‘पैसा नभएर श्रीमान्को उपचार गराउन सकेकी छैन,’ उनले भनिन्, ‘उपचार पाएको भए सायद बचाउन सकिन्थ्यो कि भन्ने पीडाले पोलिरहन्छ ।’
What you should know
वीरेन्द्रनगर — जीवनमा सुखदु:ख दुवै मिल्छन् । कसैकसैको भागमा भने दुःख मात्र पर्दो रहेछ । ‘मेरो भागमा सुखभन्दा दुःख धेरै परेको रहेछ,’ सुर्खेतको गुर्भाकोट नगरपालिका–९, बोटेचौरकी ३८ वर्षीया तुलसरा खड्काले भनिन्, ‘मेरो भाग्य नै यस्तै रहेछ ।’ प्रत्येक दिन दुई छाक खाना जुटाउन श्रम गर्नुपर्छ । साथै क्यान्सर रोगी श्रीमान्का लागि उपचार खर्च जुटाउनु पर्छ । अहिले भोक मेटाउनेभन्दा श्रीमान्को ज्यान जोगाउने चिन्ता छ ।
नियमित आम्दानी छैन, दैनिक हातपाउ नचलाई सुको कमाइ हुँदैन । त्यसैले तुलसराले अटो रिक्सा चलाइरहेकी छन् । बोनम्यारो क्यान्सरबाट थलिएका श्रीमान् अम्मरबहादुरको उपचारका लागि रुपैयाँ जुगाड गर्न गत असोजदेखि अटो चलाउन थालेकी हुन् । श्रीमती र सन्तानको खुसी कमाउन भनेर अम्मर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए । त्यहाँ पुगेर धन कमाएर घर पठाउने सोच थियो ।
दुई वर्षअघि रोगी भएर उनी स्वदेश फर्किए । सुरूमा ‘ब्लड क्यान्सर’ देखिएको थियो । विदेशबाट ल्याएको दुई/चार पनि काठमाडौंस्थित टिचिङ अस्पतालमा सात महिना उपचार गर्दा सकियो । त्यहाँ उपचार गरेपछि स्वास्थ्यमा थोरै सुधार आयो ।
घरमै आराम गरेर बस्दा कमाइ नहुने भएपछि अम्मरबहादुरले चिकित्सककै सल्लाहबमोजिम २०८१ मंसिरमा साढे ७ लाख रुपैयाँ खर्चेर अटो रिक्सा किनेका थिए । केही समय अटो चलाएर परिवारको गर्जो पनि टारेका थिए । अटो चलाउन थालेको चार महिनामै उनी थला परे । त्यसपछि घरमै रहेको अटो तुलसराले चलाउन थालिन् ।
श्रीमान्को स्वास्थ्य जाँच गर्दा ब्लडसँगै बोनम्यारो क्यान्सर भइसकेको थियो । चिकित्सकले बोनम्यारो प्रत्यारोपण गरेपछि मात्र निको हुने बताएका छन् । ‘बोनम्यारो फेर्न चाहिने ६० लाख रुपैयाँ कहाँबाट ल्याउनू,’ उनले भनिन्, ‘रकम जुटाउन नसक्दा उपचार छाडेर घर फर्कियौं ।’
गाउँलेले संकलन गरेर दिएको रकम, बिमाबाट आएको खर्च र वैदेशिक रोजगारीबाट भएको कमाइसँगै बर्दियामा भएको १० कठ्ठा जमिन बेचेर आएको ३० लाख रुपैयाँ खर्च भयो ।’ अहिलेसम्म ५० लाखभन्दा बढी खर्च भइसकेको उनले बताए । अहिले रोग निको हुनुको साटो झन् बल्झिएको उनको भनाइ छ ।
आर्थिक अभावले चार महिनादेखि श्रीमान्लाई नियमित फलोअपमा लैजान सकेकी छैनन् । यसअघि ‘केमोथेरापी’का लागि बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल लैजाने गरेकी थिइन् । अहिले त्यो पनि रोकिएको उनले बताइन् । ‘एकपटकको उपचारमै एक लाख रुपैयाँजति खर्च लाग्न थाल्यो,’ उनले भनिन्, ‘अब सम्भव नहुने अवस्था आइसक्यो ।’
श्रीमान् थला परेपछि घर चलाउने जिम्मेवारी आफ्नो काँधमा आइपरेको उनले बताइन् । मानसिक रूपमा कमजोर बने पनि हिम्मत नहारेको उनले बताइन् । छिमेककै महिलाबाट १५ दिन अटो चलाउन सिकेपछि गुडाउने साहस गरेको उनको भनाइ छ ।
‘सुरूमा त अटो बेच्ने सोच बनाएकी थिएँ,’ उनले भनिन्, ‘छिमेकीले यही गुडाएर जिन्दगी चलाउनुपर्छ भनेपछि हिम्मत जुटाएँ, यसकै कमाइले श्रीमान्को उपचार गराएँ ।’ दैनिक अटो चलाएर १ हजार रुपैयाँसम्म कमाउने गरेकी छन् । महिनामा १०–१५ हजार आम्दानी गर्छिन् । यत्तिले घरखर्च धान्न मात्र पुग्छ । श्रीमान्को उपचार खर्च पुर्याउनै गाह्रो भइरहेको उनले बताइन् । श्रीमान्को उपचारमै सबै सम्पत्ति सकिएपछि उनका १६ र १९ वर्षका दुई छोरा पढाइ छोडेर रोजगारीका लागि भारत पसेका छन् ।
उनीहरू होटलमा काम गर्दै घरखर्च पठाइरहेका छन् । ‘पैसा नभएर श्रीमान्को उपचार गराउन सकेकी छैन,’ उनले भनिन्, ‘उपचार पाएको भए सायद बचाउन सकिन्थ्यो कि भन्ने पीडाले पोलिरहन्छ ।’
