सरकारी संरचना र कर्मचारी दरबन्दी पुनरावलोकन तयारी

सर्वेक्षणले पहिचान गरेका अनावश्यक निकाय र बढी संख्यामा रहेका कर्मचारी दरबन्दी कटौती गरिने, सरकारले ल्यायो गठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी राष्ट्रिय मापदण्ड–२०८३

वैशाख ७, २०८३

राजेश मिश्र

Preparations for a review of government structure and staffing

काठमाडौँ — सरकारले संघ, प्रदेश तथा स्थानीय तहमा रहेका सबै सरकारी संरचना तथा त्यसलाई अनावश्यक कर्मचारी दरबन्दी पुनरावलोकनको तयारी गरेको छ । यसका लागि सरकारले ‘संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी राष्ट्रिय मापदण्ड–२०८३’ ल्याएको हो । 

त्यसका लागि १५ दिनभित्र मापदण्ड तयार गरिने समय तालिका तोकिएको थियो । त्यसअनुसार संगठन तथा सर्वेक्षणसम्बन्धी मापदण्ड ल्याइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मापदण्डलाई २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । आगामी ६० दिनभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण पूरा गर्ने लक्ष्य राखिएको छ । वालेन्द्र शाहको नेतृत्वमा १३ चैतमा सरकार गठन भएलगत्तै ल्याइएको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा प्रशासनिक सुधार, पुनःसंरचना र मितव्ययिताका विषय समेटिएको थियो । 

सरकारको कार्ययोजनामा बढ्दो चालु खर्चको समस्या समाधान गर्न मन्त्रालयको संख्या घटाउने, सरकारअन्तर्गत रहेका अनुत्पादक दोहोरो कार्य क्षेत्र भएका तथा अनावश्यक वित्तीय भार सिर्जना गरेका निकाय खारेजी गर्नेसम्मका विषय समेटिएको थियो । त्यस्तै, संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षणका विषय पनि सरकारको कार्ययोजनामा छ । त्यसका लागि १५ दिनभित्र मापदण्ड तयार गरिने समय तालिका तोकिएको थियो । त्यसअनुसार संगठन तथा सर्वेक्षणसम्बन्धी मापदण्ड ल्याइएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुशासन, चुस्त प्रशासन तथा राज्यकोषमा मितव्ययिताको उद्देश्य राखेर सबै निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षणको तयारी रहेको बताइन् । मन्त्रिपरिषद्को पहिलो बैठकबाट ल्याइएको शासकीय सुधारसम्बन्धी कार्यसूचीले तय गरेको समयसीमाभित्र सर्वेक्षण मापदण्ड तयार गरिएको र मापदण्डले तोकेअनुसार संगठन संरचना तथा कर्मचारी दरबन्दीको सर्वेक्षण गरिने उनले जानकारी दिइन् । 

प्रदेश र स्थानीय तह गठनपछि १३ पुस २०७५ मा सरकारले संघ, प्रदेश र स्थानीय तहको दरबन्दी स्वीकृत गरेर संघमा मात्र रहेका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । त्यसबेला संघमा ४८ हजार ४ सय ९, सातै प्रदेशमा २२ हजार २ सय ७९ र स्थानीय तहमा ६६ हजार ९ सय ८ गरी कुल १ लाख ३७ हजार ६ सय १४ जनाको कर्मचारी दरबन्दी सरकारले स्वीकृत गरेको थियो । 

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन (०८१/८२) अनुसार संघमा कर्मचारीको दरबन्दी ६१ हजार ८ सय ३७, प्रदेशमा ५ हजार ३ सय ४१ र स्थानीय तहमा ६५ हजार ५ सय ५६ गरी देशैभर कुल १ लाख ३२ हजार ७ सय ३४ जनाको स्वीकृत दरबन्दी छन् । प्रदेशले तथा स्थानीय तह आफैंले स्वीकृत गरेको दरबन्दी संख्या यसमा छैन । 

कार्यबोझका हिसाबले संघको काम घट्दै गए पनि कर्मचारीको दरबन्दी थपिँदै गएको छ । अर्कोतिर, प्रदेश र स्थानीय तहले आफूखुसी नयाँ कार्यालय, शाखा, इकाइ बनाएर कर्मचारी दरबन्दी बढाएका छन् । संघले स्वीकृत गरेको बाहेक दरबन्दी थपेका कर्मचारीलाई प्रदेश र स्थानीय तहले आफ्नै स्रोतबाट तलबभत्ता खुवाउनुपर्छ । 

कार्यबोझका हिसाबले संघको काम घट्दै गए पनि कर्मचारीको दरबन्दी थपिँदै गएको छ । अर्कोतिर, प्रदेश र स्थानीय तहले आफूखुसी नयाँ कार्यालय, शाखा, इकाइ बनाएर कर्मचारी दरबन्दी बढाएका छन् ।मन्त्रालयका सहसचिव प्रकाश दाहाल सर्वेक्षणले पहिचान गरेका अनावश्यक निकाय र बढी संख्यामा रहेका कर्मचारी दरबन्दी कटौती गरिने बताउँछन् । प्रदेश र स्थानीय तहका लागि पनि सर्वेक्षणका मापदण्ड तोकिएको उनले उल्लेख गरे । त्यही मापदण्डभित्र रहेर प्रदेश र स्थानीयले आफू मातहतका निकायका मन्त्रालय, विभाग, निकायको, शाखा वा इकाइको आवश्यकता तथा औचित्य पहिचान गरी त्यसका लागि आवश्यक हुने कर्मचारी दरबन्दी सुनिश्चित गर्नुपर्नेछ । सरकारले संघमा २१ मन्त्रालयलाई घटाएर १७ मा सीमित गर्ने निर्णय लिएको छ । मन्त्रालय घटेसँगै त्यहीअनुसारको संगठन संरचना तथा दरबन्दी कायम गर्नुपर्ने दाहालले बताए ।

 मापदण्डमा संगठन संरचना र दरबन्दी सिर्जना तथा पुनरावलोकनका आधारहरू तोकिएको छ । संविधानले संघ, प्रदेश तथा स्थानीय तहलाई दिएको एकल तथा साझा अधिकारका विषय तथा सरकारबाट स्वीकृत कार्यविस्तृतीकरण प्रतिवेदनका आधारमा कार्यबोझअनुसार तीनवटै तहलाई आवश्यक दरबन्दी पहिचान गरिनेछ । संघको एकल अधिकार क्षेत्रभित्रका विषय तथा प्रदेश वा स्थानीय तहबाट सम्पादन सम्भव नहुने विषयका लागि मात्र संघीय संरचना राख्न पाइने भएको छ । संघ सरकारले समग्र मन्त्रालय घटाएकाले कार्यविभाजन नियमावलीमा संशोधनको आवश्यकता छ । नियमावलीले तोकेको कार्य जिम्मेवारीअनुसार १७ वटा मन्त्रालयको संरचना तथा दरबन्दी तोकिनेछन् । 

मापदण्डले सरकारको संगठन संरचना तथा दरबन्दी सञ्चालनका लागि अधिकतम लागतको सीमा पनि तोकेको छ । त्यही सीमामा रहेर संघ, प्रदेश र स्थानीय तहले कार्यालय तथा कर्मचारी दरबन्दी राख्नुपर्नेछ । संघका लागि विगत तीन वर्षको औसत कुल वार्षिक बजेटको १५ प्रतिशतभन्दा बढी नहुने गरी संगठन संरचना र कर्मचारीमा लागत हुनुपर्ने भनिएको छ । त्यस्तै, प्रदेशको समग्र संगठन संरचना र दरबन्दी सञ्चालनको अधिकतम लागत प्रदेश सरकारको विगत तीन वर्षको औसत कुल वार्षिक बजेटको १० प्रतिशतभन्दा बढी हुन नहुने सरकारले निर्धारण गरेको छ । 

त्यसैगरी, गाउँपालिका र नगरपालिका (वडा कार्यालयसमेत) को संगठन संरचना र तथा दरबन्दी २०७५ सालमा निर्धारण गरिएको लागतमा एक पटकलाई १० प्रतिशतभन्दा नबढ्ने गरी पुनरावलोकन गर्न सकिने भनिएको छ । नयाँ सर्वेक्षण गर्दा सेवा प्रवाहको प्रभावकारिता हेरेर जुन तहमा आवश्यक छ, त्यहाँ मात्र संरचना खडा गरिनुपर्ने, एउटै विषयमा काम गर्न छुट्टाछुट्टै विभाग वा समितिहरू नराख्ने, जिल्लामा एकीकृत कार्यालय स्थापना गर्ने जस्ता विषयलाई ध्यान दिनुपर्ने मापदण्डमा उल्लेख छ । 

कुनै निकायको एक पटक सर्वेक्षण गरी संगठन तथा दरबन्दी निर्धारणपश्चात् तीन वर्षसम्म पुनः सर्वेक्षण गर्न पाइने छैन । भविष्यमा थप संगठन वा दरबन्दी सिर्जना गर्दा तहगत सरकारको विगत तीन वर्षको राजस्व औसत वृद्धि हेरेर गर्नुपर्ने मापदण्ड बनाइएको छ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully