सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा  सिँचाइ सुविधा

बाँके जिल्लामा सिञ्चित क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत तीन बाली खेती गर्ने किसानलाई वसन्ते मकैखेतीमा ज्ञान केन्द्रले बीउ तथा प्राविधिक सहयोग गरेर प्रोत्साहन गर्दै आएको उनको भनाइ छ ।

वैशाख ९, २०८३

रासस

Sikta Irrigation Project provides irrigation facilities to 24,000 hectares of land

What you should know

राँझा (बाँके) — सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । विगतमा बर्खेधान स्यहारेपछि सिँचाइको अभावमा खेत बाँझै राख्दै आएका किसानले अहिले धान स्यहारेपछि आलु वा तोरीखेती लगाउने र त्यसलगत्तै वसन्ते मकैखेती गरी वर्षमा तीन बाली खेती गर्न थालेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए । 

‘सिँचाइको व्यवस्था भएसँगै तीन बाली खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ, आलु र वसन्ते मकैबाट किसानले नगद कमाई रहनुभएको छ’, उनले भने, ‘बर्खेधान स्यहारिसकेपछि गहुँखेती गर्ने किसान दुई बालीमा सीमित हुनुहुन्छ भने गहुँखेतीको सट्टा तोरी वा आलुखेती गर्ने किसानले मकैखेतीसमेत गर्न भ्याउनुभएको छ ।’

गहुँखेतीको तुलनामा तोरीखेती वा आलुखेती छिटो तयार हुने भएकाले त्यसलगत्तै मकैखेती समेत गर्न सकिने भएकाले तीन बाली खेती गर्न कृषि ज्ञान केन्द्रले समेत प्रोत्साहन गर्दै आएको अधिकृत पाठकले जानकारी दिए । बाँके जिल्लामा सिञ्चित क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत तीन बाली खेती गर्ने किसानलाई वसन्ते मकैखेतीमा ज्ञान केन्द्रले बीउ तथा प्राविधिक सहयोग गरेर प्रोत्साहन गर्दै आएको उनको भनाइ छ ।

बाँकेमा बर्खेधान ३३ हजार ७८० हेक्टर, गहुँखेती २० हजार ८९५ हेक्टर, वसन्ते मकै तीन हजार ५००, आलु तीन हजार २५०, तोरी छ हजार ५३०, हिउँदे मकै १३५ हेक्टर क्षेत्रमा खेती हुँदै आएको छ । सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि खेती गर्न किसानलाई सहज हुँदै आएको छ । सिक्टा सिँचाइको पानी नपुगेको क्षेत्रमा कृषि ज्ञान केन्द्रले सिँचाइका लागि ५० प्रतिशत अनुदानमा सहकारी र कृषक समूहलाई बोरिङ वितरण गरेको पाठकले बताए । 

किसानलाई सिँचाइको अभाव हुन नदिन खेती गर्ने समयमा सिक्टाले नहरमा पानी छोड्दै आएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए । 

उनका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकामा आव २०८२/८३ को चैत मसान्तसम्म आइपुग्दा २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुर्‍याएर किसानको अनुहारमा खुसी छर्ने प्रयास गरेको छ ।

सिँचाइको नियमित सुविधा हुनसके बाँकेमा किसानले तीन बाली खेती गरेर राम्रो उत्पादन लिन सक्ने र त्यसले आर्थिक रूपमा समृद्धिको लागि सहयोग पुग्ने अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए ।

रासस

Link copied successfully