बजारमा पैसा नघटेपछि साढे ५ महिनाका लागि ४० अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लिखित रकम झिक्न थालेको हो ।

वैशाख ९, २०८३

यज्ञ बञ्जाडे

Nepal Rastra Bank withdraws 40 billion rupees for 5.5 months as money does not decrease in the market

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लिखित रकम झिक्न थालेको हो । 

सोही क्रममा आज १५६ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ । बजारमा रहेको तरलता तत्काल घट्ने सम्भावना नदेखिएपछि यसअघि छोटो अवधिका लागि पैसा झिकिरहेको राष्ट्र बैंकले आज साढे पाँच महिनाका लागि पैसा निकाल्न लागेको हो ।

पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा गत शुक्रबार ५६ दिनका लागि १ खर्ब रुपैयाँ झिकिसकेको छ । 

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उकरणमा लगानीका लागि घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully