हिन्दुकुश क्षेत्रमा हिउँको तह २७.८ प्रतिशतले घट्यो

हिन्दुकुशबाट उत्पन्न हुने १२ प्रमुख नदी बेसिनमा निर्भर झन्डै दुई अर्ब मानिसको जलसुरक्षामा तत्काल र बढ्दो खतरा निम्तिएको रिपोर्टमा उल्लेख छ ।

वैशाख १२, २०८३

इकान्तिपुर डेस्क

Snow cover in Hindu Kush region decreases by 27.8 percent

काठमाडौँ — हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको तह दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको छ । इसिमोडले सार्वजनिक गरेको 'स्नो अपडेट रिपोर्ट २०२६' अनुसार यो क्षेत्रमा लगातार चौथो वर्ष औसतभन्दा कम हिउँ देखिएको हो ।

यो निरन्तरको गिरावटले विश्वकै उच्च हिमाली क्षेत्रभर मौसमी हिउँ सञ्चितिमा प्रणालीगत क्षयीकरणको संकेत गरेको विज्ञले बताएका छन् । हिन्दुकुशबाट उत्पन्न हुने १२ प्रमुख नदी बेसिनमा निर्भर झन्डै दुई अर्ब मानिसको जलसुरक्षामा तत्काल र बढ्दो खतरा निम्त्याएको रिपोर्टमा उल्लेख छ । तीमध्ये १० वटा नदी बेसिनमा अहिले औसतभन्दा कम हिउँ देखिएको छ । मेकङ, तारिम र तिब्बती पठार क्षेत्रमा पछिल्ला २४ वर्षयताकै न्यून हिउँ रेकर्ड गरिएको छ ।

'मौसमी हिम सञ्चिति वर्षैपिच्छे घट्दै जानु स्थायी प्रवृत्तिजस्तो देखिन्छ,' रिपोर्टका लेखक शेर मुहम्मदले भनेका छन्, '२०२६ को तथ्यांकले एउटा गम्भीर अवस्था देखाएको छ, जसमा १२ मध्ये १० वटा बेसिन औसतभन्दा तल छन् भने केहीले दुई दशकयताकै सबैभन्दा न्यून हिउँ सञ्चिति रेकर्ड राखेका छन् ।'

मौसमी हिउँ पग्लिएर हेलमन्ड बेसिनमा वार्षिक बहावको ७७.५ प्रतिशत र अमु दर्या बेसिनमा ७४.४ प्रतिशतसम्म आउने गरेको छ । हिउँ घट्दै जाँदा खानेपानी, सिँचाइ, जलविद्युत् उत्पादन र पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर पार्नेछ । यो अवस्था विशेषगरी पानी आपूर्ति र बाढी व्यवस्थापनका दृष्टिले चिन्ताजनक छ ।

वसन्तकालीन बहाव कम हुने र तल्लो तटीय क्षेत्रमा पानी अभाव अझै बढ्ने र विशेषतः पश्चिमी नदी बेसिनहरूमा त्यसको असर देखिन सक्ने विज्ञको भनाइ छ ।

इन्डस (सिन्धु), हेलमन्ड र अमु दर्या बेसिनका किसानले बाली लगाउने प्रारम्भिक समयमा सिँचाइ अभाव झेल्नुपर्ने पनि रिपोर्टमा उल्लेख छ । थ्री गर्जेस बाँध सञ्चालनमा रहेको याङ्त्सेका साथै मेकङ र ब्रह्मपुत्र क्षेत्रका जलविद्युत् आयोजनामा गर्मी याममा औसतभन्दा कम उत्पादन हुन सक्ने चिन्ता पनि रिपोर्टमा छ । यो संकट बढ्दै जाने हो भने भू-जल र माटोको आर्द्रता पुनःपूर्ति हुन समस्या हुन्छ । जसको असर खडेरीको जोखिम बढ्ने प्रतिवेदनले चेतावनी दिएको छ । 

दुई बेसिनमा मात्र औसतभन्दा बढी हिउँ देखिएको छ । गंगा बेसिनमा १६.३ प्रतिशत र इरावदीमा २१.८ प्रतिशत छ । तर यो समग्र क्षेत्रीय संकटलाई सन्तुलनमा ल्याउन पर्याप्त नभएको मोरको प्रतिवेदनले उल्लेख गरेको छ । यसको विपरीत मेकङमा ५९.५ प्रतिशत, तिब्बती पठारमा ४७.४ प्रतिशत र साल्वीनमा ४१.८ प्रतिशतले हिउँमा गिरावट आएको छ ।

इसिमोडले राष्ट्रिय तथा स्थानीय निकायलाई तुरुन्तै खडेरी पूर्वतयारी र प्रतिकार योजना लागू गर्दै पानी सञ्चयन र दक्षतामा लगानी बढाउनका साथै सीमापार जल उपयोगमा सहकार्य सुदृढ गर्न आग्रहसमेत गरेको छ।

हिन्दुकुश हिमालय क्षेत्रमा नेपालसहित चीन, भारत, भुटान, अफगानिस्तान, पाकिस्तान, बंगलादेश, म्यानमारजस्ता देश समेटिन्छन् । यो क्षेत्रमा सगरमाथासहित विश्वका अग्ला हिमालहरू पर्छन् । ध्रुवीय क्षेत्रपछि सबैभन्दा धेरै हिउँ यही क्षेत्रमा पाइन्छ ।

इकान्तिपुर

Link copied successfully