सिरहा कारगारमा पछिल्लो झडपको घटना के हो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

मंगलबार कारागारमा विवाद गर्दै आएका २३ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

वैशाख ८, २०८३

विनय आजाद

What is the latest incident of the clash in Siraha prison? Understand in five questions and answers

What you should know

सिरहा — सिरहा कारागारमा मंगलबार फेरि तनाव बढेपछि २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कारागारमा विवाद गर्दै आएका २३ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यो तनाव बढ्नुको कारण के हो ? पाँच प्रश्नोत्तरमा बुझाैं। 

सिरहा कारगारमा भएको पछिल्लो झडपको घटना के हो ? 
सिरहा कारागारमा पछिल्लोपटक फेरि गत शनिबारदेखि नै विवाद चलिरहेको थियो । दुई दिनअघि विवादका क्रममा कारागारभित्रको एउटा समूहले चौकीदार प्रेम चौधरीसहित दुई जनालाई अनियमितता र असुलीको आरोप लगाउँदै कारागारबाट बाहिर निकालिदिएको थियो । प्रहरीले पछि उनीहरूलाई कारागारभित्र पठाउने प्रयास गरे पनि सफल नभएपछि उदयपुरस्थित कारागार पठायो । त्यसपछि पछिल्लो विवादमा संलग्नहरूलाई पहिचान गरी आज नियन्त्रणमा लिएकाे हो ।

यसअघि पनि सिरहा कारगारमा झगडा भएका थिए ? 
सिरहा कारागारमा व्यवस्थापकीय कमजोरीका पटकपटक विवाद हुँदै आएको छ । यसअघि गत माघ २६ मा पनि विवाद हुँदा सुरक्षा निकायले गरेको अपरेसनका क्रममा कारागारभित्रबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको थियो । प्रहरीले त्यससँगै नाइके इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्य कारागारमा सारेको थियो । त्यसपछि इन्द्रजित पक्षधरले कारागारमा सिर्जना गरेको तनाव तीन दिनमा नियन्त्रणमा आएको थियो ।

झडप नियन्त्रणमा लिन प्रहरीले के गर्यो ? 
प्रहरीले पानीको फोहरा प्रयोग र लाठीचार्ज गरेर झडप नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

के कैदीबन्दीबीचको झडपको मुख्य कारण त्यहाँ भित्रको आर्थिक अनियमितता हो ? 
सिरहा कारागारमा आन्तरिक प्रशासन चलाउने चौकीदार र नाइकेहरूले आर्थिक अनियमितता गर्दै आएको, विभिन्न बहानामा अवैध असुली गर्ने गरेको विषयमा विवाद हुँदै आएको छ ।

सिरहा कारगारमा भएको पछिल्लो झडपबारे नखुलेका तथ्यहरु के के हुन् ?
यसबारे कान्तिपुरले गत वर्ष शृङ्खलाबद्ध समाचार प्रकाशित गरेको थियो । त्यसपछि नेपाल प्रहरीका डीएसपी विष्णु सोतीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिले तीन महिना लगाएर ९५ पेजको प्रतिवेदन जिल्ला सुरक्षा समितिलाई दिएको छ । त्यसमा कारागारमा आर्थिक अपारदर्शीता, अनियमितता, असुली, सुरक्षा निकायको मिलेमतोलगायतका कारणले विवाद हुने गरेको औल्याइएको छ । तर, उक्त प्रतिवेदन जिल्ला सुरक्षा समितिले सार्वजनिक गर्न मानेको छैन ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully