उच्च सुरक्षा उपस्थितिबीच शान्तिपूर्णरुपमा खाली हुँदैछ सुकुमवासी बस्ती  

विगतमा सुकुम्बासी वस्तीमा झडप र प्रदर्शन हुने गरेको भए यसपटक बिहान ९ बजेसम्म कुनै अप्रिय अवस्था आएको छैन ।

वैशाख १२, २०८३

गौरव पोखरेल

Slum dwellers are being evacuated peacefully amid heavy security presence

What you should know

काठमाडौँ — काठमाडौंको थापाथलीबाट सुकुमवासी बस्तीलाई हटाउने प्रक्रिया शान्तिपूर्णरुपमा अघि बढिरहेको छ । विगतमा सुकुम्बासी वस्तीमा झडप र प्रदर्शन हुने गरेको भए यसपटक बिहान ९ बजेसम्म कुनै अप्रिय अवस्था आएको छैन । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वराज पौडेलले वस्तीका नागरिकले प्रशासनको निर्णयलाई सहयोग गरिरहेको बताए । ‘उहाँहरुको सामान निकाल्नलाई नगर प्रहरी, प्रहरी र सशस्त्र प्रहरी बलले सहयोग गरिरहेको छ,’ उनले भने, ‘विकल्प नभएकाहरुलाई दशरथ रंगशाला लगेर विवरण संकलन गरेर आजै अन्यत्र पठाउने तयारी छ ।’

तर, प्रशासनले वस्ती खाली गराउन व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरी र सशस्त्र प्रहरीले प्रत्येक घरमा पुगेर सामान निकाल्न भनिरहेका छन् । सञ्चारकर्मीलाई वस्तीभित्र प्रवेश गर्न रोक लगाइएको छ । 

थापाथलीबाट सामान निकालेकी कुमारी तामाङले २२ वर्षदेखि बसिरहेको ठाउँ आफूले छाडे पनि अब कहाँ जाने थाहा नभएको बताइन् । ‘सरकारले हामीलाई लजमा राख्छ भन्ने सुनेको छ, तर अट्छौं कि अट्दैनौं ? कसरी राख्छ थाहा छैन,’ उनले कान्तिपुरसँग भने, ‘६ दिनअघि मात्र बुबा वित्नु भएकाले शोकमा थियौं, यही बेला यस्तो आइपर्‍यो ।’

Slum dwellers are being evacuated peacefully amid heavy security presenceप्रशासनका अनुसार, सरकारले विकल्प नभएकालाई फरकफरक ठाउँमा राख्ने तयारी गरेको छ । त्यसका लागि कीर्तिपुरको सत्सङ भवन, भक्तपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्र, खरिपाटीको सरकारुी भवन र खाली जग्गामा समेत राख्नका लागि छुट्टाइएको छ । 

सुकुम्बासी वस्तीमा दुई छोरीसहित बस्ने क्षमा बस्नेतले पनि सरकारको निर्णयलाई मान्दै आफूहरुले सामान निकाले पनि कहाँ जाने अनिश्चित भएको बताइन् ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल चाहिँ होल्डिङ सेन्टरका रुपमा पहिलो चरणमा रंगशालामा राखेर विवरण संकलन गर्ने बताउँछन् । 

‘त्यसका लागि शहरी विकास मन्त्रालय र अन्तरगतको टोली तयारी अवस्थामा छ, विवरण संकलन गरेर साँच्चै सहयोग चाहिने परिवारलाई अस्थायी आवासका लागि कहाँ पठाउने भन्ने निर्णय हुनेछ,’ उनले भने । 

थापाथलीपछि गैरीगाउँ र अन्यत्रको सुकुम्बासी वस्तीमा जाने प्रशासनको तयारी छ । थापाथलीमा भइरहेको गतिविधिबारे जानकारी पाएकी शान्तिनगर, गैरीगाउँका सुकुम्बासी धमाधम गाडीमा सामान ओसार्दै छन् । दुई/तीन दिन मात्र समय हुँदा भाडामा बस्नलाई कोठा लिनसमेत नसकिएको उनीहरुले बताएका छन् । 

Slum dwellers are being evacuated peacefully amid heavy security presenceवैकल्पिक व्यवस्थाबिना सरकारले सुरक्षा निकायमार्फत सुकुमवासीलाई हटाउँदा मानवअधिकार उल्लंघन हुने भन्दै निर्णय पुनर्विचार गर्न संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले माग गरेको थियो । 

प्रहरीले चाहिँ सुकुमबासी बस्ती हटाउने तयारी भइरहेकै बेला नेपाल प्रहरीले सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष एवं एमाले नेता नारायण परियार (परिश्रमी) लाई पक्राउ गरेको छ । उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको र त्यसमा सरकारको अरू कदमसँग सम्बन्ध नभएको काठमाडौं प्रहरीको दाबी छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सुकुम्बासी मोर्चाका महासचिव आर्यन कुँवर, सल्लाहकार दानबहादुर कार्की र दिनेश सुनारलाई समेत पक्राउ गरेको थियो ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully