अटो हाँकेर श्रीमान्‌को उपचार खर्च जुटाउँदै

‘पैसा नभएर श्रीमान्‌को उपचार गराउन सकेकी छैन,’ उनले भनिन्, ‘उपचार पाएको भए सायद बचाउन सकिन्थ्यो कि भन्ने पीडाले पोलिरहन्छ ।’

वैशाख १०, २०८३

तृप्ति शाही

Driving an auto to pay for her husband's medical expenses

What you should know

वीरेन्द्रनगर — जीवनमा सुखदु:ख दुवै मिल्छन् । कसैकसैको भागमा भने दुःख मात्र पर्दो रहेछ । ‘मेरो भागमा सुखभन्दा दुःख धेरै परेको रहेछ,’ सुर्खेतको गुर्भाकोट नगरपालिका–९, बोटेचौरकी ३८ वर्षीया तुलसरा खड्काले भनिन्, ‘मेरो भाग्य नै यस्तै रहेछ ।’ प्रत्येक दिन दुई छाक खाना जुटाउन श्रम गर्नुपर्छ । साथै क्यान्सर रोगी श्रीमान्‌का लागि उपचार खर्च जुटाउनु पर्छ । अहिले भोक मेटाउनेभन्दा श्रीमान्‌को ज्यान जोगाउने चिन्ता छ । 

नियमित आम्दानी छैन, दैनिक हातपाउ नचलाई सुको कमाइ हुँदैन । त्यसैले तुलसराले अटो रिक्सा चलाइरहेकी छन् । बोनम्यारो क्यान्सरबाट थलिएका श्रीमान् अम्मरबहादुरको उपचारका लागि रुपैयाँ जुगाड गर्न गत असोजदेखि अटो चलाउन थालेकी हुन् । श्रीमती र सन्तानको खुसी कमाउन भनेर अम्मर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए । त्यहाँ पुगेर धन कमाएर घर पठाउने सोच थियो । 

दुई वर्षअघि रोगी भएर उनी स्वदेश फर्किए । सुरूमा ‘ब्लड क्यान्सर’ देखिएको थियो । विदेशबाट ल्याएको दुई/चार पनि काठमाडौंस्थित टिचिङ अस्पतालमा सात महिना उपचार गर्दा सकियो । त्यहाँ उपचार गरेपछि स्वास्थ्यमा थोरै सुधार आयो ।

घरमै आराम गरेर बस्दा कमाइ नहुने भएपछि अम्मरबहादुरले चिकित्सककै सल्लाहबमोजिम २०८१ मंसिरमा साढे ७  लाख रुपैयाँ खर्चेर अटो रिक्सा किनेका थिए । केही समय अटो चलाएर परिवारको गर्जो पनि टारेका थिए । अटो चलाउन थालेको चार महिनामै उनी थला परे । त्यसपछि घरमै रहेको अटो तुलसराले चलाउन थालिन् ।

श्रीमान्‌को स्वास्थ्य जाँच गर्दा ब्लडसँगै बोनम्यारो क्यान्सर भइसकेको थियो । चिकित्सकले बोनम्यारो प्रत्यारोपण गरेपछि मात्र निको हुने बताएका छन् । ‘बोनम्यारो फेर्न चाहिने ६० लाख रुपैयाँ कहाँबाट ल्याउनू,’ उनले भनिन्, ‘रकम जुटाउन नसक्दा उपचार छाडेर घर फर्कियौं ।’

गाउँलेले संकलन गरेर दिएको रकम, बिमाबाट आएको खर्च र वैदेशिक रोजगारीबाट भएको कमाइसँगै बर्दियामा भएको १० कठ्ठा जमिन बेचेर आएको ३० लाख रुपैयाँ खर्च भयो ।’ अहिलेसम्म ५० लाखभन्दा बढी खर्च भइसकेको उनले बताए । अहिले रोग निको हुनुको साटो झन् बल्झिएको उनको भनाइ छ । 

आर्थिक अभावले चार महिनादेखि श्रीमान्‌लाई नियमित फलोअपमा लैजान सकेकी छैनन् । यसअघि ‘केमोथेरापी’का लागि बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल लैजाने गरेकी थिइन् । अहिले त्यो पनि रोकिएको उनले बताइन् । ‘एकपटकको उपचारमै एक लाख रुपैयाँजति खर्च लाग्न थाल्यो,’ उनले भनिन्, ‘अब सम्भव नहुने अवस्था आइसक्यो ।’

श्रीमान् थला परेपछि घर चलाउने जिम्मेवारी आफ्नो काँधमा आइपरेको उनले बताइन् । मानसिक रूपमा कमजोर बने पनि हिम्मत नहारेको उनले बताइन् । छिमेककै महिलाबाट १५ दिन अटो चलाउन सिकेपछि गुडाउने साहस गरेको उनको भनाइ छ । 

‘सुरूमा त अटो बेच्ने सोच बनाएकी थिएँ,’ उनले भनिन्, ‘छिमेकीले यही गुडाएर जिन्दगी चलाउनुपर्छ भनेपछि हिम्मत जुटाएँ, यसकै कमाइले श्रीमान्‌को उपचार गराएँ ।’ दैनिक अटो चलाएर १ हजार रुपैयाँसम्म कमाउने गरेकी छन् । महिनामा १०–१५ हजार आम्दानी गर्छिन् । यत्तिले घरखर्च धान्न मात्र पुग्छ । श्रीमान्‌को उपचार खर्च पुर्‍याउनै गाह्रो भइरहेको उनले बताइन् । श्रीमान्‌को उपचारमै सबै सम्पत्ति सकिएपछि उनका १६ र १९ वर्षका दुई छोरा पढाइ छोडेर रोजगारीका लागि भारत पसेका छन् ।

उनीहरू होटलमा काम गर्दै घरखर्च पठाइरहेका छन् । ‘पैसा नभएर श्रीमान्‌को उपचार गराउन सकेकी छैन,’ उनले भनिन्, ‘उपचार पाएको भए सायद बचाउन सकिन्थ्यो कि भन्ने पीडाले पोलिरहन्छ ।’

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully