साउदीमा ५३ नेपाली श्रमिक २ महिनादेखि कामविहीन, ‘एक्जिट भिसा’ लागेकालाई खाना बन्द

श्रमिकहरुले गत चैत १८ गते कम्पनीले तलब र काम नदिएको भन्दै दूतावासलाई जानकारी दिएका थिए ।

वैशाख १०, २०८३

होम कार्की

53 Nepali workers in Saudi Arabia have been unemployed for 2 months, food has been stopped for those on exit visas

What you should know

काठमाडौँ — साउदी अरबमा दुई महिनादेखि कामविहीन भएर बसेका ५३ जना नेपाली श्रमिक स्वदेश फर्कन पाएका छैनन् ।

प्रमुख सहर दमामस्थित मुस्तफा अलि अतिफा कम्पनीमा रहेका नेपाली काम र तलब नपाएपछि क्याम्पमा बसिरहेका छन् । ‘कसैले पनि तीन महिनासम्मको तलब पाएका छैनन् । दुई महिनादेखि कामविहीन भएका छन्,’ विनोद महराले कान्तिपुरसँग भने, ‘महिनौं बितिसक्दा पनि हाम्रो समस्या समाधान भएको छैन ।’

उनीहरु अधिकांश १७ महिनादेखि त्यहाँ कार्यरत छन् । उनीहरुलाई नेपाल लाइफ रिक्रुटमेन्ट कम्पनीले साउदीको निर्माण क्षेत्रमा पठाएको हो । कम्पनीले नेपाल फिर्ता गर्न साउदी सरकारबाट ‘एक्जिट भिसा’को अनुमति लिइसके पनि उनीहरु टिकटक कारण उतै रोकिएका हुन् ।

‘कम्पनीले एक्जिट भिसा जारी गरिसकेका श्रमिकलाई खाना दिन पनि बन्द गरेको छ,’ महराले भने, ‘हामीसँग खाना खाने त पैसा छैन । टिकट खरिद गर्ने पैसा कताबाट ल्याउने हो ?’ उनका अनुसार एक्जिट भिसा लागिसकेका श्रमिकलाई क्याम्पका मुदिर (म्यानेजर) ले सबैको कोठाकोठामा गएर खाना रोक लगाइएको जानकारी दिएका छन् । ‘खाना नपाएको विषयमा हामीसँग कुरा गर्न नआउनु भन्यो,’ उनले भने ।

रियादस्थित नेपाली दूतावासका अनुसार कामविहीन भएर बसेका ५३ जना नेपालीमध्ये ३४ जनाले घर फिर्न अनुमति पाइसकेका छन् । ‘निकै प्रयासपछि रोजगारदाता कम्पनीले एक्जिट भिसा जारी गरिरहेको छ । उनीहरुलाई टिकट दिलाउन कम्पनीलाई दबाब दिइरहेका छौं,’ श्रम काउन्सलर कविराज उप्रेतीले भने, ‘तलब र टिकट दिन हामीले पहल गरिरहेका छौं ।’

रोजगारदाता भने सबै श्रमिकलाई एकैपटक पठाउने पक्षमा छैन । श्रमिकहरुले गत चैत १८ गते कम्पनीले तलब र काम नदिएको भन्दै दूतावासलाई जानकारी दिएका थिए । उनीहरु बसेको क्याम्पबाट ६० किलोमिटर टाढा नेपाली दूतावास छ । त्यसअघि गत फागुन २३ गते श्रम काउन्सर उप्रेतीको टोली वस्तुस्थिति बुझ्न क्याम्प पुगेका थिए । ‘हामीले सबै श्रमिकको पाउन बाँकी तलबको लगत निकालेका छौं । आवासीय अनुमति पत्र (अकामा) को म्याद भए/नभएको छुट्याइएको छ,’ उनले भने, ‘सबै जना स्वदेश फिर्न इच्छुक भएकाले नेपाल पठाउन सहजीकरण भइरहेको छ ।’ श्रमिकले भने यथाशक्य छिटो घर पठाउन अनुरोध गरिरहेका छन् । 

कम्पनीले सेयरहोल्डरबीच आन्तरिक समस्या भएको र आफूले जिम्मा लिएका परियोजना तोकिएको समयभित्र सम्पन्न नहुँदा तलब दिन नसकिएको जनाएको छ ।

कम्पनीले साता–दस दिनभित्र समस्याको समाधान गर्ने भनेर आश्वासन दिए पनि समाधान नभएको महराले बताए । 'हामीलाई विश्वास नभएपछि काममा जान छाडेका हौं,' महराले भने, ‘हामीलाई काममा होइन नेपाल पठाइदिनुपर्छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully