सगरमाथा आधार शिविरमा अस्थायी पर्यटन कार्यालय खुल्यो

नेपालले वसन्तकालीन पर्वतारोहणबाट १ अर्ब ४ करोड १९ लाख भन्दा बढी रोयल्टी शुल्क संकलन गरेको पर्यटन विभागले जनाएको छ ।

वैशाख १४, २०८३

सुरज कुँवर

Temporary tourism office opens at Everest base camp

What you should know

काठमाडौँ — वसन्तकालीन हिमाल आरोहण सिजनको सुरुवातसँगै पर्यटन विभागले सगरमाथा आधार शिविरमा अस्थायी फिल्ड कार्यालय स्थापना गरेको छ ।

यस पहलले खुम्बु क्षेत्रमा सुरक्षित, दिगो र जिम्मेवार पर्वतारोहण गतिविधिहरूलाई प्रभावकारी रूपमा अनुगमन तथा सहजीकरण गर्ने लक्ष्य राखेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले बताए ।

यो अस्थायी कार्यालयले आरोही, अभियान आयोजक तथा सहयोगी टोलीहरूका लागि समन्वय केन्द्रको रूपमा काम गर्नेछ । विभागका अनुसार यसले पर्वतारोहणसम्बन्धी नियमहरूको पालना सुनिश्चित गर्नुका साथै वातावरणीय व्यवस्थापन र व्यस्त आरोहण सिजनमा स्थलमै सञ्चार सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

सगरमाथा क्षेत्रमा बढ्दो भीड, फोहोर व्यवस्थापन र सुरक्षा चुनौतीहरूलाई ध्यानमा राख्दै यो कदम चालिएको पर्यटन विभागका अधिकारीहरूले बताएका छन् । 

आधार शिविरमै प्रत्यक्ष उपस्थितिले वास्तविक समयमा निर्णय लिन र आपतकालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा विभागले गरेको छ ।

अस्थायी कार्यालयको जिम्मा नेपाल सरकारका उपसचिव खिमलाल गौतमलाई दिइएको छ । नापी विभागमा कार्यरत तथा सगरमाथा आरोहीसमेत रहेका गौतमले आधार शिविरमै बसेर सम्पूर्ण गतिविधिको संयोजन गर्ने छन् ।

‘सगरमाथा क्षेत्रमा हाम्रो उपस्थितिले पर्वतारोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउने मात्र होइन, हिमाली वातावरणको संरक्षणमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी जिम्मेवार पर्यटन प्रवर्द्धन गर्न प्रतिबद्ध छौं,’ पर्यटन विभागका निर्देशक गौतमले भने । 

यसैबीच नेपालले २०२६ को वसन्त ऋतुको पर्वतारोहण सिजनमा अन्तर्राष्ट्रिय पर्वतारोहण सहभागिता र रोयल्टी आम्दानी दुवैमा उल्लेखनीय वृद्धि भएको जनाएको  छ । यसले उच्च जोखिम र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि हिमालयप्रतिको विश्वव्यापी आकर्षण अझै बलियो रहेको देखाएको छ।

पर्यटन विभागले फागुन १७ देखि वैशाख १० सम्मको तथ्यांक सार्वजनिक गर्दै जनाए अनुसार नेपालका विभिन्न ३० वटा हिमालहरूमा नेपालसहित ७५ मुलुकका ९ सय ४४ जनाले अनुमति लिएका छन् । यीमध्ये ७ सय १ पुरुष र २ सय ४३ महिला रहेका छन्  । यी सबै १ सय ११ वटा आरोहण टोलीमा आबद्ध भई हिमाल आरोहणमा गएका छन् ।

देश अनुसार आरोहीको सहभागितामा सबैभन्दा अगाडि चीन देखिन्छ । जहाँबाट १ सय २७  जना पर्वतारोही सहभागी छन् । त्यसपछि संयुक्त राज्य अमेरिका (१००), संयुक्त राज्य बेलायत (६४), रुस (६०) र भारत (७१) रहेका छन् । जर्मनी, फ्रान्स, पोल्यान्ड, स्विट्जरल्याण्ड र इटाली जस्ता युरोपेली देशहरूबाट पनि राम्रो सहभागिता देखिएको छ । साथै जापान, दक्षिण कोरिया, नेपाल र भियतनाम जस्ता एसियाली देशहरूको सहभागिता भने स्थिर रहेको तथ्यांकमा देखिन्छ ।

निर्देशक गैतमका अनुसार पछिल्ला वर्षहरूमा देखिएको अस्थिर विश्व यात्रा प्रवृत्तिपछि नेपालको साहसिक पर्यटन क्षेत्र पुनः सुधार र विस्तारतर्फ उन्मुख भएको यो तथ्यांकले देखाउँछ । यसैबीच यस वर्ष संकलन भएको सलामी दस्तुर पनि हालसम्मकै सबैभन्दा बढी संकलन भएको उनले बताए ।

राजस्व र आरोहण अनुमतिसम्बन्धी विश्लेषण अनुसार, नेपालको सर्वोच्च शिखर सगरमाथा सबैभन्दा ठूलो योगदानकर्ता रह्यो । यसले मात्र ४१० जना आरोहीलाई ४१ वटा टोलीमार्फत आकर्षित गर्दै करिब ८९ करोड ९ लाख रोयल्टी राजस्व संकलन गरीसकेको छ । जुन यस सिजनको कुल आम्दानीको ठूलो हिस्सा हो ।

अन्य प्रमुख हिमालहरू अन्तर्गत लोहोत्से (८,५१६ मिटर) ले करिब ३ करोड ८९ लाख, मकालु २ करोड ४० लाख तथा धौलागिरीबाट १ करोड ३५ लाख संकलन भइसकेको छ । अन्नपूर्ण, आमादब्लम र नुप्सेसहित समग्रमा यस सिजनमा नेपालले पर्वतारोहण क्षेत्रबाट १ अर्ब ४ करोड १९ लाख भन्दा बढी रोयल्टी शुल्क संकलन गरेको विभागले जनाएको छ । यसले उच्च हिमाली पर्यटन नेपालको अर्थतन्त्रका लागि अझै महत्त्वपूर्ण रहेको देखाउँछ ।

पर्यटन विभागका निर्देशक गौतमले यस सिजनको नतिजाले विश्वव्यापी चासो बढ्दै गएको र अभियान व्यवस्थापन अझ सुधारिएको देखाएको बताए ।

‘यस सिजनले नेपाललाई विश्वको प्रमुख उच्च हिमाली आरोहण गन्तव्यका रूपमा अझ बलियो बनाएको छ,’ गौतमले भने। ‘हामीले केवल सगरमाथा मात्र होइन, प्राविधिक रूपमा चुनौतीपूर्ण अन्य हिमालहरूमा पनि आरोहण विस्तार भइरहेको देखिरहेका छौँ । साथै हामी सुरक्षा, वातावरणीय दिगोपन र सन्तुलित पर्यटन विकासमा केन्द्रित छौँ ।’

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully