रास्वपा सभापति लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट महान्यायाधिवक्ता कार्यालयले गरायो स्थगित 

बहसका लागि तयारी नपुगेको भन्दै महान्यायाधिवक्ता कार्यालयले निवेदन दिएकाले स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

वैशाख १०, २०८३

दुर्गा दुलाल

Attorney General's Office postpones writ petition against withdrawal of case against RSP President Lamichhane

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर निवेदन महान्यायाधिवक्ता कार्यालयले स्थगित गराएको छ ।

बहसका लागि तयारी नपुगेको भन्दै महान्यायाधिवक्ता कार्यालयले निवेदन दिएकाले स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ । बिहीबार न्यायाधीशहरु नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा पहिलो नम्बरमै पेसी तोकिएको  थियो ।

तत्कालीन महान्यायाधिवक्ता सविता बरालले लामिछानेसहित ५० प्रतिवादीको सम्पत्ति शुद्धीकरण र स‌ंगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधनका लागि अनुमति दिएकी थिइन् । 

उक्त आदेशविरुद्ध दिनेश त्रिपाठी, युवराज सफल र आभास रेग्मीसहितले रिट दायर गरेका थिए ।उक्त रिटमा एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो भने संयुक्त इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै पूर्ण इजलासमा पठाएको थियो । 

रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरिएको  छ ।

महान्यायाधिवक्ता बरालले ३० पुस २०८२ मा लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully