प्रशिक्षक न्यौपाने के मान्छन् भने जस्तोसुकै अनिश्चितता र अन्योल रहे पनि प्रतियोगिताको तयारी राम्रोसँग व्यवस्थित हुनुपर्नेछ ।
काठमाडौँ — भारतमा एक महिनापछि हुने महिला साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ बुधबार निस्केको छ । त्यसलाई हेरेर सजिलै भन्न सकिनेछ, नेपाल समूह जितेर सेमिफाइनल पुग्नेछ । तर, यो नै नेपालको लक्ष्य भने हुने छैन ।
किनभने नेपाल लगातार सेमिफाइनल पुगिरहेकै टिम हो । कम्तीमा फाइनलको लक्ष्य हुनुपर्नेछ, त्यो उपाधि जित्नेगरी । सेमिफाइनलमै रोकिन्छ भने त्यो असफलता रहनेछ, त्यसले केही अर्थ बोक्ने छैन ।
दक्षिण एसियाली महिला फुटबलको सर्वोच्च प्रतियोगिता साफलाई लिएर नेपालको नजरबाट एकमात्र सत्य हो, यो प्रतियोगिता नेपालले जित्न सकेको छैन । साफ च्याम्पियनसिप मात्र होइन, अन्य प्रतियोगितामा पनि नेपाली महिला राष्ट्रिय फुटलब टिमको एउटै नियति छ, फाइनल पुग्ने अनि पराजित हुने ।
यति हुँदाहुँदै पनि नेपालका प्रशिक्षक नवीन न्यौपानेलाई लाग्छ, प्रतियोगितामा नेपालको उपाधि जित्ने सम्भावना पूरापूर छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बंगलादेशमा आयोजित विशेष कार्यक्रमबीच प्रतियोगिताको ‘ड्र’ निकालिएको हो । यसमा नेपाल समूह ‘ए’ मा परेको छ । प्रतियोगितामा कुल ६ टिम सहभागी हुनेछ । त्यसको अर्थ पाकिस्तानले यसपल्ट खेल्ने छैन । प्रतियोगिता भारतको गोवामा २५ मेदेखि ६ जुनसम्म आयोजना हुँदै छ, त्यसैले पनि पाकिस्तानको अनुपस्थितिले विशेष अर्थ राख्नेछ । नेपालको समूहमा भुटान र श्रीलंका रहेको छ ।
नेपालले २५ मेमा आफ्नो पहिलो खेलमा भुटानको सामना गर्नेछ । त्यसपछि ३१ मेमा हुने खेलमा श्रीलंकाविरुद्ध खेल्नेछ । अर्को समूह ‘बी’ मा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै आयोजक भारत र माल्दिभ्स रहेको छ । लिग चरणको समाप्तिमा दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । नेपाल सजिलै सेमिफाइनल पुग्ने अनुमान गर्ने हो भने त्यसमा प्रतिद्वन्द्वी टिम बंगलादेश वा भारतमध्ये एक हुनेछ । यी दुवै टिमको पनि लक्ष्य हुनेछ, नेपालविरुद्धको खेल छल्ने ।
राष्ट्रिय खेलकुद परिषद्बाट निलम्बनमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले भर्खरै मात्र प्रारम्भिक खेलाडी सूची जारी गरेको हो । प्रशिक्षक न्यौपाने के मान्छन् भने जस्तोसुकै अनिश्चितता र अन्योल रहे पनि प्रतियोगिताको तयारी राम्रोसँग व्यवस्थित हुनुपर्नेछ । सहभागिताका लागि सहभागिता मात्र कुनै अर्थ हुने छैन । उनी मान्छन्, नेपालको लक्ष्य उपाधि जित्नु नै हुनुपर्छ, त्यो सम्भव पनि छ । उनले पछिल्लो केही प्रतियोगितालाई आधार मानेर अहिलेको प्रारम्भिक सूची तयार पारेका हुन् ।
अब अर्को सातादेखि उनले प्रशिक्षण सुरु गराउने छन् । उनी भन्छन्, ‘मलाई लाग्छ, खेलाडीको फिटनेसमा समस्या हुनेछैन, किनभने उनीहरूले लगातार खेलिरहेकै छन् । चोटका कारण टिममा सावित्रा भण्डारी र सविता रानामगर हुने छैनन् । यो अरू खेलाडीका लागि मौका पनि हो । मलाई लाग्छ, केही खेलाडीले उनीहरूको ठाउँ लिन सक्छन् । यसका लागि कडा मिहिनेत चाहिन्छ नै ।’ प्रतियोगितामा हुने सहभागितालाई लिएर उनी उत्साहित छन् ।
यसपल्ट हुन लागेको प्रतियोगिता आठौं साफ संस्करण हो । यसमध्ये नेपाल पछिल्लो दुई पटकको उपविजेता पनि हो । पछिल्ला दुवै संस्करण काठमाडौंमा भएको थियो । दुवै अवसरमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । यी दुवै संस्करणमा लिग चरणमा नेपालले भुटान र श्रीलंकाकै सामना गरेको थियो । नेपाल सात संस्करणमध्ये सन् २०१६ लाई छाडेर प्रत्येक पटक फाइनल पुगेकै छ, तर अहिलेसम्म उपाधि जित्न असफल भइरहेको छ । नेपाल यसअघिका सबै संस्करणमा कम्तीमा सेमिफाइनल भने पुगेको छ ।
