हुपै प्रान्तको ली छ्वानमा भएको एसिया-अफ्रिका ब्ल्याक टी एक्सचेन्ज महोत्सवमा इलामको एक सुइरो चियाप्रति सहभागीले चासो देखाएका छन् ।
बेइजिङ — चीनमा भएको चिया प्रदर्शनीमा नेपालको एक सुइरोमा आधारित चियाले ध्यानाकर्षण गरेको छ । चीनको हुपै प्रान्तको ली छ्वानमा आयोजित एसिया-अफ्रिका ब्ल्याक टी एक्सचेन्ज महोत्सवमा इलामको एक सुइरो चियाप्रति सहभागीले चासो देखाए ।
पातबिनाको मुनाबाट बनाइएको सुनौलो रंगको कालो चियालाई एक सुइरो चिया भनिन्छ । सन् २०२४ मा इलाममा उत्पादित यो चियालाई पहिलो दिन २सयभन्दा बढी सहभागीमाझ चखाइएको थियो ।
उद्घाटन सत्रमा चीनसहित ५ देशलाई चिया चाख्ने कार्यक्रममा सहभागी गराइएको थियो । चिनियाँ चिया उद्योग कमिटी एसोसियसन, बीआरआई लगायतका संस्थाको अगुवाइमा आयोजना गरिएको महोत्सवमा नेपालको एक सुइरो आधारित अर्थोडक्स ब्ल्याक टी टेस्टिङलाई अगाडि सारिएको बेइजिङस्थित नेपाली दूतावासकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले जानकारी दिइन् । उनले नेपालको चिया भौगोलिक उचाइ, अर्गानिक र अर्थोडक्स चिया मापदण्डअनुरुप उत्पादन हुने गरेकाले विश्व चिया बजारमा चासो जगाएको बताइन् ।
चीनको ‘टी हर्स रुट’ अवधारणाबमोजिम नेपालको चिया इलामको चिया बगैंचा हुँदै लुम्बिनीसम्म पुर्याएर विश्व शान्तिको दुनियाँसम्म अवलोकन गराउन सकिने सम्भावना रहेको उनको भनाइ थियो । ‘चिनियाँ अवधारणा पुनर्जागृत गर्न सक्ने हो भने नेपालले पनि त्यस्तो अवधारणाबाट अगाडि बढाउन सक्छ,’ उनले भनिन् ।
महोत्सव अवधिमा चीनका विभिन्न प्रान्तबाट हुपै प्रान्तमा आएका चिया विज्ञ, कोरिया, चीन लगायतका प्रतिनिधि, अनुसन्धाता, निर्यातकर्ता, उत्पादकहरूबीच छलफल पनि गरिएको नेपाली चिया प्रवर्धक रोशन पोख्रेलले बताए । तीनदिने चिया महोत्सव आइतबार सम्पन्न हुँदै छ ।
