दुई महिनापछि कतार र साउदीमा नेपालबाट पनि उडान पुनः सुरु

अमेरिका र इजरायलले १६ फागुनमा इरानमा संयुक्त हमला गरेपछि काठमाडौंबाट खाडीका विभिन्न गन्तव्यहरूमा हुँदै आएका र त्यहाँबाट काठमाडौं आउने सबै उडान रोकिएका थिए ।

वैशाख १५, २०८३

सुरज कुँवर

Flights from Nepal to Qatar and Saudi Arabia resume after two months

काठमाडौँ — खाडी युद्धका कारण रोकिएका काठमाडौं–दोहा र काठमाडौं–दमाम उडान पुनः सुरु भएका छन् । यसले नेपाली वायुसेवाहरू हिमालय एयरलाइन्स र नेपाल वायुसेवा निगमलाई उडान गर्न बाटो खुलेको छ ।

अमेरिका र इजरायलले १६ फागुन २०८२ मा इरानमा संयुक्त हमला गरेपछि यूएईको दुबई र शारजाह, कतारको दोहा, साउदी अरबको दमाम र रियाद तथा कुवेतका लागि नेपालबाट हुने तथा त्यहाँबाट नेपाल आउने सबै उडान रोकिएका थिए । नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठका अनुसार मध्यफागुनदेखि रोकिएको काठमाडौं–दोहा–काठमाडौं उडान मंगलबारदेखि पुनः सुरु भएको छ । निगमले चैत १८ देखि नै दमाम उडान खुला गरेको थियो ।

यसैबीच हिमालय एयरलाइन्सले पनि सोमबार रातिदेखि दोहा उडान थालेको छ । हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–दोहा सातामा चार उडान गर्ने बताए । उनका अनुसार, इरानमा हमला हुनुअघि हिमालयले दैनिक काठमाडौं–दोहा–काठमाडौं उडान गर्दै आइरहेको थियो । साउदी अरबको दमामका लागि भने २९ वैशाखबाट सातामा चारवटा उडान गर्ने श्रेष्ठले जानकारी दिए । दुवै वायुसेवाका अनुसार, अहिले अमेरिका–इजरायल र इरानबीच युद्धविराम भएकाले नियमित उडान गर्न अतिरिक्त बिमा गर्नुपर्दैन ।

दोहा र दमाम उडान सुरु भएसँगै निगमका खाडी क्षेत्रका सबै उडान पुनः नियमित भएका छन् । हिमालयको काठमाडौं–कुवेत, काठमाडौं–रियाद उडान भने अझै अनिश्चित छ । खाडी युद्धअघि हिमालयले ती गन्तव्यमा दैनिक एक उडान गर्दै आएको थियो ।

इरान युद्धपछि विकसित परिस्थितिका कारण हवाई इन्धनको मूल्यवृद्धि हुँदा खाडी मुलुक हुँदै तेस्रो मुलुक जाने उडान कटौती भएका थिए । अन्य गन्तव्यमा हवाई टिकट मूल्यमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । खाडीका गन्तव्य बन्द भएपछि निगमले भारतको बैङलुरुमा हुने उडानलाई सातामा दुईबाट तीन, बैंककमा साताको दुई उडानलाई तीन, भारतको दिल्लीमा हुने दैनिक उडानलाई सातामा १० र जापानको नारिताका लागि सातामा तीन उडान हुँदै आएकोमा त्यसलाई चार पुर्‍याएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

कतारको ध्वजावाहक कतार एयरवेजले भने १ चैतदेखि नै काठमाडौं उडान आंशिक खुला गरेको थियो । कतारले अहिले दैनिक दोहा–काठमाडौं चारवटा उडान गर्दै आइरहेको छ । त्यस्तै फ्लाई दुबईले पनि २६ फागुनदेखि नै नेपाल उडान पुनः सुरु गरेको थियो ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully