष्ट्रिय सहकार्य र सद्भाव विस्तार भएको हो ।’
आयोजकहरुका अनुसार यो जुब्ली केवल उत्सव मात्र नभई पर्वतारोहण इतिहास निर्माण गर्ने अग्रजहरूप्रति सम्मान प्रकट गर्ने अवसर पनि हो ।
साहसिक पर्यटनसँगै सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्दै नेपाललाई विश्व पर्वतारोहण गन्तव्यका रूपमा अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
