विमानस्थलका सहायक प्रवक्ता तथा प्रमुख एयर ट्राफिक कन्ट्रोलर देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार काठमाडौं प्रवेश गर्ने हवाई मार्गमा भिजिबिलिटी कमजोर भएकाले तीन अन्तर्राष्ट्रियसहित केही आन्तरिक उडान पनि डाइभर्ट गर्नुपरेको हो।
What you should know
काठमाडौँ — खराब मौसम र कमजोर भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गर्न नसकेपछि आइतबार बिहान तीन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्।
यसले झण्डै ६ सय यात्रु प्रभावित भएका छन् भने विमानस्थलभित्र अत्यधिक भीडभाड देखिएको छ।
इस्तानबुलबाट काठमाडौं आउँदै गरेको टर्किस एयरलायन्सको वाइडबडी विमान भारतको दिल्ली मोडिएको छ। त्यसैगरी, छेन्दुबाट आएको एयर चाइनाको विमान ल्हासा फर्किएको छ भने सिच्आन एयरलायन्सको न्यारोबडी जहाज पनि छेन्दु नै फिर्ता भएको छ।
यी उडानमार्फत विभिन्न गन्तव्यमा जान लागेका यात्रुहरू चेक–इन प्रक्रिया पूरा गरी स्टेराइल हलतर्फ प्रवेश गर्ने क्रममा थिए। तर उडान प्रभावित भएपछि विमानस्थलभित्र यात्रुको भीड उल्लेख्य रूपमा बढेको एक वायुसेवाका कर्मचारीले बताए।
विमानस्थलका सहायक प्रवक्ता तथा प्रमुख एयर ट्राफिक कन्ट्रोलर देवेन्द्रप्रसाद श्रेष्ठ का अनुसार काठमाडौं प्रवेश गर्ने हवाई मार्गमा भिजिबिलिटी कमजोर भएकाले तीन अन्तर्राष्ट्रियसहित केही आन्तरिक उडान पनि डाइभर्ट गर्नुपरेको हो। ' आइतबार बिहान ७ बजेपछि मौसम खराब बन्दै गएको थियो, जसका कारण भिजिबिलिटी करिब १६ सय मिटरमा झरेको थियो,' उनले भने।
काठमाडौं विमानस्थलमा खराब मौसममा अवतरणका लागि दुई प्रमुख प्रणाली प्रयोग गरिन्छ-भीओर/डीएमई र स्याटेलाइटमा आधारित आरएनपी–एआर। श्रेष्ठका अनुसार भीओर/डीएमई एप्रोचका लागि कम्तीमा १६ सय मिटर र आरएनपी–एआरका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ।
यसबीच, साढे ११ बजेपछि भिजिबिलिटी सुधारिँदै करिब २५ सय मिटर पुगेको छ र मौसम क्रमशः अनुकूल बन्दै गएको विमानस्थल ले जनाएको छ।
विमानस्थलका अनुसार उडान प्रभावित भए पनि टेकअफ भने सामान्य रूपमा भइरहेको छ। हाल काठमाडौंमा दैनिक करिब ९० अन्तर्राष्ट्रिय र कम्तीमा २ सय ५० भन्दा बढी आन्तरिक उडान सञ्चालन हुँदै आएका छन्। दुवै टर्मिनलमार्फत् दैनिक झण्डै २५ हजार यात्रुको आवागमन हुने गरेको छ।
