दुई दशकपछि रक्सौल रेलवे स्टेसनबाट नेपाली आयातकर्तालाई कार्गो ह्यान्डलिङ सेवा

कोंकरले आफ्नै रेलवे र्‍याक र कन्टेनरबाट उक्त ढुवानी सेवा दिएर सोझै रक्सौल रेलवे स्टेसनमा आयातित वस्तु सम्बन्धित आयातकर्तालाई जिम्मा लगाएको कोंकरका अधिकृत विष्णुकान्त चौधरीले जनाए ।

वैशाख १०, २०८३

शंकर आचार्य

Cargo handling services for Nepali importers from Raxaul Railway Station after two decades

पर्सा — दुई दशकदेखि वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेलवे स्टेसनको यार्डबाट बन्द रहेको नेपालतर्फको कार्गो ह्यान्डलिङ सेवा बुधबारदेखि पुनः सुरु भएको छ । भारतीय रेलवेको भगिनी संस्था कोंकरले सोमबारदेखि उक्त सेवा नेपालका लागि पुनः सञ्चालनमा ल्याएको हो । 

पर्सा बारा औद्योगिक करिडोरस्थित जगदम्बा इन्टरप्राइजेजले भारतको झारखण्डस्थित जमशेदपुर टाटानगरबाट आयात गरेको ९० कन्टेनर स्पन्ज आइरन कोंकरले सोझै रक्सौलस्थित रेलवे स्टेसनको यार्डबाटै हस्तान्तरण गरेको हो । कोंकरले आफ्नै रेलवे र्‍याक र कन्टेनरबाट उक्त ढुवानी सेवा दिएर सोझै रक्सौल रेलवे स्टेसनमा आयातित वस्तु सम्बन्धित आयातकर्तालाई जिम्मा लगाएको कोंकरका अधिकृत विष्णुकान्त चौधरीले जनाए । 

भारतीय रेलवे स्टेसनमै नेपाली आयातकर्तालाई जिम्मा लगाइने वस्तु मालवाहक ट्रकबाट ढुवानी गरेर नेपाल भन्सार बिन्दुमा प्रवेश गर्न रक्सौलस्थित भारतीय एकीकृत सुरक्षा जाँच चौकी (ल्यान्ड पोर्ट अथोरिटी) मा ग्रिन च्यानलका लागि ४ नम्बरको डेडिकेटेड लेन (बाटो र ढोका) उपलब्ध गराइएको छ । 

उक्त ट्रक वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा प्रवेश गर्न चौकीको १० नम्बर लेन उपलब्ध गराइएको छ । यो डेडिकेटेड लेनबाट भारतीय रेलवे स्टेसनमा नेपाली पक्षले बुझेको आफ्नो मालवस्तु नेपाल ल्याउन सहज र छरितो मार्ग पाएका छन् । अन्य मालवाहक सवारी जस्तो यी सवारीले घण्टौं लाममा बस्नुपर्दैन । जसले गर्दा नेपाली आयातकर्ताले भारतबाट सोझै नेपाली भन्सार बिन्दुमा प्रवेश पाउने र आफ्नो मालवस्तु छिटो पाएर सक्दो छिटो कन्टेनर भारतीय रेलवेलाई फिर्ता पठाउँदा भारतीय रेलवे र सिपिङ लाइन कम्पनीहरूलाई तिर्नुपर्ने अतिरिक्त शुल्क पनि जोगिनेछ । 

भारत तथा तेस्रो मुलुकबाट नेपाली आयातकर्ताले आयात गर्ने मालवस्तु सहज रूपमा नेपाल भित्रिने र ढुवानी लागत मूल्य पनि कम हुन जाने भएकाले नेपाली आयातकर्ताले थप राहत पाउने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम बताउँछन् । ‘यो स्वागतयोग्य काम हो,’ उनले भने, ‘सक्दो छिटो आफ्नो मालवस्तु जाँचपास गराएर कन्टेनर फिर्ता गर्न पाउँदा नेपाली आयातकर्तालाई धेरै राहत मिल्छ ।’ 

पहिलो पटक बुधबार ९० कन्टेनरमा स्पन्ज आइरन भारतबाटै नेपालका लागि कोंकरले आफ्नै रेलवे र्‍याक र कन्टेरनमा ढुवानी गरी ल्याएकामा अब नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेका मालवस्तुको हकमा पनि यस्तो खालको ढुवानी सेवा दिने काम अन्तिम चरणमा रहेको कोंकरका अधिकृत चौधरीले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully