स्थायी रुट परमिट नहुँदा हुम्लाबासीले दोब्बर भाडा तिर्नुपरेको छ, कच्ची र जोखिमपूर्ण सडकमा यात्रा गर्दा समय, खर्च र दुर्घटनाको त्रास छ ।
What you should know
सुर्खेत — हुम्ला सदरमुकाम सिमकोटबाट सुर्खेतसम्मको दूरी ३ सय ३४ किलोमिटर छ । जसको भाडा ठूला यात्रुबाहक बसमा प्रति किलोमिटर साढे १७ रुपैयाँ पर्न जान्छ ।
कर्णालीका अन्य जिल्लामा कच्ची सडकमा प्रतिकिलोमिटर अधिकतम १० रुपैयाँ भाडा तोकिएको भए पनि स्थायी रुट परमिट नहुँदा हुम्लाका बासिन्दा झण्डै दोब्बर भाडा तिर्न बाध्य भएका छन् । साना सवारी साधनले भने रिजर्वका नाममा ७ हजार ५ सय रुपैयाँ लिने गरेका छन् ।
भाडा मात्र होइन यो दुरी पार गर्न झण्डै २ दिन लाग्छ । हुम्लाबाट हिँडेको गाडी बाजुरा सीमास्थित पिलिचौरमा बास बस्छ भने अर्को दिन झण्डै १० घण्टाको दूरी पार गरी सुर्खेत पुग्छ । नेपालगन्ज जाने यात्रुले भने थप चार घण्टाको यात्रा गर्नुपर्छ । ‘गाडीभाडा पनि उसै महँगो, त्यसमा होटल बास, खाजा–खाना खर्चको भार,’ आधारभूत विद्यालय खार्पूका शिक्षक नेत्र शाहीले भने, ‘३ ठाउँमा त खाना खान रोकिन्छ, खाजा पनि कम्तीमा ३ ठाउँमा खानुपर्यो, होटलमा बास बस्दा १ हजार लागे पनि ३ हजार रुपैयाँ थप खर्च हुन्छ नै ।’ उनले एकतर्फी सुर्खेत आउँदा मात्रै १० हजारजति खर्च हुने गुनासो गरे ।
कच्ची सडकमा लामो, जोखिमपूर्ण र पट्यारलाग्दो यात्राका कारण हवाइ सेवाकै भर पर्नुपरेको सिमकोट गाउँपालिका–७ का मोहन रोकायाले बताए । उनका अनुसार नेपालगन्जबाट उडान हुने जहाजहरुले सिमकोटसम्मका लागि ११ हजार ८ सय १४ रुपैयाँ भाडा लिने गरेका छन् । ‘बरु २/४ हजार रुपैयाँ महँगो भए पनि जहाज चढ्नुको विकल्प छैन,’ उनले भने, ‘भर्खरै खोलिएको कच्ची सडकमा दुर्घटनाको जोखिम छ, ठाउँठाउँमा पुल नहुँदा र गाडीको मोड नपुग्दा बीचबीचमा झरेर यात्रुले गाडी धकेल्नुपर्ने बाध्यता छ, वर्षामा हिलो र हिउँदमा धुलोले आजित बनाउँछ ।’ अहिले पनि सडकको ठाउँठाउँमा धुलोमा गाडी फस्ने समस्या धेरै रहेको उनले बताए ।
साघुँरो सडकमा ठाउँठाउँमा मोड नमिल्दा दुर्घटनाको जोखिम पनि उच्च रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रामप्रकाश शाहले बताए । प्रदेश प्रहरी कार्यालयको तथ्यांकले पनि त्यसलाई पुष्टि गर्छ । सडक खुलेको ७ वर्षमा हुम्लामा ७३ वटा सवारी दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ भने १ सय ४६ जना घाइते भएका छन् । सदरमुकाम जोड्ने पुल बन्न ढिलाइ हुँदा सिमकोट गत असार २२ गते मात्र राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । ‘तल कर्णाली नदी भीरमाथिको सडक, दुर्घटना भए कर्णालीमा गाडी भेटिने सम्भावनै देखिन्न,’ हुम्लाका स्थानीय अगुवा विजय लामाले भने, ‘भगवान भरोसामा यात्रा गर्नुपर्ने बाध्यता छ, धन्न अहिलेसम्म ठूलो दुर्घटना भएको छैन ।’ उनका अनुसार सल्लीसल्ला–दमन खण्ड सबैभन्दा जोखिमपूर्ण छ ।
हुम्लाबाट मध्यपश्चिम यातायात व्यवसायी समिति, हिल्सा यातायात र बटालियन यातायात प्रालिले सुर्खेत र नेपालगन्जसम्मको यातायात सेवा सञ्चालन गरिरहेका छन् । हिल्सा र बटालियनले भने काठमाडौंसम्म गाडी चलाउँछन् ।
हिल्साले सुर्खेतबाट अर्को गाडी फेरेर यात्रुलाई काठमाडौं पठाउने गरेको छ भने बटालियनमा यात्रुले एउटै गाडीमा यात्रा गर्न पाउँछन् । यातायात व्यवसायी भने जोखिम मोलेरै गाडी चलाइरहेको गुनासो गर्छन् । ‘कर्णाली राजमार्गमा राति गाडी चलाउन पाइँदैन, त्यसैले पिलिचौरमै बास बसाउनुपर्ने बाध्यता छ,’ बटालियन यातायात प्रालिका अध्यक्ष रामु श्रेष्ठले भने, ‘जोखिमपूर्ण सडक, इन्धनमा लगातारको मूल्यबृद्धि, पर्याप्त यात्रु नपाउने समस्यामा पनि २०२२ भन्दा माथिका मोडेलका गाडी चलाइरहेका छौं, त्यसमा पनि दिनहुँजस्तो गाडी मर्मत गर्नुपर्ने बाध्यता छ ।’ उनले इन्धनमा मात्रै काठमाडौं–हुम्ला यात्रा गर्दा १ लाख ३० हजार रुपैयाँ खर्च हुने बताए । उनका अनुसार काठमाडौंसम्म ८ हजार १ सय रुपैयाँ गाडी भाडा तोकिएको छ ।
गत पुस २ गतेदेखि हुम्लाबाट सुर्खेत, नेपालगन्ज र काठमाडौंसम्म नियमित बस सेवा सुरु भएको थियो । हिल्सा यातायात प्रालिका सञ्चालक विशाल रोकायाले पनि विभिन्न जोखिम मोलेरै गाडी चलाइरहेकाले सडकको अवस्था अनुसार भाडादर महँगो नभएको दाबी गरे ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले नेपाली सेनाले सडक विभागलाई सडक हस्तान्तरण नगरेकाले स्थायी रुट परमिट पाउन नसक्दा भाडादर नियमन गर्न नसकिएको बताए । ‘अहिलेसम्म अस्थायी रुट परमिटमै सडक चलाइरहेका छौं,’ उनले भने, ‘त्यसैले भाडा महँगो पर्न गएको छ ।’
यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख राजेन्द्र कार्कीका अनुसार अहिलेसम्म हुम्लामा अस्थायी रुट परमिट नै नवीकरण भएको छैन । ‘यातायात व्यवसायीसँग बैठक बसेर जिल्ला प्रशासन कार्यालयले अस्थायी रुट परमिटको लागि सिफारिस गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो ३/३ महिनामा जारी गरिन्छ, तर पछिल्लो समय म्याद नै थपिएको छैन ।’
कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला) अन्तर्गत कालीकोटको खुलालुबाट कर्णाली करिडोरअन्तर्गतको खुलालु–सिमकोट सडक जोडिन्छ । हुम्ला जाने यात्रुले करिब १ सय ३८ किलोमिटर दूरी कर्णाली राजमार्गबाट गर्छन् । उक्त राजमार्गमा सुर्खेतदेखि जुम्लासम्मको २ सय ३२ किलोमिटर सडकमा भाडा २ हजार रुपैयाँ छ । जुन प्रतिकिलोमिटर ८.६ रुपैयाँ भाडा पर्ने गरेको यातायात व्यवसायी प्रकाश आरसीले बताए । खुलालुबाट हुम्ला सदरमुकाम सिमकोटसम्मको १ सय ९६ किलोमिटर छ । जहाँको भाडा ११ सय ९० रुपैयाँ छ ।
कर्णाली राजमार्गको यात्राबाहेक हुम्लातिर जाने खण्डमा यात्रा गर्नेले ४ हजार ६ सय १० भाडा तिर्नुपर्ने सर्केगाड गाउँपालिका–४ का परिमल बुढाले बताए । ‘हुम्लातिर मात्रै प्रतिकिलोमिटर साढे २३ रुपैयाँ भाडा पर्न जान्छ,’ उनले भने, ‘भाडा महँगो हुँदा दैनिक उपभोग्य सामानको मूल्य घट्न सकेको छैन, स्थानीय उपज ढुवानीमा समस्या छ ।’
उनका अनुसार सुर्खेत र नेपालगन्जमा २ हजार १ सयदेखि २ हजार ५ सयमा पाइने ३० किलो चामलको मूल्य ३ हजारदेखि ३ हजार २ सय, प्रति पोका १ सय ५० रुपैयाँमा पाइने खानेतेलको मूल्य २ सयदेखि २ सय ३०, ९५ रुपैयाँ प्रतिकिलो पाइने चिनीको मूल्य १ सय ४० र १ हजार ३ सय ८० मा पाइने ५० बोरा मैदाको मूल्य १ हजार ६ सयदेखि १ हजार ७ सय रुपैयाँसम्म पर्छ । ढुवानी भाडा प्रतिकिलो ३० देखि ४० रुपैयाँ भएकाले महँगी घट्न नसकेको उनको गुनासो छ । ‘मालबाहक सवारीमा पनि मनपरी भाडा छ,’ उनले भने, ‘जहाजमा त १ सय २५ रुपैयाँ प्रतिकिलो थियो, त्यसबाट त राहत पाएका छौं, गाडीमा त बढीमा २० रुपैयाँसम्म ढुवानी भाडा हुनुपर्ने हो ।’
कर्णाली करिडोरअन्तर्गत कालीकोटमा ४०, बाजुरामा ४३ र हुम्लामा १ सय १३ किलोमिटर सडक जोडिएको छ। तर जिपहरूले टिकट नै नदिएर कोचाकोच गरेर यात्रु चढाउने गरेको सिमकोट—३ का गंगाराम विकले बताए । ‘जिपहरूले रिजर्ब सरहकै पैसा लिन्छन्, महँगो भाडाले विपन्न नागरिक मारमा परेका छौं,’ उनले भने, ‘समितिहरूको सिन्डिकेटले बस भाडा पनि महँगो भयो ।’ हिउँदमा पनि कठिन भूगोलमा बनाइएको सडकमा कतिबेला दुर्घटना हुने हो भन्ने डरैडरमा यात्रा गर्नुपर्ने बाध्यता रहेको सिमकोट–७ का जगत बुढाले बताए ।
गत असार २२ गते कर्णाली करिडोर अन्तर्गतको खार्पुनाथ गाउँपालिका–५ चुवाखोलास्थित कर्णाली नदीमा बेलिब्रिज निर्माण भएपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । गत वर्ष चैत अन्तिम साता नेपाली सेनाले कर्णाली करिडोरको ट्रयाक खोलेपछि सिमकोटसम्म यातायातका साधन चल्न थालेका थिए । तर चुवाखोलामा पुल नहुँदा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिन झण्डै ४ महिना लागेको थियो । हिउँ जमेका कारण अहिले चीन सीमासम्म पुग्ने ९५ किलोमिटर दूरीको सिमकोट–हिल्सा सडक भने बन्द रहेको जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले बताए ।
सिमकोट-हिल्सा सडक आयोजना कार्यालयका अनुसार २०५४ सालमा हुम्लामा भोकमरीसँगै फैलिएको भाइरल इन्फुन्जाबाट करिब ५० स्थानीयले ज्यान गुमाएपछि खाद्यान्न अभावको स्थायी समाधानका लागि तत्कालीन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो ।
२०५७ सालमा जिविसको आन्तरिक स्रोतको प्रयोग गरी सिमकोट–हिल्सा सडक खन्न सुरु गरिए पनि ढिलाइ भएपछि संघीय सरकारले २०६९ साल चैत्रमा हिल्सा–सिमकोट सडक आयोजनाको स्थापना गरेर कामलाई गति दिएको थियो । पछि २०७१ साल चैत ५ देखि सडक निर्माणको जिम्मा सेनाले लिएको थियो । सेनाले झण्डै १० वर्ष लगाएर सडकको गत वर्ष चैत अन्तिम साता ट्रयाक खोलेको थियो । सडक निर्माणमा झण्डै ७ अर्ब रुपैयाँ खर्च भएको आयोजना कार्यालयले जनाएको छ ।
कर्णाली करिडोर अन्तर्गत अहिले दुई योजना कार्यालयमार्फत सडक स्तरोन्नतिको काम भइरहेको छ । दक्षिण खण्ड (खुलालु-सलीसल्ला) मा १ सय २३ र उत्तर खण्डअन्तर्गत सलीसल्ला-हिल्सा सडक योजनामा १ सय ४६ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको खुलालु-सल्लीसल्ला सडक योजना कार्यालयका प्रमुख तुलाराम शर्माले बताए । उनका अनुसार पिलिचौर-तुम्च, तुम्कोट-हिल्सा, एलबाङ-छ्याछडा, छ्याछडा-हेक्पाखोला, कुवाडी-तुम्च गरी ५ खण्डमा सडक सडक चौडा बनाउने, टेवा पर्खाल लगाउने, ग्राभेल र कालोपत्रसम्मका काम जारी छन् ।
उनले झण्डै ३ अर्ब बजेटबाट सडक स्तरोन्नतिको काम भइरहेको जानकारी दिए । करिडोरअन्तर्गत दक्षिण खण्डमा ६ र उत्तर खण्डमा ४ गरी १० खोला तथा कर्णाली नदीमा बेलिब्रिज निर्माण भएका छन् । अझै ८ वटा खोलामा पुल निर्माण गर्न बाँकी छ ।
