बाघको पिसाबको जस्तै गन्ध आउने पाँचथरी रसायन ३० ठाउँमा राखेर अध्ययन गरिँदै छ ।
What you should know
बर्दिया — चितुवा, बाघलगायत वन्यजन्तुलाई बस्ती पस्नबाट रोक्न बर्दियाको मधुवन नगरपालिकास्थित खाता जैविक मार्गमा पर्ने सामुदायिक वनमा कृत्रिम गन्ध आउने ‘केमिकल’ (रसायन) राखेर परीक्षण हुँदै छ । राष्ट्रिय निकुन्ज आसपास तथा मध्यवर्ती क्षेत्रका बस्तीमा चितुवा र बाघको आक्रमणबाट हरेक वर्षजसो मानिसको ज्यान जाने गरेपछि नयाँ उपाय पहिल्याउन चरणबद्ध परीक्षण गरिएको हो ।
तराई भू–परिधि संरक्षण कार्यक्रमको सहयोग र डिभिजन वन र खाता सामुदायिक वन समन्वय समितिको समन्वयमा परीक्षण भइरहेको छ । सामुदायिक वनका ३० ठाउँमा बाघको पिसाबको जस्तै गन्ध आउने पाँच थरी ‘केमिकल’ राखेर दोस्रो चरणको परीक्षण गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
‘बाघले पिसाब गरेर आफ्नो क्षेत्र निर्धारण गर्छ । त्यो गन्धले त्यस क्षेत्रमा अर्को बाघ आउँदैन,’ डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले भने, ‘गत वर्ष ३० ठाउँमै १० थरी केमिकल राखेर ५ महिनासम्म परीक्षण गरिएको थियो । त्यसको नतिजाका आधारमा यसपालि थप परीक्षण भइरहेको हो ।’
सुवेदीका अनुसार दक्षिण अफ्रिकाबाट ल्याइएको ‘केमिकल’ को परीक्षण नेपालमा भने पहिलो पटक हो । परीक्षण सफल भए चितुवा र बाघलाई बस्ती प्रवेशमा रोक्न सकिने उनले बताए । ‘केमिकल’ लाई पाइपमा राखिने भएकाले अन्य जैविक क्षेत्रमा असर नगर्ने सुवेदीको भनाइ छ ।
जैविक मार्गअन्तर्गत बस्तीछेउको सामुदायिक वनमा गत १४ चैतमा ३० ठाउँमा केमिकल राखेर परीक्षण भइरहेको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए । चार महिनासम्म हुने अध्ययनका लागि ‘केमिकल’ सँगै क्यामेरा पनि राखिएको छ । उक्त क्यामेरामा हेरेर वन्यजन्तुबारे अध्ययन गरिनेछ ।
बर्दियामा पछिल्ला वर्ष चितुवा आक्रमणका घटना बढेका छन् । चितुवाको आतंक बढेपछि स्थानीय दिउँसै खेतबारीमा जान डराउने गरेका छन् । गत साउनयता वन्यजन्तुको आक्रमणबाट ११ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले बताए । ‘यो वर्ष चितुवाबाट ८, हात्तीको आक्रमणबाट १ र पाटे बाघको आक्रमणबाट २ जनाको ज्यान गइसकेको छ,’ उनले भने, ‘चितुवाको आक्रमणबाट त १६ जना घाइते भए ।’
गत आर्थिक वर्षमा चितुवाको आक्रमणबाट जिल्लाभर ४ जनाको मृत्यु भएको थियो । १३ घाइते भएका थिए । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार ०७८/७९ मा जिल्लामा चितुवाको आक्रमणबाट २ जनाको मृत्यु भएको थियो, २ जना घाइते भए ।
‘केमिकल’ का कारण बाघ–चितुवासँग डराउने वन्यजन्तु पनि नजिक नआउने गरेको पाइएको डिभिजन प्रमुख सुवेदीले जानकारी दिए । उनका अनुसार गत वर्ष गरिएको परीक्षणमा चितुवा र बँदेल टाढाबाट भागेको र पाटे बाघ ‘केमिकल’ राखिएको ठाउँनजिक पुगेर फर्किएको पाइएको थियो । ‘दक्षिण अफ्रिकामा यी केमिकलको परीक्षण सफल भइसकेको छ,’ उनले भने ।
यहाँ पनि यसपालिको चारमहिने परीक्षणपछि ‘रिपोर्ट’ जाँचका लागि केमिकल उत्पादन भएको ठाउँमा पठाउने तयारी छ । परीक्षण सफल भए वनछेउको बस्तीमा राखेर बाघ, चितुवाबाट सुरक्षित गर्न सकिने सुवेदीले बताए । तराई भू–परिधि संरक्षण कार्यक्रम बाँकेका कार्यक्रम प्रबन्धक भरत भट्टका अनुसार ‘टी’ आकारको पाइपमा एक पटक केमिकल राख्दा एक महिनासम्म गन्ध रहिरहन्छ । ‘यो परीक्षण सफल भयो भने वन्यजन्तुबाट बस्तीमा हुने क्षति घट्छ । तारबार जस्ता संरचनामा भइरहेको लगानी पनि कम हुन्छ,’ उनले भने ।
२ सय २ वर्गकिलोमिटरमा फैलिएको खाता जैविक मार्ग उत्तरमा बर्दिया राष्ट्रिय निकुन्ज र ठाकुरबाबा नगरपालिकाका ४, ५ र ९ वडा पर्छ । पूर्वमा बारबर्दिया १, पश्चिममा राजापुर १० र दक्षिणमा भारतको कतर्नियाघाट वन्यजन्तु सेन्चुरी छ ।
