सरुवा भएका २५ सहसचिवमध्ये २० जनालाई प्रदेश पठाइयो 

सम्पत्ति शुद्धीकरणका महानिर्देशकलाई अर्थ मन्त्रालय तानियो    

वैशाख ११, २०८३

ऋषिराम पौड्याल

20 of the 25 joint secretaries transferred were sent to the provinces

What you should know

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकसहित अर्थ मन्त्रालय र अन्तर्गतका २० जना सहसचिवहरुलाई सरुवा गरेको छ । 

विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई भने अर्थमन्त्रालले फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबारको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सरुवा भएकामध्ये २० जना सहसचिवलाई प्रदेश पठाइएको छ । 

पछिल्लो समय यति ठूलो संख्यामा सहसचिवहरुलाई प्रदेश पठाएको सम्भवतः यो पहिलो पटक हो । सरुवा हुनेमा अर्थ मन्त्रालय र अन्तर्गत लामो समय बसेका र प्रमुख जिल्ला अधिकारीहरुसमेत रहेका छन् । सहसचिवहरु प्रदेश नगाएको आवाज उठिरहेका बेला उनीहरुलाई सरुवा गरिएको हो । 

पाँच जनालाई मधेश, पाँच जना लुम्बिनी, चार जना बागमती, दुई जना कोशी, दुई जना गण्डकी, एक जना कर्णाली र एक जनालाई सुदूरपश्चिम प्रदेश सरुवा गरिएको छ । झकराम अधिकारी र लोकबहादुर सुनारलाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । 

अर्थ मन्त्रालयअन्तर्गतका महेश बराल, सेवन्त पोखरेल, मदन दहाल, महेश भट्टराईलाई प्रदेश सरुवा गरिएको छ । उनीहरु चारै जना अर्थ मन्त्रालय र अन्तर्गत थिए । दाहाल आन्तरिक राजस्व विभागका महानिर्देशक थिए । उनलाई १४ महिनापछि सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ । पोखरेल र भट्टराईलाई अर्थले बजेट बनाउने टिममा राखेको थियो । उनीहरु दुवै जना अर्थका 'क्याडर’ मानिन्छन् । उनीहरुले लामो समय भन्सार/राजस्व प्रशासनमा रहेर काम गरेका छन् । 

संघीय मन्त्रालयमा रहेकी पार्वती शर्मालाई मधेश प्रदेश पठाइएको छ । उनी संघीय मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थिइन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई बागमती प्रदेश पठाइएको छ । अनिता निरौला र नारायणप्रसाद मैनालीलाई बागमती प्रदेश पठाइएको छ । ओमराज ढुंगाना र होमराज पौडेललाई मधेश प्रदेश पठाइएको छ ।

संघीय मन्त्रालयकी निता पोखरेल अर्याल र अर्थकी सुशीला अर्याल, राम पराजुली र नारायणप्रसाद अर्याललाई लुम्बिनी प्रदेश सरुवा गरिएको छ । रोशनीकुमारी श्रेष्ठलाई कार्णाली प्रदेश सरुवा गरिएको छ भने कर्णालीका धोलकराज ढकाललाई संघीय मन्त्रालय ल्याइएको छ । विष्णुप्रसाद कोइराला र रामकृष्ण अधिकारीलाई कोशी प्रदेश पठाइएको छ । सरुवा भएका धेरै सहसचिवहरु लामो समयदेखि सुगम क्षेत्रमा बसेकाले प्रदेश पठाइएको स्रोतले बतायो । 

शुद्धीकरणका महानिर्देशक फिर्ता किन ? 

सम्पत्ति शुद्धीकरणमा छानबिनमा रहेको दिपक भट्ट र साहिल अग्रवालसँग कनेक्सन रहेको आरोपमा महानिर्देशक गजेन्द्रलाई तत्कालका लागि मन्त्रालय फिर्ता बोलाइएको हो । हिमालय रिइन्स्योरेन्समा भट्ट, साहिल, सुलभ र शेखर गोल्छालगायतका समूहको लागानी रहेको छ । उक्त रिइन्स्योरेन्समा महानिर्देशक ठाकुरकी श्रीमती निहारिका ठाकुरको नाममा २० हजार कित्ता शेयर लिएको देखिएपछि गजेन्द्र विवादमा तानिएका हुन् । त्यसैले उनलाई सम्पत्ति शुद्धीकरणमा राख्न उचित नदेखिएकाले मन्त्रालय तानेको स्रोतले बतायो ।

उनलाई जेन–जी आन्दोलनपछि गत असोजमा सुशीला कार्की नेतृत्वको सरकारले शुद्धीकरणको महानिर्देशकमा सरुवा गरिएको थियो । उनलाई ७ महिनामा मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । उनलाई दोस्रो पटक विभाग पठाइएको थियो । 

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully