बस्तीका संरचना हटाउन शनिबार बिहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यहीबीच अहिले डोजर चलाउन थालिएको छ।
What you should know
काठमाडौँ — काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्तीहरूमा घरटहरा भत्काउन थालिएको छ। यसअघि ती क्षेत्र खाली गराउन सरकारले सार्वजनिक सूचना जारी गरेको थियो।
उक्त सूचनाअनुसार धेरैजसोले शुक्रबार नै बस्ती खाली गरेर हिँडेका थिए। ती बस्तीका संरचना हटाउन शनिबार बिहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यहीबीच अहिले डोजर चलाउन थालिएको छ।
थापाथली: थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर चलाउन थालिएको छ। कान्तिपुर संवाददाता दया दुदराजका अनुसार त्यहाँका बासिन्दालाई त्रिपुरेश्वरस्थित रंगशालामा लगेर राखिनेछ। धेरैजसोले हिजो नै सामान उठाएर लगेका भए पनि केहीले भने अहिले पनि सामान उठाइरहेका छन्।
गैरीगाउँ: कान्तिपुर टेलिभिजनकी संवाददाता शिखा श्रेष्ठका अनुसार गैरीगाउँमा रहेका बस्तीबाट केहीले सामान सारिरहेका छन्। धेरै मानिस घरबाहिर बसिरहेका छन्। केहीले जस्ता निकाल्ने काम गरिरहेका छन्। केही पसल पनि खुलेका छन्, जहाँ सामान बेचिरहेका छन्। केहीको गुनासो भने समय कम दिइयो, हामी हट्न सकेनौं भन्ने छ। थोरै संख्यामा मात्र नेपाल प्रहरी परिचालन गरिएको छ। डोजर भने चलेको छैन।
शान्तिनगर: शान्तिनगर क्षेत्रमा रहेका कान्तिपुर संवाददाता समर्पण श्रीका अनुसार त्यहाँ केहीले आफैं व्यवस्था गरेर भक्तपुरतिर गइरहेका छन्। अस्थायी बासस्थानका लागि सरकारले कुनै व्यवस्था नगरेको गुनासो उनीहरूको छ। कतिपय बिरामी भएकाले उनीहरूले सामान सार्नसमेत सकिरहेका छैनन्। 'अहिलेसम्म सरकारले बस्ने ठाउँ देखाइदिएको छैन,' बस्तीका तीर्थबहादुर श्रेष्ठले भने।
